उत्साहजनक देखियो विदेशी लगानी प्रतिवद्धता, ६६७ परियोजनामा ८९ अर्ब ७६ करोडको ‘कमिटमेन्ट’ « Arthapath.com
१ श्रावण २०८१, मंगलवार

उत्साहजनक देखियो विदेशी लगानी प्रतिवद्धता, ६६७ परियोजनामा ८९ अर्ब ७६ करोडको ‘कमिटमेन्ट’



काठमाडौं । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको छ । आर्थिक मन्दीका कारण निरन्तर घटी रहेको वैदेशिक लगानी प्रतिवद्धता पछिल्लो समय बढ्न थालेको हो ।

उद्योग विभागका अनुसार एक वर्षमा साढे ६०० परियोजना मार्फत पौन ९० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको हो । उद्योग विभागले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । एक वर्षमा ८९ अर्ब ७६ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको हो । यो अघिल्लो आवमा भने तुलनामा भने ६४.२२ प्रतिशत बढी हो । अघिल्लो आवमा ५४ अर्ब ६५ करोड ६९ लाख २८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

गत वर्षभर ६६७ परियोजना मार्फत वैदेशिक लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् ।

संख्याको आधारमा भने अघिल्लो आवको तुलनामा ४३.४४ प्रतिशत बढी हो । अघिल्ला वर्ष ४६५ वटा परियोजना मार्फत लगानी प्रतिवद्धता आएको थियो । हालसम्ममा भने कुल ५ खर्ब २८ अर्ब ९ करोड २८ लाख ८२ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । कुल ६ हजार ४०६ परियोजना मार्फत सो बराबरको लगानी प्रतिवद्धता भएको छ ।

आर्थिक शिथिलताका कारण घटेको वैदेशिक लगानी प्रतिवद्धता पछिल्लो समय बढ्न थालेको छ । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको हो । आर्थिक सङ्कट लगायतका कारण वैदेशिक लगानी प्रभावित भइरहेको थियो । तर, अहिले भने सुधार आएको छ । गत वर्ष प्रतिवद्धता भएका उद्योगहरु संचालनमा आएपछि २ हजार ९४ जनाले रोजगार पाउने छन् । हालसम्मको लगानी प्रतिवद्धता मार्फत भने ३ लाख ३१ हशजार ६०३ जनाले रोजगारी पाउने विभागले जनाएको छ।

गत वर्ष विदेशी लगानी प्रतिवद्धता उत्साहजनकै देखिएको छ।औसतमा मासिक साढे ७ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता आउने गरेको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । असार महिनामा मात्रै १०७ वटा परियोजना मार्फत २४ अर्ब ४३ करोड ६७ लाख १६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । जेठ महिनामा मात्रै ६८ वटा परियोजनामा प्रत्यक्ष ८ अर्ब २७ करोड ९० लाख, नयाँ तर्फ ५२ वटाका लागि ३ अर्ब १ करोड ५६ लाख र एसपिए÷एसएसए (९) मार्फत ४६ करोड १० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

विभागका अनुसार गत वैशाख महिनामा १३ अर्ब ८५ करोड ९६ लाख ८९ हजार रुपैयाँ, चैतमा ८ अर्ब ५६ करोड ४ लाख रुपैया, माघमा १ अर्ब १९ करोड २० लाख र पुसमा १ अर्ब ९८ करोड ९५ लाख ८९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए । यस्तै, गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यता, भदौ महिनामा ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख, असोजमा २ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ, कात्तिकमा १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ, मङ्सिरमा २ अर्ब ५६ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

विभागका अनुसार ६ ठुला उद्योग, १५ मझौला र ३८६ वटा साना उद्योगहरुमा लगानी प्रतिवद्धता छ । गत आवमा आएका लगानी प्रतिवद्धतामध्ये सबैठुलो लगानी पर्यटन क्षेत्रमा देखिएको छ। सो क्षेत्रमा कुल लगानी प्रतिवद्धताको ४८ प्रतिशत हिस्सा छ । पर्यटन क्षेत्रका १९७ परियोजनामा लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार सेवा क्षेत्रमा ३३ प्रतिशत अर्थात् १३३ वटा लगानी प्रतिवद्धता आएको छ । यस्तै, निर्माण क्षेत्रको हिस्सा ११ प्रतिशत छ ।

१० अर्ब लाभांश बाहिरियो, रोल्टी मार्फत पौने तीन अर्ब

नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरूले १० अर्ब बढी लाभांश लगेका छन् । गत आवमा १० अर्ब ७ करोड ८२ लाख ९० हजार रुपैयाँ लाभांश नेपालबाट बाहिरिएको हो ।

यद्यपि, यो अघिल्लो आव २०७९/८० को तुलनामा भने २७.२० प्रतिशत कमी हो । सो आवमा १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ लाभांश बाहिरिएको थियो । असारमा मात्रै १० करोड ५३ लाख रुपैयाँ लाभांश बाहिरिएको छ ।

विभागका अनुसार विदेशी कम्पनी तथा लगानीकर्ताहरुले २ अर्ब ७९ करोड ५ लाख १६ हजार रुपैयाँ रोयल्टी लगेका छन् । एक वर्षको अवधिमा अमेरिकी डलरमा भने १ करोड ९ लाख ३७ हजार, भारतीय रुपियाँ ७६ करोड २७ लाख ९६ हजार र २३ हजार ८०० यूरो बराबरको रोयल्टी बाहिरिएको छ।


प्रतिक्रिया दिनुहोस्