एक आक्रामक बैंककी सारथी पर्मा « Arthapath.com
१४ असार २०८१, शुक्रबार

एक आक्रामक बैंककी सारथी पर्मा



काठमाडौं । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ । कोही व्यक्ति भविष्यमा कस्तो बन्छ भन्ने कुरा बाल्यकालले दर्शाउछ । यो कुरा कामना सेवा विकास बैंकको कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुंगेलको जीवनसँग मेल खान्छ ।

ललितपुरमा जन्मिएकी सानैदेखि सालिन स्वभावकी पर्माको पढाइमा पनि उत्तिकै तेज थियो । पारिवारिक वातावरणले नै उनलाई पढ्ने माहोल बनाउँथ्यो ।

२०५८ सालमा विशिष्ट श्रेणीमा एसएलसी पास गरेकी उनलाई डाक्टर बनाउने परिवारको इच्छा थियो । तर उनी व्यवस्थापन संकायमा भर्ना भइन् । स्नातक तहसम्म व्यवस्थापन अध्ययन गरेपछि उनी आफ्नो सप्ना पूरा गर्न चार्टर्ड एकाउन्ट पढ्ने योजना बुनेकी थिइन् ।

तर स्नातक सकिएपछि उनी बैकिङ करियरमा प्रवेश गरिन् । पर्माले २०६५ देखि तत्कालिन एनआईसी बैंकको तल्लो तप्काबाटै जागिर सुरु गरिन् । यस्तो अवस्थामा सीए पढ्दा जागिर र पढाइ सँगै सम्हाल्न गाह्रो हुने भयो ।

त्यसपछि उनको सपना पनि मोडियो । उनले व्यवस्थापनमै स्नातकोत्तर भर्ना गरिन् । ‘जागिर सुरू गरेपछि पुरा समय पढाइमा ध्यान दिन नपाइने, कलेज गए पनि केही विषयको पढाइ छाडेर निस्कनु पर्ने बाध्यता थियो’, उनी भन्छिन्, ‘यसले चाहिँ केही असर गर्ने रहेछ । तर म्यानेज गरेर अगाडि बढियो ।’

अनि मोडियो सिए बन्ने यात्रा

स्नातक तहको अध्ययन सकिएपछि उनको सपना मोडियो । साथी सर्कल र परिस्थितिले उनको ध्यान मास्टर्स अर्थात् स्नाकोत्तरतिर नै मोडियो । घरमा बिहेका कुरा पनि आउन थालिसकेको थियो । सिए पढ्न समय लाग्ने । उनी पढाइ नसकी बिहे नगर्ने पक्षमा थिइन् ।

त्यसो हुँदा मास्टर्स नै पढ्ने निधोमा पुगेको उनले सुनाइन् । पढ्दापढ्दै एनआईसीमा जागिर खुल्यो । पर्माले आवेदन दिइन् । लिखित, अन्तर्वार्ता र प्रस्तुति सबैमा सफल भइन् । अनि सिए पर्माको ठाउँमा बैंकरको नामले स्थापित भइन् । कामप्रतिको लगनशीलताले गर्दा नै आज उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । सीए नपढेकोमा पश्चात्ताप मान्नु परेको छैन ।

लोभ्याउने सुरक्षित क्षेत्र

खासगरी महिलाका लागि बैंकिङ क्षेत्र अन्यको तुलनामा सुरक्षित रहेको पर्मा बताउँछिन् । बैंकिङ क्षेत्रमा आफ्नो करियर स्थापित गर्न चाहने महिलालाई मिहेनत गर्न उनी सुझाउँछिन् । ‘मिहेनत र लगनशीलता चाहिन्छ । पढाइ हुनुपर्यो । धैर्यता हुनुपर्यो । यो क्षेत्रमा जागिर अत्यन्त सुरक्षित छ’, उनी भन्छिन्, ‘यो सम्मानित पेसा पनि हो ।’

पुरुषको तुलनामा महिला जोखिमप्रति थप संवेदनशिल हुने हुँदा वित्तीय क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछिन् । त्यसो त पछिल्लो समय बैंकको व्यवस्थापन र उच्च व्यवस्थापनमा महिलाको बढ्दो उपस्थितिले भावी दिनमा कार्यकारी तहमै पुग्ने संभावना पनि बढ्दो छ ।

डेढ दशकको बैंकिङ यात्रा

बैंकमा जागिर सुरू गरेको एक वर्षमै उनले स्थायी नियुक्ति पाइन् । तीन वर्षपछि ट्रेनी असिस्टेन्टबाट सिनियर असिस्टेन्टमा बढुवा भइन् । यसबाट उनलाई काम गर्ने हौसला बढ्यो । कामप्रति लगनशील बन्दै गइन् । त्यही लगनशीलताले उनको करियरको उचाइ चुलिँदै गयो ।

उनी सुपरभाइजर, जुनियर अफिसरहुँदै अफिसरसम्म पुगिन् । १० वर्षको अवधिमा उनी सिंगो शाखा नै सम्हाल्ने भइन् । यहाँसम्म पुग्नुमा उनको लगनशीलता, आत्मविश्वास र अथक मिहेनत नै कारक तत्व थियो ।

एनआईसीमा एक दशक बिताएपछि उनी कामना सेवा विकास बैंकमा सहायक प्रबन्धकको रूपमा प्रवेश गरिन् । अहिले उनी कर्जा प्रशासन विभाग सम्हालिरहेकी छिन् । चुनौतीका अनेक चाङसँगै लड्दै उनले प्राप्त सफलतालाई संगाल्न सिकिन् ।

काम गर्दा चुनौतीसँगै अवसर आउँछ भन्ने बुझ्दाबुझ्दै पनि उनले कार्यक्षेत्रमा केही अवसर गुमाउनु परेको छ । गर्भावस्था र त्यसपछिको बिदाबाट कार्यालय फर्किदा त आफ्नो विभाग अर्कै व्यक्तिले सम्हालिसकेको उनले देखिन् । अब के गर्ने, के नगर्ने अलमलमै केही दिन बिते ।

‘महिलालाई सजिलो त कहाँ हुन्छ र ? प्रकृति र सामाजिक बनावटले पनि धेरै कुरामा अप्ठ्यारो झेल्नुपर्छ’, उनी भन्छिन्, ‘बैंकले लामो समयसम्म पद रिक्त राख्न मिल्दैन । मेरो लामो बिदाका कारण नयाँ नियुक्ती भइसकेको थियो । पछि मलाई अर्कै विभागमा सरुवा गरियो ।’

आफूले नै गरिरहेको कामलाई निरन्तरता दिन पनि महिलालाई गाह्रो हुने उनी बताउँछिन् । हाम्रो नेपाली समाजमा महिलाहरू नेतृत्व तहमा पुगेको उदाहरण थोरै मात्र छन् । यद्यपि पछिल्लो समय महिलाले घर सम्हाल्नुपर्छ भन्ने समाजको धारणालाई तोडेर नेतृत्वमा आउनेहरूको संख्या बढिरहेको छ ।

नेतृत्वमा खुम्चिरहेको नारी शक्ति

प्रवेश चरणमा सहज भए पनि व्यवस्थापन तहमा पुग्दा पुरुषको तुलनामा महिलालाई गाह्रो हुने पर्मा बताउँछिन् । ‘बैंकको जागिर त्यसमा पनि व्यवस्थापकीय भूमिकामा रहेपछि कामको दबाब बढी नै हुन्छ । समय अफिसलाई नै दिनुपर्ने हुन्छ’, उनी थप्छिन्, ‘व्यवस्थापन तह सम्हाल्नेले १०–५ भनेर हुँदैन । जतिबेला पनि काम गरिराख्नुपर्ने हुन्छ ।’
घरमै बसेर पनि फोन, ह्वाट्सएपबाटै पनि कतिपय काम गर्नुपर्ने उनी सुनाउँछिन् । घरपरिवार, बालबच्चा लगायत कुराले अप्ठ्याराहरू पनि बारम्बार आइपर्छन् । यी सबै कुरालाई साथमा लिएर अगाडि बढ्न पुरुषको तुलनामा महिलाले धेरै कुरा सोच्नुपर्ने हुन्छ ।

नेतृत्व तहमा महिलाको संख्या कम हुनुको कारण पनि सामाजिक परिबन्ध नै रहेको उनले सुनाइन् । जुनसुकै क्षेत्रको पनि नेतृत्व तहमा महिलाको संख्या अत्यन्तै न्यून हुन्छ । बैंककै कुरा गर्ने हो भने पनि ५० प्रतिशतभन्दा बढी महिला तल्लो तहमा कार्यरत हुन्छन् ।

तर व्यवस्थापन तहमा पुग्दा त्यो संख्या १० प्रतिशतमा आईपुगेको हुन्छ । पारिवारिक कुराहरूले गर्दा माथिल्लो तहमा पुग्ने बेलासम्म त अधिकांशले जागिर नै छोडिसकेका हुन्छन् । परिवार, बालबच्चा भइसकेपछि जागिर छोड्ने क्रम अलिक बढी नै हुन्छ ।

यद्यपि, यी सबै सामाजिक, पारिवारिक र व्यावसायिक दायित्वलाई सन्तुलनमा राखेर कयौँ नारीहरु अहिले बैंक तथा वित्तीय संस्थाको उपल्लो नेतृत्वमा पुग्ने दौडमा सामेल हुन थालेका छन् । हाम्रो समाजका लागि यो नवीन गौरवको विषय हो ।

सफलताको सिँढी चढ्न हतार गरिरहेका तिनै ‘आक्रामक नारी’हरुको भीडमा एउटा सशक्त नाम पर्मा ढुंगेल पनि हो । सारा अवरोधलाई पञ्छाउँदै सफलताको यात्रामा उकालो चढिरहेकी उनका पाइला कहाँसम्म पुग्छन् भन्ने चाहीँ इतिहासको गर्भमै छ । यद्यपि, उनको रफ्तार धेरैका निम्ति उत्प्रेरक र कयौँका निम्ति लोभलाग्दो पनि छ ।


प्रतिक्रिया दिनुहोस्