अब सहकारीका ऋणीले तीन महिनासम्म कर्जा पुनः तालिकीकरण गर्न पाउने

काठमाडौं। अब सहकारीका ऋणीहरूले ३ महिनाका लागि ऋणको किस्ता पुनः तालिकीकरण गर्न सक्ने भएका छन्। तोकिएको समय कर्जा चुक्ता गर्न नसकेका ऋणीलाई लक्षित गरी सहकारी विभागले तीन महिनासम्मका लागि कर्जा पुनः तालिकीकरण सुविधा दिएको हो।
विभागका अनुसार ऋणी सदस्यले आवश्यकता र औचित्यका आधारमा ३ महिनाका लागि ऋणको किस्ता पुनः तालिकीकरण गर्न सक्नेछन्। पुनः तालिकीकरणका लागि कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गर्नुपर्नेछ।
विभागले यो सुविधाका लिन गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएको हुनुपर्ने सर्त राखेको छ। कर्जा पुनः तालिकीकरण गर्दा स्पष्ट आधार प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्ने विभागको निर्देशनमा भनिएको छ।
पुनः ऋण तालिकीकरणपछि कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने अवस्था आए उक्त रकम छुट्टै खातामा लेखांकन गर्नुपर्ने, त्यसबाट लाभांश वितरण र कर्मचारी बोनस वितरण गर्न नपाइने निर्देशन दिइएको छ।
कर्जा पुनः तालिकीकरण गरेबापत ऋणीबाट सहकारी संस्थाले कुनै प्रकारको शुल्क वा हर्जना लिन पाइने छैन। विभागले आगामी आर्थिक वर्ष साउन १५ सम्मको भुक्तानीलाई पनि चालू आवको आम्दानीका रूपमा गणना गर्न सक्ने सुविधा दिएको छ।