सुन आयातमा लाग्ने भन्सार दर वृद्धिले कस्तो प्रभाव पार्ला ? « Arthapath.com
१७ जेष्ठ २०८१, बिहीबार

सुन आयातमा लाग्ने भन्सार दर वृद्धिले कस्तो प्रभाव पार्ला ?



काठमाडौं । सरकारले सुनको आयातमा लाग्ने भन्सार दरमा वृद्धि गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुनको भन्सार दर ५ प्रतिशतले बढाएका हुन् ।

सरकारले बहुमूल्य धातु सुनको आयातमा भन्सार शुल्क बढाएको हो ।

एकातिर सुनको मूल्य अचाक्ली बढिरहेको बेला अर्कोतर्फ भन्सार दर बढाएपछि सुनचाँदी व्यवसायीहरू असन्तुष्ट बनेका छन् ।

यसअघि सुनमा भन्सार दर १५ प्रतिशत रहेको थियो । नयाँ बजेटले बढाएर २० प्रतिशत पुर्‍याएको छ ।२० प्रतिशत पुर्‍याएको छ । सुनमा भन्सार दर बढाउने सरकारको घोषणासँगै बजारमा त्यसको प्रभाव देखिएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको २ दिनमै सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढिसकेको छ  । बिहीबार १ लाख ४० हजार पाँच सय पुगेको छ।

भन्सार दर वृद्धि भएसँगै नेपाली बजारमा सुन मूल्य अझै महँगिने नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्य भन्सार मूल्य बढेसँगै प्रतितोला ५ हजार रुपैयाँसम्म मूल्य बढ्ने बताउँछन् ।

अब त उपभोक्ताले सुन किन्नै नसक्ने अवस्थामा पुग्ने उनको भनाइ छ  ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा कायम भएको सुनको मूल्यलाई आधार बनाएर नेपाली बजारमा सुनको मूल्य तोक्दै आएको छ ।

भन्सार दर नै बढाएपछि स्वत: सुनको मूल्य बढ्ने शाक्यले बताए। उनी भन्छन्, ‘सरकारले पहिले नै एक तोला सुनमा २० लाल जर्दी कटाएर लिने गरेको छ । २० लाल सुनको अहिले लगभग २८ हजार रुपैयाँ पर्छ । यसरी त एक तोला सुनमा २८ हजार रुपैयाँ राजश्व बुझाउनुपर्छ । यसले व्यवसायी र उपभोक्ता दुवैलाई मारमा पार्नेछ।’

विभिन्न अन्तर्राष्ट्रिय कारक तत्वहरूले सुनको मूल्य आकाशिएको बेला भन्सार दर बढाएर व्यवसायीलाई पलायन हुने अवस्थामा पुर्याउन खोजेको उनको आरोप छ ।

सरकारको यस्तो निर्णयले तस्करलाई बढावा दिने उनले बताए । उनी भन्छन्, ‘ तोलामै २८ हजार रुपैयाँ फाइदा हुने भएपछि भन्सार छली गर्न खोज्नेहरू हाबी हुन्छन् । भन्सार दर १५ प्रतिशत हुँदा त तस्कारी बढेको छ । २० प्रतिशत भइसकेपछि त यसले तस्करीलाई झनै बढावा दिन्छ ।’

अब उत्तरी नाकाबाट मात्र नभई दक्षिणी नाकाबाट पनि तस्करी बढ्ने उनको अनुमान छ ।

सुनको भन्सार दर हरेक वर्षजस्तो वृद्धि हुँदै आएको छ । शाक्यका अनुसार आर्थिक वर्ष २०६२/६३ मा १० ग्राम सुनमा २५० रुपैयाँ मात्र कर लाग्थ्यो । अहिले १० ग्राम सुनको २४/२५ हजार रुपैयाँ भन्सार बुझाउनु पर्छ ।

सुन आयातमा कोटा सिस्टम खारेज गर्न महासंघले सुझाए पनि सरकारले त्यसको वेवास्ता गरेको उनले बताए  । ‘अहिले दैनिक २०केजी सुन ल्याउन पाउने व्यवस्था छ । यसरी वार्षिक ७ हजार ३०० केजी सुन आयात हुनुपर्ने हो । तर अहिले वार्षिक रूपमा ३ हजार केजी सुन मात्र खपत भइरहेको अवस्था छ । ४ हजार कोटाको त प्रयोग नै गर्न परेको छैन । कोटा सिस्टमको औचित्य नै सकिसक्यो । हामीले सरकारलाई सुनमा कोटा खारेज गरौँ भनेका थियौं’ उनले भने ।

सरकारलाई भन्सार नबढाउन आग्रह गरेको भए  पनि सुनुवाई नभएको उनले गुनासो उनले गरे ।

सरकारले गत वर्ष पनि बजेटमार्फत सुनको भन्सार १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु-याइएको थियो ।

नेपाली बजारमा सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड राखेको छ । सन् २०२४ भित्र नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ८० पुग्ने अनुमान भइरहेको बेला भन्सार दर बढेसँगै सुनको मूल्यले झनै उचाई लिने भएको छ ।

सुनको मूल्य लगातार बढ्दै जाँदा सुनचाँदीको व्यवसायमा समेत सुस्तता आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्