महानगरको ’इविपिएस’ प्रणाली लागू : अब अनलाइनमै नक्सा स्वीकृति, कर तिर्ने र प्रमाणपत्र लिने सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका भवन नक्सा स्वीकृति, निर्माण सम्पन्न, कर दाखिला अनलाइन प्रणालीबाट नै हुने भएको छ ।
भवनको नक्सा स्वीकृत गर्ने, राजस्व तिर्ने, निर्माण भएपछि सम्पन्नताको प्रमाण पत्र लिने प्रक्रिया अनलाइन प्रणालीमा आधारित भएको महानगरले जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै सहरी व्यवस्थापन विभागले यस प्रक्रियामा द्विविधा तथा अन्यौल भए, कुरा नबुझे वा गुनासो भए विभागीय प्रमुखको मोवाइल नम्बरमा सम्पर्क सकिने व्यवस्था भएको जनाएको छ।
सूचनामा भनिएको छ, ‘अनधिकृत व्यक्तिसँग लिइने सूचना, आंशिक सूचनाले सेवाग्राहीमा अन्योलता सिर्जना हुन सक्छ । यसर्थ विभागबाट प्रदान गरिने कुनै पनि प्रकारका सेवामा द्विविधा भए विभागका प्रमुख डि. इ. हरिश्चन्द्र लामिछानेको मोवाइल नम्बर ९८५१०५२०७३ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’
भवन नक्सा स्वीकृत गर्न महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्रणाली इविपिएस हो । भवन नक्सा प्रक्रियालाई व्यवस्थित गर्न ५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा स्वीकृत (डिपिसीसम्मको) नक्सा वडाबाटै स्वीकृत हुन्छ । भवनको माथिल्लो भागको स्वीकृति केन्द्रबाट हुन्छ । १० हजार वर्गफुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम हुने गरेको छ ।
के हो इविपिएस ?
इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबिपिएस) भवन नक्सा स्वीकृत गर्ने, निर्माण सम्पन्न लिने, भवन नक्सासँग सम्बन्धित दस्तुरलाई अनलाइनबाटै तिर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । काठमाडौँ महानगरपालिकाभित्र भवन निर्माण गराउनु परेमा नक्सा स्वीकृत गर्नका लागि यो प्रणाली प्रयोग गर्न सकिन्छ । यसमा सबैभन्दा पहिले डिजाइनरलाई युजर नेम र पासवर्ड दिइन्छ ।
पेजमा राखिएको फोन नम्बरमा नक्सा स्वीकृत लगायतका महत्वपूर्ण प्रक्रियाका बारेमा एसएमएस पनि आउँछ । यस्तै आफ्नो फाइल कसको डेक्समा छ । अनलाइन ट्र्याकिङ् गर्न पनि सकिन्छ ।
प्रणाली सञ्चालन गर्ने विधि
कार्यालयले उपलब्ध गराएको युजर नेम र पासवर्ड भरिसकेपछि व्यक्तिगत विवरण भर्ने पेजमा पुगिन्छ । यस पेजमा जग्गाको विवरण अर्थात् लालपुर्जा, घरको नक्सा, नापी नक्सा सम्बन्धी विवरण भर्नु पर्छ । त्यस्तै वाइलज र विल्डिङ् कोड सम्बन्धी विवरण तथा व्यवस्था पनि यसै पेजमा भर्नु पर्दछ ।
विवरण भरिसकेपछि यो फर्म घर नक्सा डिजाइनरले महानगरको रजिष्ट्रेसन डेक्समा सेन्ड गर्छ । रजिष्ट्रेसन डेक्सले फारम भरेको वा अपलोड गरिएका कागजात मिले नमिलेको जाँच गर्छ । नमिलेको भए कमेन्टसहित डिजाइनरलाई सच्याउन फिर्ता पठाउँछ भने विवरण सही भए टेक्निकल डेक्स वानमा पठाउँछ । जहाँ विल्डिङ् वाइलजको परीक्षण हुन्छ ।
टेक्निकल डेक्स वानमा विवरण ठिक भए त्यसलाई टेक्निकल डेक्स टुमा पठाइन्छ जहाँ विल्डिङ कोडका पक्षबाट कागजपत्र जाँच गरिन्छ ।
डिजाइनरले विवरण भर्दा विल्डिङ् कोड र विल्डिङ् वाइलज विपरीत भरेको भए सफ्टवेयरले गलत डिजाइनमा रातो अर्थात् फल्टी डाटा देखाउँछ ।
यी दुवै प्राविधिक पक्षबाट नक्सा पास प्रक्रिया अघि बढेपछि एक्ज्युकेटिभ वानकोमा फाइल पुग्छ । त्यहाँ विवरणको ओभरअल विश्लेषण गरिन्छ । त्यहाँबाट पास भइसकेपछि भवन दस्तुर तिर्ने चरणमा पुगिन्छ । दस्तुर पनि अनलाइन प्रणालीबाटै तिर्न सकिन्छ ।
रेभिन्यु डेक्स्टबाट फाइल वडा कार्यालयमा जान्छ । वडाले साँध सँधियारसँगको सम्बन्ध वुझ्न १५ दिने सूचना प्रकाशित गर्छ । १६ औं दिनमा सर्जमिन गरी मुचुल्का तयार गर्छ । त्यसपछि बस्तुगत स्थितिमा सर्जमिन तथा मुचुल्काको विवरणसहितको डाटा महानगरको केन्द्रमा रहेको एक्ज्युकेटिभ डेक्समा पठाउँछ ।
यसरी भवन निर्माणकालागि आवश्यक पर्ने मापदण्डलाई सफ्टवेयरमार्फत विश्लेषण गरी स्वीकृति प्रदान गरिन्छ । यस प्रणालीमा मानवीय त्रुटि हुने वा अनधिकृत लेनदेनको सम्भावना रहँदैन ।