राष्ट्रिय वाणिज्य बैंकको साढे दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको साढे दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले गत आइतबार (बैशाख ७ गते) बाट ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैंयाको ऋणपत्र –‘७ प्रतिशत आरबिबिएल ऋणपत्र २०८८’ निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा छिटोमा बैशाख १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो । सोही ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्