बागलुङको पालिकामा बेतिथिः बिना प्रयोजनको भ्रमण र खाजा खर्चमै ३ करोड ३० लाख स्वाहा ! « Arthapath.com
४ असार २०८१, मंगलवार

बागलुङको पालिकामा बेतिथिः बिना प्रयोजनको भ्रमण र खाजा खर्चमै ३ करोड ३० लाख स्वाहा !



गलकोट नगरपालिकोको मात्रै आधा करोड, अन्य कुनको कति खर्च ?

काठमाडौं । बागलुङ जिल्लाका स्थानीय तहहरुले मनोमानी रुपमा खर्च गरेको पाइएको छ । हाल बागलुङमा चार वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । यी पालिकाहरुले मितव्ययिता नअपनाई नियम विपरित ठुलो रकम खर्च गरेका छन् । एक वर्षको अवधिमा नै १० वटा पालिकाहरुले ३ करोड भन्दा बढी खाना खाजा र विना उद्देश्यको भ्रमणमा खर्च गरेका छन् ।

महालेखपरीक्षकको कार्यालयले हाल प्रकाशन गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । गत आर्थिक वर्षमा १० वटा गाउँपालिकाले ३ करोड ३० लाख ९७ हजार रुपैयाँ बढी रकम खाना खाजा तथा विविध खर्च र अनुगमन तथा भ्रमणमा खर्च गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश पालिकाहरुले ऐन विपरित खर्च गरेका हुन् । खर्चको प्रमाण नै पेश नगरेको समेत पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्तिमा नियन्त्रण गरि खर्चमा मितव्ययिता कायम गर्न बागलुङका पालिकाहरु चुकेका छन् । महालेखाले वर्षैपिच्छे नै प्रतिवेदन मार्फत सुधार गर्न सुझाव दिँदै आएको छ । तर, पनि यस्तो बेतिथि न्युनीकरण हुनु भन्दा झन् झन् बढ्दै गएको आँकडाले पुष्टि हुन्छ ।

बागलुङमा अधिकांश पालिकाहरुले भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधानको टिकट आदि नराखेको महालेखाले जनाएको छ । तर, यस्तो प्रवृत्तिमा पनि सुधार गर्न महालेखले पटक पटक सुझाव दिँदै आएको छ । तर, पनि जिल्ला स्थित पालिकाहरुले भने वर्षेनी करोडौं रुपैयाँ खाना खाजा जस्ता फजुल खर्च धेरै गर्दै आएका छन् । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सो को अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वासनीय बनाउन आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

खाजाखाना र भ्रमणमा गलकोटको उच्च खर्च, एक वर्षमै सक्यो आधा करोड

खाजाखाना तथा विविध र अनुगमन तथा भ्रमण शीर्षकमा सबैभन्दा बढी खर्च गलकोट नगरपालिकाको देखिएको छ । यस्तो शीर्षकमा गलकोट नगरपालिकाले एक वर्षमा नै आधा करोड खर्च गरेको छ । खाना खाजा र अनुगमन भ्रमण खर्चको आधारमा गलकोटको खर्च बढी देखिएको हो ।

महालेखापरीक्षकका अनुसार यस पालिकाले खाना तथा विविध खर्च शीर्षकमा १८ लाख ५८ हजार रुपैयाँ र अनुगमन तथा भ्रमण खर्चमा ३१ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । ११ वटा वडाहरु मिलेर बनेको नगरपालिकाले एक वर्षको अवधिमा यस्तो शीर्षकमा ५० लाख २ हजार रुपैयाँ खर्च गरेको छ । ‘खर्चका प्रमाण हेर्दा विल मात्र आएको देखिन्छ । त्यस प्रकारको खर्च विभिन्न वडा तथा पालिकामा विषयत शाखाका कार्यक्रममा खर्च गरिएको पालिकाले जनाएको । यस्तो प्रवृत्तिमा नियन्त्रण गरि खर्चमा मितव्ययिता कायम गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

ढोरपाटनको खर्चमा पनि छैन मितव्ययिता, बडीगाडको पनि हालत उस्तै

गलकोटपछि ढोरपाटन नगरपालिकाको खर्च उच्च देखिएको छ । ढोरपाटन नगरपालिकाको खर्च पनि बढ्दौ नै छ । ढोरपाटनले विविध शीर्षकबाट खाजा खाना बापत ३६ लाख ९२ हजार रुपैयाँ र अनुगमन तथा भ्रमणमा ११ लाख ७३ हजार गरि कुल ४८ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै, बडिगाड गाउँपालिकाले पनि खाजाखाना र अनुगमन तथा भ्रमण शीर्षकमै ४५ लाख ७५ हजार रुपैयाँ खर्चिएको छ । पालिकाले विविध शीर्षकबाट १८ लाख ६३ हजार रुपैयाँ खाना तथा खाजा लगायतमा खर्च गरेको छ । तर, खर्चका प्रमाण हेर्दा बिल मात्र आएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, त्यस्तो खर्च विभिन्न वडा तथा पालिकामा विषयगत शाखाका कार्यक्रममा खर्च भएको पालिकाले जनाएको छ । यता, गत वर्ष पालिकाले अनुगमन तथा भ्रमणमा २७ लाख १२ हजार रुपैयाँ खर्च गरेको छ । तर, अनुगमन तथा भ्रमणको उद्देश्य, प्रतिवेदन, दुरीको विवरण तथा सवारी साधनको टिकट आदि भने नराखेको महालेखाले जनाएको छ ।

खाजाखानमा जैमनीले सक्यो ४५ लाख, बरेङ्ग गाउँपालिकाको खर्च ७ लाख

जैमनी नगरपालिकाले पनि खाना तथा विविध तर्फको खर्च झन्डै ४५ लाख देखाएको छ । एक वर्षको अवधिमा सो पालिकाले ४४ लाख ९८ हजार रुपैयाँ खाना तथा विवधि खर्च गरेको छ । महालेखाको प्रतिवेदनमा उक्त खर्चलाई सैद्धान्तिक बैरुजू उल्लेख गरेको छ । यस्तो खर्चमा मितव्ययिता कायम गर्न महालेखाले सुझाव समेत दिएको छ।

खर्चका आधारमा बरेङ्ग गाउँपालिका कम देखिएको छ । गत वर्ष बरेङ गाउँपालिकाले खाना तथा विविध शीर्षकमा ७ लाख रुपैयाँ खर्च गरेको विवरण प्राप्त भएको छ । यद्यपि, अन्य पालिकाको तुलनामा कम भएता पनि स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र भने विविध खर्च नभएको महालेखाले जनाएको छ। खर्चमा मितव्ययिता कायम गर्न भने महालेखाले सुझाव दिएको छ ।

आन्तरिक आयलाई विचारै नगरि काठेखोलाको सक्यो ४२ लाख ४५ हजार

काठेखोला गाउँपालिकाले आन्तरिक आयलाई विचारै नगरि खर्च गरेको पाइएको छ । पालिकाले पनि गत वर्ष विविधतर्फ २३ लाख ६७ हजार बढी खर्च गरेको छ ।

यता, अतिथि सत्कार सुविधा खर्च शीर्षकमा भने १८ लाख ७८ हजार रुपैयाँ भुक्तानी दिएको प्रतिवेदन उल्लेख छ । अतिथि सत्कारमा भएको खर्चको नमूना परीक्षण गर्दा कतिपय बिल भरपाईहरु जिल्लाको सदरमुकाम स्थित सेवा आपूर्तकबाट जारी भएको पाइएको छ । गत वर्षको यी दुई शीर्षकमा पालिकाले कुल ४२ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ। पालिकाले आन्तरिक आय समेतलाई विचार नगरेको प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा यस्तो खर्च व्यवस्थापनमा ध्यान दिन सझुाव समेत दिएको छ।

गत वर्ष बागलुङ नगरपालिकाले खाना तथा विविधतर्फ झन्डै ३० लाख खर्च गरेको छ । एक वर्षको अवधिमा नै बागलुङ नगरले २९ लाख ९२ हजार ७५८ रुपैयाँ खर्च गरेको छ । ऐन अनुसारको परिधिभित्र रहेर खर्चमा मितव्ययिता कायम गर्न महालेखाले सुझाव दिएको छ ।

ताराखोलाको खाजा खानामै साढे २४ लाख खर्च, काजूदेखि रेडबुलसम्मको बिल

ताराखोलाले २४ लाख ४६ हजार रुपैयाँ खाना तथा विविध शीर्षकमा खर्च गरेको छ । खाना खाजा, तरकारी, काजुदेखि रेडबुसम्मको बिल संलग्न भएको पाइएको छ ।

खर्च लेख्दा गाउँसभा, अतिति सत्कार विभिन्न बैठक उपस्थितिमा भएको खाना, खाजा, फलफूल, तरकारी, काजु, रेडबुल लगायतका बस्तु समावेश भएका विभिन्न होटल तथा खाजाघरहरुको बिल संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । खर्चको पुष्ट्याई हुने गरि बैठक तथा कार्यक्रमको उपस्थिति संलग्न नगरेको पाइएको हो ।

कतिपय भौचरबाट ट्रयाकसुट सेट, ब्याडमिन्टन र्याकेट लगायतका फजुल खर्चको भुक्तानी गरेको महालेखाले जनाएको छ । यसरी लेखिएको केही खर्च वास्तविक देखिए पनि कतिपय खर्चको वास्तविकता यकिन गर्ने आधार नभेटिएको प्रतिवेदनमा उल्लेख छ। आगामी दिनमा विविध खर्च सम्वन्धि नियम, निर्देशिकाको पालना गरि मितव्ययिता तबरले खर्च लेख्ने कुरामा ध्यान पुर्याउन महालेखाको सुझाव छ ।

निसीखोला र तमानखोलाको खाजाखाना र भ्रमणमा कति गरे खर्च ?

जिल्लाको निसीखोला गाउँपालिकाले पनि गत वर्ष खाना तथा विविध र अनुगमन तथा भ्रमण शीर्षकमा २२ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । पालिकाले खाना खाजामा १२ लाख ८५ हजार रुपैयाँ र अनुगमन तथा भ्रमणमा १० लाख रुपैयाँ खर्च गरेको छ । यो गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा समेत विविध तर्फको खर्च हो ।

पालिकाले विविध, बैठक तथा कार्यक्रम संचालानार्थ खर्च भएको उल्लेख गरि खर्चको पुष्ट्याई वेगर बिल भरपाई मात्र संलग्न गरि विविध शीर्षकाट खाजाखाना बापतको खर्च लेखेको छ । यो वास्तविक रुपमा खर्च भएको हो कि होइन यकिन आधार नभएको महालेखाले जनाएको छ। पालिकाले बैठक तथा अन्य क्रियाकलाप संचालनार्थ विविध खर्च लेख्दा उपस्थिति संख्या, कार्यक्रमको पुष्ट्याई लगायतका विवरण तथा बैठक तथा कार्यक्रम संचालनको लागि लागत अनुमान तयार गरि खर्च गर्न (लेख्न) महालेखाको सुझाव छ।

यस्तै, तमान खोला गाउँपालिकाले १४ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ। पालिकाको खर्चका प्रमण हेर्दा बिल मात्र आएको महालेखाले जनाएको छ। यता, पालिकाले भने त्यस्ता खर्च विभिन्न वडा तथा पालिकामा विषयगत शाखा कार्यक्रममा खर्च भएको जनाएको छ । तर, आन्तरिक आयको परिधिभित्र रही खर्च गर्न महालेखाको सुझाव छ।


प्रतिक्रिया दिनुहोस्