काठमाडौं महानगरको कर शिक्षा : कर लिएर सुविधा दिने नीतिअनुरुप करको दर र दायरा निर्धारण

काठमाडौं । कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले कर शिक्षा कार्यक्रम थालेको छ ।
कर तिर्न आउने करदातालाई करमैत्री वातावरण प्रदान गर्ने, जानकारी लिन चाहनेहरुका लागि परामर्श गर्ने र समय समयमा कर तथा राजस्व क्षेत्रका अधिकारी तथा विज्ञसँग अन्तरक्रियात्मक संवाद गरेर वडाले कर शिक्षालाई अगाडि बढाएको हो ।
हिजो (सोमबार) वडामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाको वित्त समितिका संयोजक एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले कर लिएर सुविधा दिने नीतिअनुरुप करको दर र दायरा निर्धारण गरिएको बताए ।
जापान, सिंगापुरलगायत देशहरुमा स्थानीय सरकारले संकलन गर्ने कर र प्रदान गर्ने सेवा उधृत गर्दै उनले भने, ‘सेवा पाए र कर रकमको सदुपयोग भएको सुनिश्चित भएपछि करदातालाई कर तिर्न करकर गरिरहनु पर्दैन । कर मात्र लिने सेवा नदिने भएपछि मात्र करकर गर्नु पर्ने हो । यसकारण महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र सुविधा वितरण गरिरहेको छ ।’
कार्यक्रममा करको सिद्धान्त, यसको प्रचलन, करदाताका दायित्व र अधिकारलगायन विषयमा आन्तरिक राजस्व कार्यालय, कलंकीका प्रमुख कर अधिकृत धनकुमार राई, महानगरपालिकाको राजस्व विभागका प्रमुख दिपक अधिकारी र राजस्व कार्यालयका कर अधिकृत विजयप्रसाद लामिछानेले प्रस्तुतिकरण गरेका थिए ।
प्रस्तुतिपछि आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर छुट सुविधा, कर परीक्षण, अग्रिम करकट्टी, मिसम्याच, दर्ता, दर्ता खारेजी र स्थगनलगायत विषयमा छलफल भएको थियो । यस्तै पान नम्बर, व्यक्तिगत पान, व्यवसायिक पान, डब्लु पान (विथ होल्डिङ् पान) र यी नम्बरहरुको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो ।
करमा पान दर्ता भएका व्यवसायीहरुले कारोबार स्थलमा ३० सेन्टिमिटर लम्बाइ र १० सेन्टिमिटर चौडाइ भएको कर पाटी राख्नुपर्छ । मूल्य अभिवृद्धि करमा दर्ता भएकाले हरियो पृष्ठभूमिमा सेतो अक्षरले पाटीको माथिल्लो भागमा फर्म, कारोबारको नाम लेख्नुपर्छ । यसको तल करदाताको पान नम्बर लेख्नुपर्छ ।
थ्रेसहोल्डभित्र वस्तु र सेवाको मूल्य अभिवृद्धि कर लाग्ने व्यवसायीले पहेँलो पाटीमा कालो अक्षरले र बस्तु वा सेवामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवसायीले सेतो पृष्ठभूमिमा रातो अक्षरले करपाटी राख्नुपर्छ ।
छलफलमा राजस्व विभागका प्रमुख अधिकारीले पूर्वीय दर्शन उधृत गर्दै भने, ‘कर लिने भनेको फूलबाट मौरीले रस लिएजस्तै हो । यो प्रक्रियामा फूललाई मौरीले रस लिएको थाहा नै हुँदैन । मौरी फूलमा आएका कारण फूलको सौन्दर्य बढाउन र परागसेचन प्रक्रियामा सहयोग हुन्छ । यस्तै गरेर काठमाडौँ महानगरपालिकाले करदातालाई दरको भार नहुने गरी कर निर्धारण गर्ने नीति लिएको छ ।’
राजस्व कार्यालयका प्रमुख कर अधिकृत राईले कर अनिवार्य दायित्व भएको उल्लेख गरे । उनले भने, ‘कर लगाउने वा करको दर निर्धारण गर्ने अधिकार जसलाई पनि हुँदैन । अधिकार प्राप्त संयन्त्रबाट निर्धारण गरिएको कर तिर्दिन भन्न पाइँदैन ।’
कर अधिकृत लामिछानेका अनुसार नेपालको कर नीति स्वघोषणा नीतिमा आधारित रहेको छ । आफूले गरेको वास्तविक कारोवारमा आधारित घोषणा गरेर कर तिर्नुपर्ने, कारोबार ढाकछोप गर्दा करदातालाई कुनै न कुनै समयमा पुगेर व्याजसहितको हर्जानाले ठुलो भार सिर्जना हुने जोखिम हुने उनको भनाइ थियो ।
करदाताहरुले व्यवसायको प्रकृति र कारोबारका आधारमा तहगत सरकारका विभिन्न कार्यालयमा दायित्व निर्वाह गर्नुपर्छ । वडाबासीलाई यो विषयमा शिक्षा प्रदान गर्नुपर्छ भनेर करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिए ।
महानगरपालिकाले दिएका छुट र अरु सुविधा कसरी थाहा पाउने संयन्त्रका विषयमा जानकारी गराइएको उनको भनाइ छ । कार्यक्रममा व्यक्ति, संघसंस्था तथा व्यवसायिक कारोबार गर्ने व्यवसायीहरुलाई बोलाइएको थियो ।