अब पिरो हैन ‘मिठो पिरो’: वाईवाईले बदलेकाे पिराेकाे परिभाषा

काठमाडौं । नेपालमा चाउचाउ उत्पादन हुन थालेको निकै लामो समय भयो । तर ‘पीरो चाउचाउ’ भने स्वदेशी उत्पादन थिएन । केही वर्ष अघिसम्म कोरियन स्वादको ‘रोमन हट एण्ड स्पाइसी’ चाउचाउ नेपाली बजारमा छ्यापछ्याप्ती नै पाइन थाल्यो ।
उक्त कोरियाली चाउचाउले नेपालीको जिब्रोलाई गज्जबसँग प्रभावित पारिदियो । उनीहरुको स्वाद बदलियो र पीरो खोज्देहरु बढ्न थाले । त्यसपछि स्वदेशी उत्पादकको नजरमा आफ्ना उपभोक्ताको फेरिएको रोजाई छिप्ने कुरै थिएन । अनि नेपालमा पनि यस्तै खाले चाउचाउहरु उत्पादन हुन थाले ।
तीनै मध्येको एक, अनि पछिल्लो समय आक्रामक बजार विस्तार भइरहेको चाउचाउ हो,— वाईवाइ क्वीक हट एण्ड स्पाइसी । हाम्रो बजारमा करिव ४ वर्ष अघि कोभिड महामारीका बीच ‘हट एण्ड स्पाइसी’ वाला पिरो चाउचाउको बजार फस्टाएको थियो । अहिले देशैभरि यस स्वादका चाउचाउ लोकप्रिय बनेका छन् ।
वितेका केही वर्षको दौरानमा फेरिएको कुरा चाहीँ स्वदेशी उत्पादनमा झुकाव हो । पहिले विदेशी उत्पादनमा रमाउने उभोक्ताहरु अचेल नेपालमै उत्पादित हट एण्ड स्पाइसीको ट्वाक्क स्वादमा रमाइरहेका छन् ।
पछिल्लो ३–४ महिनायता सिजी ग्रुपको उत्पादन गर्ने ‘वाईवाई क्वीक हट एण्ड स्पाइसी’ नेपाली उपभोक्ताबीच प्रख्यात नाम बनेको छ । ४० वर्षअघि वाईवाई चाउचाउबाट सुरु भएको सिजी ग्रुपको यात्रा नेपाली मल्टिनेशनल ब्राण्डको रुपमा अगाडी बढेको छ ।
पछिल्लो समय उपभोक्ताको बदलिँदो स्वादलाई ध्यानमा राख्दै सिजी गु्रपले देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर अरुभन्दा पृथक र युनिक स्वादमा चाउचाउको यो सेग्मेन्ट पस्किएको छ ।
बजारमा उपलब्ध एकदमै पीरो चाउचाउहरु कुनै निश्चित समूहमा मात्रै लक्षित रहँदा सिजी ग्रुपले भने समस्त नेपाली उपभोक्तालाई सुहाउँदो उत्पादन बजारमा ल्याएको छ ।
हुन त यसअघि नै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका पिरो चाउचाउ बजारमा उपलब्ध नै थिए । तर त्यो चाउचाउ एकदमै पिरो भएकाले सबैका लागि उपयुक्त नहुन पनि सक्थे ।
‘एकदमै पिरो मात्र खानेका लागि बजारमा थुप्रै चाउचाउहरु उपलब्ध छन् । पिरोले मात्रले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ, र यसले उपभोक्ताहरु डाइभर्ट हुन सक्ने अवस्थालाई ध्यानान राख्दै यसलाई फरक र युनिक स्वादमा पस्किन सिजीले ८ महिना लामो अनुसन्धानपछि मात्र यसको उत्पादन सुरु गरेको हो’, सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदीप पुडासैनीले भने ।
सिजीले शुरुमा स्वदेशी तथा विदेशी सबै उत्पादनसँग तुलना गर्दै थोरै परिणाममा मात्र फरक स्वादको चाउचाउ उत्पादन गरेको थियो । त्यो चाउचाउलाई कुनै पनि ब्राण्डको नाम नदिइकन काठमाडौं तथा बाहिरका विभिन्न कलेजका विद्यार्थीहरु माझ ‘ट्रायल मार्केटिङ’ गर्यो ।
कलेजमा अध्यनरत युवाहरुले दिएको स्वादबारे दिएको प्रतिक्रिया र सुझावलाई स्वीकार गर्दै कम्पनीले ‘रेसिपी’ परिमार्जन गरेर पुनः बजारमा ल्यायो । यसमा सबै कुराको सन्तुलन मिलेकोले उपभोक्ताबाट ‘मीठो पिरो’ भन्ने प्रतिक्रिया प्राप्त भयो । त्यसपछि केहि समयको परिक्षणकाल गुजार्दै सीजीले व्यावसायिक रुपमा यो नयाँ भेरियन्टको उत्पादन गर्न थाल्यो ।
अहिले वाईवाईको पिरो चाउचाउ सहर केन्द्रित मात्र नभएर गाउँगाउँसम्म पुगेको छ । बिगमार्ट र भाटभटेनीजस्ता सुपरस्टोरहरुमात्रै होइन, हरेक पसलमा यो चाउचाउ पाइन्छ । गत साता डोल्पामा मात्र २ हजार कार्टुन पु¥याइसकेको सिजी ग्रुपका कर्पोरेट मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले बताए ।
हाल कम्पनीले बजारको माग अनुसार मात्र चाउचाउ उत्पादन गरिरहेको छ । अहिले केहि निश्चित ठाउँमा मात्र पुगे पनि यसले विस्तारै आफ्नो बजार हिस्सा बढाउनेमा कम्पनी विश्वस्त छ । हाल बजारमा १० प्याकेट भएको ‘सानो कार्टुन’ र २० प्याकेट भएको ‘ठूलो कार्टुन’मा यो चाउचाउ उपलब्ध छ ।
‘क्वालिटिमा नो कम्प्रमाइज’
जबसम्म गुणस्तरमा अब्बल भईँदैन, तबसम्म प्रतिस्पर्धामा अगाडी बढ्न सकिँदैन भन्ने मान्यता अनुरुप यसको गुणस्तरियता खास ध्यान दिएको कम्पनीको दाबी छ ।
सिइओ पुडासैनी भन्छन् ‘उपभोक्तासँग सिजीको ४० वर्षको एशोसिएशन हो, अन्तराष्ट्रि स्तरमा पनि हाम्रो आफ्नै छवी छ । सिजी ग्रुपले आफ्ना उत्पादन र सेवाको गुणस्तरमा कहिल्यै कम्प्रमाइज गर्न सक्दैन । उपभोक्ताको विश्वास जित्ने काममा सम्झौता गर्न सक्दैनौँ ।’
यस चाउचाउमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन तथा मिनिरलर्सहरु प्रयोग भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो भएको उनले बताए ।
यस्तै उपभोक्ताको स्वास्थ्यका लागि राम्रो र गुणस्तरीय होस् भनेर स्थानीय उत्पादनको प्रयोग गरिएको छ । यसमा पिरोका लागि प्रयोग हुने मुख्य वस्तु स्वदेशी अकबरे खुर्सानी हो ।
इलाम, ताप्लेजुङ, धनकुटा लगायत विभिन्न जिल्लाका किसानले उत्पादन गरेका खुर्सानी यसको सिजिलिङ तथा तेलमा प्रयोग गरिएको छ । नेपालमै उत्पादित मसलाहरुको प्रयोग गरिएको छ ।
निकै पिरो भए पनि अकबरे खुर्सानीले उपभोक्ताको स्वादलाई राम्रो बनाउनुका साथै स्वास्थ्यलाई पनि असर नगर्ने उनको तर्क छ । यस्तै उक्त उत्पादन अन्तराष्ट्रिय मापदण्ड अनुसारको ल्याब टेष्ट गरेर मात्र बजारमा पठाउने गरेको कम्पनीले जनाएको छ ।
सिइओ पुडासैनीले भने, ‘आजको दिनमा नयाँ उत्पादनलाई प्रतिस्पर्धात्मक रुपमा स्थापित गराउनु ज्यादै नै चुनौतीपूर्ण काम हो । तर सबैभन्दा ठूलो निर्णायक भनेको उपभोक्ता हो । त्यसैले हाम्रो मुख्य उद्देश्य भनेको नै उपभोक्तालाई भ्यालु फर मनी (पैसाको मोल पाएजस्तो) पनि होस् भन्ने हो ।’
उनले थपे, ‘५० रुपैयाँ तिर्दा उसले सबैभन्दा बेस्ट प्रोडक्ट, क्वालीटी र टेष्ट पाओस् भन्नेमै हाम्रो लडाइ हो । त्यसैले हाम्रो उत्पादन बेस्ट छ भन्ने दावी नै गछौं, बाँकी मार्केटमा कसरी चल्छ अरु फ्याक्टरले पनि डिसाइड गर्छ । त्यो चुनौतिको सामना गर्न पनि हामी तयार छौं ।’
‘जेन जी’ पुस्ता लक्षित प्याकेजीङ
५० रुपैयाँ पर्ने १०० ग्राम वाईवाई क्वीक हट एण्ड स्पाइसी विशेष गरी युवा तथा किशोर पुस्तालाई लक्षित गरिएको छ । यसमा पनि उनीहरुको प्राथमिक उपभोक्ता ‘जेन जी’ हो । विशेष गरी प्याकेजिङको डिजाइनमा पनि जेनजी पुस्ताको रुचीको अध्ययन अनुसन्धान गरी ‘एआई’बाट तयार पारिएको छ ।
‘अहिलेको डिजीटल समयमा युवाहरुको स्वाद र छनोट एकदमै फरक छ । उनीहरु जापानी, कोरियाली कार्टुन र एनिमेटेड भिडियोहरु (एनेमी) हेर्न मन पराउँछन्’, कम्पनीका कर्पोरेट मार्केटिङ प्रमुख श्रेष्ठले भने, ‘एनइएफडि डिजीटल आर्टहरु मन पराउने भएकै कारण यसको प्याकेजिङमा पनि एआई डिजीटल आर्टवर्कको प्रयोग गरिएको छ ।’
उनले प्याकेजिङका क्रममा कुनै पनि वास्तविक तस्वीर उपयोग नभएको जानकारी दिए । ‘कुनै पनि बजार र मार्टमा गएर पिरो सेगमेन्टको कलर र्हेनुभयो भने सबैको रातो र कालो छ । हामीले प्रतिस्पर्धि बजारमा अरुबाट फरक देखिन गाढा हरीयो रंग प्रयोग गरेका छौँ,’ श्रेष्ठले थपे, ‘अहिले हामी प्योेकेजिङमा परिक्षण गरीरहेका छौँ । विज्ञापन पनि गरीरहेका छौँ । युनिक चिज उत्पादन गरेको भनेर प्रतिकृया आइरहेको छ ।’
डिजाएनले कसैलाई आर्कषण नगरेपनि पिरो चाउँचाउँ खानेहरुलाई यसको स्वाद मिठो छ भन्ने लागिरहेको छ । स्वाद मन परिसकेपछि उपभोक्ताहरु प्याकेजिङमा त्यति धेरै अल्झिनुहुन्न भन्ने आफूहरुको विश्वास रहेको श्रेष्ठ बताउँछन् ।
अरुसँग तुलना गर्ने हो भने यस चाउचाउमा भएको पिरोको मात्रा एकदमै सन्तुलित रहेको उत्पादकको दाबी छ । जसकारण चाउचाउ खाँदा उपभोक्ताले यसको स्वाद लिन सक्छन् ।
विश्वका ४० देशमा पुर्याउने लक्ष्य
सिजी ग्रुपले वाईवाई भाउचाउ जस्तै वाईवाई क्वीक हट एण्ड स्पाइसी नुडल्सलाई पनि विश्वका ४० देशमा पु¥याउने लक्ष्य राखेको छ । अमेरिका अष्ट्रलिया, युरोप, जापान, अरब देशहरुमा यी उत्पादनहरु विस्तार गर्न खोजिरहेको र यसको शुरुवात पनि भइसकेको कम्पनीले जनाएको छ ।
विदेशमा रहेका युवाहरुको घर परिवारले नेपालबाट कोसेलीका रुपमा हट एण्ड स्पाइसी नुडल्स पाठाउन थालेको सिजी फुड्का सिइओ पुडासैनी बताउँछन् । उनले भने, ‘विदेशबाट माग बढ्न थालेपछि मात्र नेपालमा यो उत्पादन लोकप्रिय छ भन्ने थाहा हुन्छ।’
कम्पनीका अनुसार अहिले नै पनि विभिन्न देशबाट यसको माग आउन थालेको छ । त्यसैले सीजीले अब यसको उत्पादन क्षमता पनि बढाउँदै छ भने हट एण्ड स्पाइसीमा अन्य क्याटागोरी पनि थप्दै छ । विभिन्न देशका व्यावसायिक साझेदारहरुले चाउचाउको यस भेरियन्टबारे खुब चासो दिएर मगाउन सुरु गरेको कम्पनीका अधिकारीहरु बताउँछन् ।
अर्को महिनादेखि नै व्यावसायिक रुपमा विदेश निर्यात गर्ने तयारी गरिरहेको सिजी ग्रुपका कर्पोरेट मार्केटिङ प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘हरेक देशको मादण्ड फरक हुन्छ, त्यसै हिसाबमा उत्पादनको सुविधा मिलाउने, प्याकेजिङ परिवर्तन गर्ने, डेकोरेशन गर्ने हिसाबमा हामी फिगर आउट गर्दैछौँ । त्यसैले सम्भवतः अर्को महिनाबाट हामी निर्यात पनि गर्छौँ ।’
हाल विश्वका करिव ४० देशमा वाईवाई फैलिएको छ । भविस्यमा उपभोक्ताको माग अनुसार ती उद्योगहरुबाट पनि वाईवाई क्वीक हट एण्ड स्पाइसीको उत्पादन थाल्न सकिने कम्पनीले जनाएको छ ।

वाईवाईको ४० वर्षे यात्रा
सन् १९८४ देखि उत्पादन सुरु भएको वाईवाई ब्राण्डले ४० वर्षको भव्य यात्रा पुरा गरेको छ । नेपाल भित्र र बाहिर समेत सबैभन्दा धेरै रुचाइएको र धेरै बिक्री हुनेमध्येमा पर्छ वाईवाई चाउचाउ ।
हाल वाईवाईसमेत सिजीले नेपालको चाउचाउ बजारमा ६० प्रतिशतभन्दा धेरै मार्केट हिस्सा ओगटेको कम्पनीको दावी छ । चार दशकदेखि नेपाली उपभोक्ताको भावनासँग जोडिएको वाइवाइ चाउचाउले वर्षौंदेखि एकछत्र बजार कब्जा गरिरहेको छ ।
वाईवाईसँग प्रतिस्प्रधा गर्न थुप्रै चाउचाउ आए र हराए पनि । तर नेपालको हिमाल, पहाड, तराईं सबैतिरका उपभोक्ताको जिब्रोबाट भने यसको स्वाद कहिल्यै हराएन ।
स्वाद र लागतको हिसाबले पनि वाईवाई उपभोक्तामाझ लोकप्रिय ब्राण्ड बनेको हो । बजारमा विभिन्न स्स्वाद र फ्लेबरमा उपलब्ध वाईवाई पकाएर, सुप बनाएर, चापटे बनाएर, साँधेर वा काँचै पनि खाजाको रुपमा खान मिल्छ ।
त्यसैले पनि उपभोक्तामाझ मल्टिनेशनल ब्राण्डका रुपमा यो उद्योग टिकिरहेको सिजी फुड्सका सिइओ पुडासैनीको भनाइ छ । नेपालमा बर्दिया, नवलपरासी, काठमाडौं र सुनसरी गरी ४ ठाउँबाट वाईवाई ब्राण्डका चाउचाउ, चिजबल, चिप्स, कुरकुरे चकलेट, जुस, पास्ता, भुजिया, सुपजस्ता स्न्याक्स (नास्ताका परिकार)हरु उत्पादन हुँदै आएका छन् ।

नेपालमा मात्रै नभई वाईवाईले विश्व बजारमा पनि आफ्नो पहिचान स्थापित गरेको छ । स्वदेशीदेखि विदेशी उपभोक्ता माझ आफ्नो प्रभूत्व जमाउँदै आएको वाईवाईका लागि भारत दोस्रो बजार हो । भारतमा असामदेखि रुद्रपुर र विहारसम्म एक दर्जन वाइवाइका प्लान्टहरू फैलिएका छन् ।

यति मात्र नभएर सर्बिया, बङ्लादेश, काजकिस्तानबाट पनि वाईवाई चाउचाउको उत्पादन भइरहेको छ । इजिप्ट (मीश्र)मा समेत यसको सम्भाव्यता अध्ययन पुरा भई पूर्वाधार निमार्ण कार्य भइरहेको कम्पनीले जनाएको छ ।
सन् २०२८ सम्म यस उद्योगले भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने, उच्च सम्भावना भएका थप ९ देशमा उद्योग स्थापना गर्ने र ग्लोवल मार्केटमा ५ अर्ब प्याकेट चउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य अघि सारेको छ ।
त्यस्तै यस ब्राण्डले समस्त विश्व बजारमा चाउचाउ खपतको ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य अघि सारेको छ । विश्व बजारमा वाईवाईको बिक्री वार्षिक २० प्रतिशत दरले बढिरहेको कम्पनीले जनाएको छ ।