थप सुविधाहरु दिँदै सामाजिक सुरक्षा योजनाको कार्यविधि पाँचौँ पल्ट संशोधन, अब कसले के पाउँछन् ?

काठमाडौं । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि पाँचौ पटक संशोधन भएको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई केही सुविधा थप्ने र केहीमा कडाई गर्ने प्रावधानहरु समेटेर संशोधन गरेको हो ।
यसबाट कोषमा योगदान गरिरहेका करीब २० लाख ४७ हजार सूचीकृत योगदानकर्तालाई के फरक पर्छ त ? संशोधित कार्यविधिका यी व्यवस्थाहरु ११ बूँदामा जान्नुहोस् :
१. कोषले यसअघि योगदानकर्ता र दम्पतीलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत पाउने छन् ।
२. अहिले कोषले योगदानकर्तालाई १ लाखसम्मको उपचार सुविधा दिन्छ । तर कुल ६० महिना योगदान गर्ने योगदानकर्तालाई १ लाखको सीमाले उपचार सम्भव नहुने अवस्थामा ५ लाखसम्म व्यहोर्ने व्यवस्था गरिएको छ । तर यस्तो सुविधा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको १० लाखसम्मको खर्चमा ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था थपिएको छ ।
३. दुर्घटनामा परेमा योगदानकर्ताको उपचारमात्रै गर्ने यसअघिको व्यवस्थामा अहिले योगदानकर्ताका दम्पती वा सन्ततिको पनि १ लाखसम्म सुविधा दिने प्रावधान राखिएको छ ।
४. पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको शिलशिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ ।
५. पछिल्ला २८ महिनामध्ये कम्तीमा २४ महिना कोषमा लगातार योगदान गर्ने योगदानकर्ताले घातक रोगको औषधि उपचार सुरक्षा योजनाबाट लाभ पाउने व्यवस्था गरिएको छ । यो सुविधा योगदानकर्ताले कोषमा योगदान गर्न छाडेको मितिले २४ महिनासम्म पाउने व्यवस्था छ ।
६. निवृत्तभरण पाउनेले पनि अब आजिवन उपचार सुविधा पाउने छन् । त्यसका लागि ६० वर्ष उमेर पूरा गरेका र कोषमा कम्तीमा १५ वर्ष अर्थात १८० महिना न्यूनतम आधारभूत पारिश्रमिकभन्दा कम नहुने गरी योगदान गरेका योगदानकर्ताले निवृत्तभरण सुविधा लिदा योगदानकर्ताले चाहेमा निवृत्तभरण रकमको १ प्रतिशत मासिक योगदान गरी आजीवन रूपमा औषधि उपचार सुविधा लिन पाउने व्यवस्था गरिएको छ ।
७. रोजगारीजन्य बाहेकको दुर्घटनामा परेर मृत्यु भएकाको हकमा चाहीँ कम्तीमा १२ महिना लगातार योगदान गरेका योगदानकर्ताका परिवारलाई मात्रै आश्रित परिवार सुरक्षा योजना सुविधा उपलब्ध गराइने भएको छ । यद्यपि रोजगारीजन्य दुर्घटनाको हकमा योगदान सुरू गरेको मितिबाट नै लागू हुनेछ ।
८. योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा तथा छोरी नभएको तर योगदानकर्तासँग आश्रित आमा बाबु छन् भने उनीहरूलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम उनीहरूले जीवनकालभर मासिक रूपमा पाउनेछन् । बाबुआमा दुवै जीवित भएको अवस्थामा दुवैलाई दामासाहीको दरले मासिक रूपमा पाउनेछन् ।
९. संशोधित कार्यविधिअनुसार योगदानर्ताले योगदान गर्ने ३१ प्रतिशत रकमलाई विभिन्न योजनामा भइरहेको यस अघिको बाँडफाँट प्रतिशत पनि परिमार्जन भएको छ । यसअघि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १ प्रतिशतमात्रै रकम जाने गरेकोमा अब १.२० प्रतिशत रकम पठाइने भएको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा यस अघि १.४० प्रतिशत रहेकोमा घटाएर ०.८० प्रतिशतमा झारिएको छ ।
१०. यस्तै आश्रित परिवार सुरक्षा योजनाको लागि ०.२७ प्रतिशत रहेकोमा अब ०.६७ प्रतिशत पुर्याएको छ भने वृद्ध अवस्था सुरक्षा योजनामा भने यस अघिकै २८.३३ प्रतिशत रकमलाई निरन्तरता दिइएको छ ।
११. कोषले कुनै योगदानकर्तालाई सुविधा दिदाँ पछिल्लो ३ महिनाको योगदानकर्ताको आधारभूत पारिश्रमिकको औसत निकालेर ‘मासिक आधारभूत पारिश्रमिक’ किटान गर्ने व्यवस्था थियो । तर अब पछिल्लो २४ महिनाको औसत लिइने भएको छ ।