केही सहकारी खराब भए भन्दैमा राम्रालाई लखेट्न मिल्दैन : केशव वडाल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार केशव वडालले सहकारीको दर्शन, सिद्धान्त, मुल्य, मान्यता, आचरण कार्यशैली विपरित काम गर्ने सहकारी करीब १ सय हाराहारी मात्र रहेको बताएका छन् । राज्यले लगानी गर्न नसक्दा ३१ हजार बढी सहकारीमध्ये १ सय वटामा गम्भिर समस्या देखिएको उनले बताए । महासंघद्वारा आयोजित पहिलो सहकारी मेला २०८१-को समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्
‘राज्यले एक सुका लगानी नगर्दा आज ३१ हजार बढी सहकारीमध्ये १ सय वटामा गम्भिर समस्या देखिएको छ । यसो गर्ने जोसुकै हुन त्यो दण्डनीय हुन्छ । अर्को ४ सय सहकारीहरु एनजीओ केहो, कम्पनी के हो र सहकारी केहो छुट्याउन नचाहनेहरु छन् । करीब ५ सय सहकारी भनेको कुल सहकारीको १.५ प्रतिशत हो । यसमा समस्या छ । तर बाँकी ९८.५ प्रतिशत सहकारीलाई लखेट्नका निम्ति राष्ट्रव्यापी रुपमा एउटा शक्ति ज्यान फालेर लागेको छ’ उनले भने ।
राम्रा सहकारीलाई पनि प्रभाव पार्ने टिप्पणी गलत भएको उनले बताए । कृषि सहकारी केन्द्र संघअन्तर्गत मात्रै १२ लाख परिवार आवद्ध र १२ सय वटा प्राइमरी सहकारी संस्था रहेका स्मरण गर्दै ती सहकारीमा समस्या नदेखिएको दाबी गरे।
उनले भने, ‘अहिले चर्चा भएको छ, त्यो सहकारी केन्द्रीय संघअन्तर्गतका १२ सय संस्थामध्ये एउटा पनि संकटग्रस्त, समस्याग्रस्तले छोएको छैन । यस्तै अन्य वचत ऋण सहकारी केन्द्रीय संघमा पनि ६३ जिल्ला संघ, केन्द्र, प्रदेश संघमा जोड्दा पनि करीब ११ हजार हाराहारीमा सहकारी छन् । यसमध्येमा यो समस्याग्रस्तमा १–२ ओटा मात्रै परेको जस्तो लाग्छ ।’
तर सबै सहकारी सर्वनास भए अब खत्तम भयो की भन्ने ढंगले माहोल बनाइएको भन्दै दुखेसो पोखे ।