वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गरेको छ । प्रतिवेदनमा इकाईको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिइएको छ । उक्त प्रतिवेदनमा मुख्यतः देहायका विषयहरू उल्लेख गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङ्गका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या १हजार ६ सय ३९ पुगेको छ । सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको सङ्ख्या आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ९८ हजार ३ सय ९८ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा उक्त सङ्ख्या १६ लाख ९७ हजार ७ सय १२ रहेको छ ।
सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या आर्थिक वर्ष २०७९÷८० मा ५ हजार ९ सय ३५ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा सो सङ्ख्या करिब २४ प्रतिशतले वृद्धि भई ७ हजार ३ सय ३८ पुगेको छ । यसरी प्राप्त गरिएका अधिकांश शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदनहरू कर छली सम्बन्धी, मौद्रिक, बैंकिङ्ग, विदेशी विनिमेय, बीमा, सम्बन्धी, ठगीसम्बन्धी, चिठ्ठा , जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको देखिएको छ ।
प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या १ हजार ६ सय ३२ पुगेकोमा सो मध्ये ८ सय ८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने, अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरिएको छ ।
सो मध्ये ७ सय ४६ वटा प्रतिवेदन इकाईलेभविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ । सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई एक वर्षकाे अवलोकन अवधिमा नेपालले गरेका विविध सुधारका कार्यहरू र हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजनाको कार्यान्वयनका सन्दर्भमा गरिरहेका प्रयासबारे समेत प्रकाश पारिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा इकाईले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी कार्यहरू प्रतिवेदनमा प्रस्तुत गरिएको छ । त्यस्तै इकाईका कर्मचारी, सम्बद्ध निकाय तथा सूचक संस्थाहरूको क्षमता अभिवृद्धि तथा सूसूचित गर्ने सम्बन्धी विविध गतिविधिहरू प्रस्तुत गरिएको छ ।
साथै, सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति जस्तैः हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरणलगायतका विषयहरू प्रस्तुत गरिएको छ । उक्त प्रतिवेदनको पूर्ण विवरण देहायको लिङ्कमा उपलब्ध छ ।