महानगर प्रहरी बलको क्षमता विकास, १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

काठमाडौं । नगर प्रहरीहरुका लागि सञ्चालन गरिएको ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम आज समापन भएको छ ।
काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवानलाई प्रदान गरिएको तालिम राष्ट्रिय सभा गृहमा औपचारिक समारोहसहित समापन गरिएको हो । २०८१ फागुन १८ गतेदेखि सुरु भएको तालिम ३ समूहमा सञ्चालन गरिएको थियो । हरेक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो ।
तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछि सवारी चालक, सवारी यात्रु र पैदल यात्रुले सहजता महसुस गर्नुहुनेछ’ घिमिरेले भने, ‘यसबाट तालिमको नतिजा पुष्टि हुन्छ ।’
ट्राफिक प्रहरीलाई सवारी आवागमनको मात्र दायित्व छ । नगर प्रहरीलाई सहरी व्यवस्थापनको दायित्व दिइएको छ । यसकारण नगर प्रहरीबाट थप प्रभावकारी नतिजा प्राप्त गर्न सकिने घिमिरेले बताए ।
त्यसक्रममा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षताा बढाउँदै लगिएको बताए । ‘ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न दक्षता बढेको छ ।’ पाण्डेले भने ।
तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक विषयसँग सम्बन्धित थिए । यस्तै वाह्य कक्षाहरु प्रयोगात्मक, शारीरिक व्यायाम, प्राथमिक कवाज, टोली कवाज, ट्राफिक सिग्नल कवाजलगायत सिप सिकाइएको तालिमका संयोजक प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले तालिम प्रतिवेदनमार्फत जानकारी दिए ।
सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिएको छ । सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिएको थियो ।

नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि आधारभूत तालिम, विपद व्यवस्थापन तालिम, ट्राफिक व्यवस्थापन तालिमसहितका क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सहरी व्यवस्थापनका कामसँगै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा गर्ने दायित्व नगर प्रहरी बलले निर्वाह गरिरहेको छ ।
नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । विद्यमान महानगर प्रहरी बल संविधान जारी हुनुअघिदेखि नै अर्थात् २०५० साल भदौ १४ गते नगर प्रहरी सेवाका रुपमा स्थापना भएको संरचना हो । नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी ग¥यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ ।
महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ ।