२९औँ राष्ट्रिय चिया दिवसः निर्यातसँगै बढ्यो रोजगारी

काठमाडाैं । २९ औँ संस्करणको ‘राष्ट्रिय चिया दिवस’ वैशाख १५ गते अर्थात आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता लगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
बोर्डले आज पुल्चोकको हरिहरभवनमा नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले चिया प्रदर्शनी समेत गर्न लागेको छ ।
पछिल्ला केहि महिनायता मुलुकबाट समग्र वस्तुको निर्यात बढिरहेका बेला चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको चिया निर्यात भएको छ।
साउनदेखि चैत मसान्तसम्म तीन अर्ब ५७ करोड ३१ लाख रुपियाँ बराबरको एक लाख ६४ हजार ८५२ केजी चिया निर्यात भएको हो । गत वर्षको तुलानामा यस वर्ष एक अर्ब रुपियाँ बराबरको ३४ हजार किलो चिया बढी निर्यात भएको छ ।
गत वर्षकाे यस अवधिमा दुई अर्ब ५४ करोड १८ लाख ६० हजार रुपियाँ बराबरको एक लाख ३० हजार ५१६ केजी निर्यात भएको थियो ।
२०८०/८१ मा मुलुकभर २० हजार ७६० हेक्टर जमिनमा दुई करोड ७० लाख केजी चिया उत्पादन भएको बाेर्डले जानकारी दिएकाे छ ।
बाेर्डकाे तथ्यांक अनुसार नेपालमा १५ हजार २०३ जना चिया कृषक, १७१ वटा टी स्टेट र साना मझौला १२० वटा चिया प्रशोधन केन्द्रमार्फत ६० हजार जनाले रोजगारी पाएका छन् ।