आठ महिनामा साढे ४४ अर्बकाे वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति कमिटमेन्ट ?

काठमाडाैं। चालु आर्थिक वर्षको ८ महिनामा साढे ४४ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्याेग विभागले सार्वजनिक गरेकाे तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा ४ सय २७ उद्याेगमा ४४ अर्ब ६६ कराेड ३ लाख ७३ हजार ४०० रूपैयाँ बरावरकाे वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हाे । जसबाट ११ हजार ४ सय ७५ जनाले राेजगारी पाउने विभागले जनाएकाे छ ।
यस्तै विभागले फागुन महिनामा मात्र ४० उद्याेगका लागि १७ अर्ब ७९ कराेड ८६ लाख ४० हजार रूपैयाँ बराबरकाे वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेकाे छ ।
सात महिनाकाे अवधिमा सबैभन्दा धेरै सेवामुलक क्षेत्रका ५४ उद्याेगका लागि २२ अर्ब ३६ कराेड ३७ लाख ३० हजार रूपैयाँ बरावरकाे प्रतिवद्धता प्राप्त भएकाे छ भने दाेस्राेमा पर्यटन उद्याेगका १८० उद्याेगमा १७ अर्ब ९० कराेड ७५ लाख ९० हजार रूपैयाँ बरावरकाे लगानी प्रतिवद्धता प्राप्त भएकाे छ ।
यस्तै यस अवधिमा उत्पादनमुलक क्षेत्रका ३० उद्याेगमा २ अर्ब ६३ कराेड २० लाख ५० हजार २००, सुचना प्रविधि क्षेत्रका १५४ उद्याेगमा ९५ कराेड ५ लाख ३ हजार २०० , कृर्षि क्षेत्रका ७ उद्याेगमा ७६ कराेड १० लाख, उर्जा क्षाेत्रमा २ कराेड ५५ लाख, पूर्वाधार क्षेत्रमा २ कराेड रूपैयाँ बरावरकाे वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएकाे छ ।