दशैँका लागि पैसा छाप्न सुरु, कसले पाउला १ खर्ब १५ अर्ब बराबको नोट छाप्ने ठेक्का ? « Arthapath.com
१७ चैत्र २०८१, आईतवार

दशैँका लागि पैसा छाप्न सुरु, कसले पाउला १ खर्ब १५ अर्ब बराबको नोट छाप्ने ठेक्का ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ मूल्य बराबरको नयाँ नोट छाप्न प्रक्रिया थालेको छ । उसले आइतबार एक सूचना प्रकाशित गर्दै रू. ५०० दरका २३ करोड थान नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।

यी नोटहरुको ‘डिजाइनिङ, प्रिन्टिङ, सप्लाई एण्ड डेलिभरी’का लागि यो ठेक्का आह्वान गरिएको हो । उक्त ठेक्का अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट छानिने छ ।

तर राष्ट्र बैंकले पनिले नै ‘प्रिक्वालिफाइड’ भनेर सूचीकृत गरेका सेक्युरिटि प्रिण्टिङ कम्पनीहरुले मात्रै यो ठेक्कामा सहभागिता जनाउन पाउने छन् । केन्द्रिय बैंकले फागुन अन्तिममा विभिन्न ६ देशका प्रेसहरुलाई ‘पूर्व–योग्यता’ सूचीमा समेटेको छ ।

त्यसमा चीनको ‘चाइना बैंकनोट प्रिन्टिङ एण्ड माइनिङ कर्पोरेशन’ शीर्ष स्थानमा छ । युकेको ‘डे ला रुइ इन्टरनेशनल लिमिटेड’, जर्मनीको ‘गिसेक प्लस डेभरियन्ट करेन्सी टेक्नोलाजी’, रूसको ‘गोज्नाक जोइन्ट स्टक कम्पनी’, फ्रान्सको ओबर्थर फिदुचिएर एसएएस’ र पोल्याण्डको ‘पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस’ पनि नेपाली नोट छाप्नसक्ने सूचीमा छन् ।

राष्ट्र बैंकले यी कम्पनीहरुलाई समेटेर ‘पूर्व योग्यता’ सूची सार्वजनिक गरेपछि पहिलो पल्ट रू. ५०० दरका नोटको छपाइ अघि बढाउन लागेको हो । यसअघि भारतीय कम्पनीहरु पनि यस्तो सूचीमा पर्ने गरेकोमा यस पल्ट भने चीनियाँ र युरोपेली कम्पनीहरुमात्रै समेटिएका छन् ।

यी कम्पनीहरुलाई बोलपत्र प्रस्तुत गर्न केन्द्रिय बैंकले ४५ दिनको समय दिएको छ । ४६ औँ दिन (आगामी वैशाख ३१)को दिउँसो १ बजे बोलपत्र खोलिने छ । त्यसपछिको चार महिना (१२० दिन) भित्र नयाँ नोट उपलब्ध गराउनु पर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।

राष्ट्र बैंकले कुनै पनि दरको नोट एक पल्ट छाप्दा आगामी ३ वर्षका लागि पुग्ने ‘हिसाबकिताब’मा छापेको हुन्छ । पछिल्लो समय साना दरको नोटको कारोबार घट्दै गएपछि अहिले ५०० र १००० दरका नोटमा राष्ट्र बैंकले बढी चासो दिँदै आएको छ ।

अहिले छाप्न लागिएको नोट आगामी दशैँका लागि बजारमा पठाउने गरी केन्द्रिय बैंकको ठुकुटीमा आइसक्ने राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्