आर्थिक वृद्धिमा नेपालको ‘हरिविजोग’, संसारमै सबैभन्दा छिटो विस्तार भएका अर्थतन्त्र कुन हुन् ? « Arthapath.com
१४ चैत्र २०८१, बिहीबार

आर्थिक वृद्धिमा नेपालको ‘हरिविजोग’, संसारमै सबैभन्दा छिटो विस्तार भएका अर्थतन्त्र कुन हुन् ?



काठमाडौं । हाल २० ट्रिलियन डलर भन्दा बढीको जिडिपी सहित, संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। त्यसपछि चीन, जर्मनी, भारत, जापान र संयुक्त अधिराज्य जस्ता देशहरु विश्वकै ठूलो अर्थतन्त्र भएका देशहमा समेल छन् ।

सन् २०२५ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ उत्पादन (जिडिपी) २९८४० ट्रिलियन डलर रहेको छ भने, चीनको १८५३३, जर्मनीको ४७७२, भारतको ४३४०, जापानको ४३१० र संयुक्त अधिराज्य (युके) को ३६८५ ट्रिलियन डलर रहेको छ ।

विश्वको विशाल अर्थतन्त्र भएका मुलुकहरुको सूचीमा यी पाँच देशहरुले वर्चश्व जमाइरहँदा अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले २०२५ मा विश्वकै सबैभन्दा छिटो बढ्दै गरेको अर्थतन्त्रको सूची सार्वजनिक गरेको छ ।

जस अनुसार पहिलो स्थानमा साउथ सुडान रहेको छ । सन् २०२५ मा साउथ सुडानको जीडिपी ग्रोथ २७.२ प्रतिशत रहने अनुमान गरिएको छ । यो सँगै यस देशको अर्थतन्त्रको आकार ५.३ अर्ब डलर पुग्ने छ । सन् २०११ को जुलाईमा अस्तित्वमा आएको यो पूर्वी अफ्रिकी देशको क्षेत्रफल ६ लाख ४४ हजार ३२९ वर्ग किलोमिटर रहेको छ भने यहाँ १ करोड १५ लाख जनसंख्या बसोबार गर्छन् ।

यस्तै दोस्रो स्थानमा गुयाना रहेको छ । २०२५मा गुयानाको जीडिपी १४.४ प्रतिशतले बढ्ने अनुमान गरीएको छ । मे २०१५ मा यसको तटमा प्रमुख तेल भण्डारहरू पत्ता नलागेसम्म यो एक सबैभन्दा गरिब देशहरू मध्ये एक थियो। एसोसिएटेड प्रेसको २०२३ को लेख अनुसार, गुयानामा डिसेम्बर २०१९ मा तेल उत्पादन सुरु भयो र यसबाट एक अर्ब डलरभन्दा बढी राजस्व उठायो ।

गुयानी सरकारले उक्त पैसालाई नयाँ अस्पताल, विद्यालय, राजमार्ग र यसको पहिलो गहिरो पानी बन्दरगाह सहितको विशाल पूर्वाधार निमार्णमा प्रयोग गरिरहेको छ । २०४० सम्ममा देशको कुल तेल राजस्व १५७ अर्ब डलर पुग्ने विश्लेषकहरुले अपेक्षा गरेका छन् ।

तिब्र रुपमा जीडिपी ग्रोथ भइरहेको अर्को देश लिबिया हो । २०२५ मा लिबियाको कुल गार्हस्त उत्पादन १३.७ प्रतिशत रहने अनुमान गरिएको छ । २०११ मा गृहयुद्ध सुरु भएदेखि यो देश सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताले ग्रस्त छ भने कोभिड–१९ महामारीपछिको संकट समेत सामना गरिरहेको छ ।

यस्तै अझै पनि यहाँ छुट्टाछुट्टै क्षेत्रहरू नियन्त्रण गर्ने दुई प्रतिस्पर्धी सरकारहरू छन् । यी विविध कारणले लिबियाको जिडिपी अझै पनि गृहयुद्ध अघिको भन्दा लगभग एक तिहाइ सानो छ ।यद्यपी यी संकटको समाधान र तेल उत्पादनको वृद्धिले २०२५ मा लिबियाको अर्थतन्त्रलाई बढावा दिने आईएमएफको अनुमान रहेको छ ।

यस्तै यस अवधिमा सेनेगलको डिडिपी ग्रोथ ९.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सेनेगलको अर्थतन्त्र २०२५ मा निकासी क्षेत्रद्वारा संचालित छ। यस देशले गत वर्ष जुनमा तेल उत्पादन गर्न थाल्यो, प्रारम्भिक उत्पादन स्तर प्रति दिन १००,००० ब्यारेल पुग्ने अपेक्षा गरिएको थियो।

यसबाहेक, यस वर्ष जनवरीमा मौरिटानियासँग साझा गरिएको क्षेत्रबाट ग्यास उत्पादन सुरु भयो, जसको प्रारम्भिक क्षमता प्रति वर्ष २० लाख टनभन्दा अलि बढी तरल प्राकृतिक ग्यास थियो। यी विकासहरूले २०२५ को जीडीपी वृद्धिलाई तिब्र बनाएको बताइएको छ ।

सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र भउको देशको सूचीमा अर्को नाम पलाउको रहेको छ । २०२५ मा यहाँको जीडिपी ८.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । करिब १८ हजार जनसंख्या मात्रै बसोबार गर्ने यस देशले कोभिड महामारीका समयमा गम्भिर अर्थतन्त्रको संकटको सामना गर्नुप¥यो ।

मुलुकको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनले ओगटेको यस देशमा सन् २०२० देखि २०२२ सम्म यहाँको आर्थिक गतिविधि संकुचित बन्यो । पर्यटन, मत्स्यपालन, निर्वाहमुखी कृषि, विदेशी सहायता यहाँको अर्थतन्त्रका प्रमुख आधार हुन् ।

यस्तै यस सूचीको छैटौं स्थानमा सुडान (८.३ प्रतिशत) र भारत १६ औं स्थानमा (६.५ प्रतिशत) रहेको छ भने चीन मुख्य २० भित्र परेको छैन । आईएमएफका अनुसार, २०२५ मा नेपालको अर्थतन्त्र ४.९% ले वृद्धि हुने अनुमान गरिएको छ, पुँजीगत खर्चमा वृद्धि, उत्पादन बढ्नु र सहज मौद्रिक नीति जस्ता कारणले २०२५मा नेपालको आर्थिक वृद्धि बढ्ने अनुमान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्