मौद्रिक नीतिले के दियो सेयर लगानीकर्तालाई ? बैंकले किन्लान् त ८० अर्बको सेयर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही लचकताका साथ चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सवारी कर्जा, घरजग्गा खरीद लगायतमा सहुलियत दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) ५० आधार विन्दुले घटाएर १.२० प्रतिशत कायम गर्ने व्यवस्था मौद्रिक नीतिको समीक्षामा गरिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले असल कर्जाको जोखिम भारका लागि १.२५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था थियो । समग्रमा मौद्रिक नीतिको समीक्षा लचिलो भएको जानकारहरू बताउँछन् । सेयर बजारका लगानीकर्ताहरूले भने फरक फरक प्रतिक्रिया दिएका छन् ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले बजारमा माग सिर्जना नगर्ने, तर आपूर्ति बढाउने कतिपय जानकारहरू बताउँछन् । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली यस्तो व्यवस्थाले सेयर बजार सकारात्मक नबन्ने बताउँछन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेयर खरीद गर्न पाउने व्यवस्थामा परिवर्तन नभई बिक्री मात्र गर्न दिने व्यवस्थाले सेयर बजारमा सप्लाई बढाउँछ । यसले बैंकहरुले लगानीबाट बाहिरिने मौका पाउँछन् तर यसको असर सेयर बजारमा सकारात्मक हुने देखिँदैन ।’
यस अघि प्राथमिक पूँजीको ३० प्रतिशत सेयर खरीद गर्न पाउने व्यवस्था भए पनि १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो । किन्न पाउने तर बेच्न नपाउने व्यवस्थाले बैंकहरूलाई असहज भएकोमा अब बैंकहरूलाई सहज बनाउने कतिपय लगानीकर्ताहरूको तर्क छ ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेलका अनुसार विगतमा बेच्न पाउने सुविधा कम भएका कारण धेरै बैंकले सेयर बजारमा लगानी गरेका थिएनन् । तर अब प्राथमिक पूँजीको २० प्रतिशतसम्म बेच्न पाउने भएपछि बैंकहरुले लगानी बढाउन सक्छन् ।
‘अहिले बजार घटेको बेला छ’, कँडेल भन्छन्, ‘यो बेलामा किन्ने हो भने एक वर्ष पछिनाफा हुन्छ भनेर बैंकहरले अहिलेको अधिक तरलता व्यवस्थापन गर्न सेयरमा लगानी गर्न सक्छन् ।’
त्यसो भयो भने बजारमा सेयरको माग बढ्न सक्ने कँडेलको बुझाइ छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तमा बैंकहरुको प्राथमिक पूँजी ४ खर्ब ३६ अर्ब ४१ करोड हाराहारी छ । यसको २० प्रतिशत अर्थात् ८७ अर्ब हाराहारीको सेयर कारोबार हुने बाटो खोलिँदै छ ।
यस व्यवस्थाको कार्यान्वयनमा राष्ट्र बैंकले कसरी निर्देशन जारी गर्छ भन्ने हेर्न अझै बाँकी छ । तर अहिलेको अवस्थामा ८० अर्बभन्दा बढीको सेयर १ वर्षका लागि बैंकहरुmले किनिदिए भने त्यसले निश्चय नै खरीद चाप बढाउने आँकलन केही बैंकरको छ ।
लगानीकर्तालाई समेटिएन
सेयर बजारका अर्का एक लगानीकर्ता भने मौद्रिक नीतिले आफूहरुलाई प्रभाव पार्ने कुनै व्यवस्था नगरेको बताउँछन् । उनी भन्छन्, ‘प्रत्यक्ष असर पार्ने केही नीति लिएको छैन ।’
सेयर लगानीकर्ता छोटेलाल रौनियार भने यो मौद्रिक नीति लगानीकर्ताका लागि ‘कागलाई बेला पाक्यो हर्ष न विस्मात्’ भनेजस्तो भएको बताउँछन् । उनी भन्छन्, ‘मौद्रिक नीतिले सेयर बजारलाई छोएन । खुकुलो बनाउनुपर्ने नीतिमा मुठ्ठी कस्यो ।’
सेयर धितो कर्जाको १५ करोड रुपैयाँ व्यक्तिगत सीमा र २० करोड संस्थागत सीमाको क्याप नहटाइको प्रति भने उनले दुखेसो पोखे । निक्षेपको ब्याजदर घट्दा पनि कर्जाको ब्याज सोचेअनुरुप नघट्दा बजारमा कर्जा माग नभएको पनि उनले बताए ।
‘डिपोजिटमा ब्यादर घटे पनि लेन्डिङमा त्यो अनुसार घटेको छैन । लेन्डिङमा पनि डिपोजिटमा जस्तै गरी ब्याजदर घटाइदिएको भए बैंकमा पैसा थुप्रिएर बस्ने अवस्था आउने थिएन । यसले बजारलाई चलायमान बनाउने थियो’ उनले भने ।
यद्यपि, योभन्दा पनि कसिलो नीति ल्याएर अझै सकसमा पार्नुभन्दा बजारलाई छुँदै नछुनु राम्रो भएको उनको भनाइ छ । मौद्रिक नीतिको समीक्षालाई लिएर लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।