महासंघको दाबी – पचासभन्दा बढी जिल्लाका सहकारीमा समस्या छैन « Arthapath.com
५ असार २०८१, बुधबार

महासंघको दाबी – पचासभन्दा बढी जिल्लाका सहकारीमा समस्या छैन



काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ५० भन्दा बढी जिल्लाका सहकारीमा समस्या नरहेको दाबी गरेकी छिन् । बुधबार ‘प्रथम सहकारी रोजगार मेला–२०८१ को आयोजनाका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले भनिन्, ‘सबै सहकारीले बचत फिर्ता गर्न नसकेको होइन । ठूला सहकारीमा मात्र समस्या देखियो भन्ने भ्रम छ यो गलत हो । ५० भन्दा बढी जिल्लाका सहकारीमा ‘स’ को पनि समस्या छैन ।’

केही सिमित सहकारीहरुले बदमासी र ऐन विपरित चलेका सहकारीका कारणले बचतकर्ताहरु रोडमा जानुपर्ने अवस्था आएको उनले बताइन् । जिल्ला बाहिरका धेरै सहकारीले राम्रो काम गरेको भन्दै सहकारीलाई सिमित दायराको रुपमा बुझिएको उनले बताइन् । ‘झापाका एनएमसी, मेची र सहारा लगायतका सहकारीले अर्बौको कारोबार गर्छन् । उनीहरुसँग अहिले पनि २० देखि ३० प्रतिशत तरलता छ’, उनले भनिन् ।

कारोना महामारी विश्व आर्थिक मन्दी र सरकारले ऐनमा भएका व्यवस्थालाई लागु नगरिदिँदा, सञ्चालक र सदस्यहरुले आफ्रनो कर्तव्य भुल्दा समस्या देखिएको उनको भनाई छ । यसलाई पनि सरकारले सम्बोधन गरेको छ । महासंघ पनि निरन्तर रुपमा लागिरहेको उनले बताइन् ।

आम मानिसमा सहकारी बुझ्न आवश्यक रहेको बताउँदै उनले सहकारीलाई नाङले पसलेलाई लोन दिने संस्थाको रुपमा हेरिएको बताइन् । उनले भनिन्, ‘सहकारीलाई सानो सानो काम गर्ने संस्था र नाङले पसलेहरुलाई लोन दिने काम गर्छन भन्ने गलत बुझाई छ । सहकारी क्षेत्र समुन्द्र जस्तै विशाल छ । यसले धेरै समुदाय र सदस्यहरुका लागि धेरै काम गर्न सक्छ ।’

सहकारीले २५ भन्दा बढी तेल कारखाना, ३५ भन्दा बढी चिया उत्पादन गर्ने कारखाना, धान मिल र दुग्ध उद्योगहरु चाएको समेत उनले बताइन् । साथै उनले सहकारीका ५०० भन्दा बढी उद्योग रहेको पनि बताइन् ।

महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरको पुल्चोकमा प्रथम सहकारी रोजगार मेला २०८१ को आयोजना गर्दैछ । मेलाले सहकारीले गरेको काम र उपलब्धीलाई एउटा पहिचान गराउन सहयोग पुग्ने उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्