नेपाल एसबिआई बैङ्क र इसेवाबीच विद्युतीय कारोबार सम्बन्धी साझेदारी

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैङ्कबीच विद्युतीय कारोबार सम्बन्धी साझेदारी भएको छ। यस साझेदारी पश्चात् अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ बैङ्कका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन्।
अब नेपाल एसबिआइ बैङ्कको ग्राहकहरूले आफ्नो मोबाइल बैङ्किङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम नेपाल एसबिआई बैङ्कको खातामा ट्रान्सफर गर्न सक्नेछन्। यसै साथ अब इसेवामा आबद्ध बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या ५१ पुगेको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र नेपाल एसबिआई बैङ्क बिच भएको सम्झौताप्रति खुसी व्यक्त गर्दै, यस सहकार्यले दुवै संस्था बिच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन्।
साथै याे सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरा समेत खड्काले उल्लेख गरेका छन्। उनले आउने दिनहरूमा ग्राहकको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा सन् २००९ मा इसेवा स्थापना भएको हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा लि सहरी केन्द्रमा मात्र सीमित नभएर हाल उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ।
मोबाइल टपअप बाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटेल बुकिङ, शेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्स्योरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर , मर्चेन्ट लिङक सुविधा दिँदै आएको छ।