सेयर मूल्य घटाएर संख्या बढाएपछि नेपाल लाइफमा सबैको पहुँच हुन्छः कामु सीइओ प्रसाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू हुने छ । साधारण सभामा आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन् ।
त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, बार्षिक साधारण सभामा कम्पनीको प्रति शेयर मूल्य १ सय रुपैयाँबाट घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पेश हुँदै छ । यस प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुने छ । यस्तो अवस्थालाई सेयर स्प्लिट भनिन्छ ।
कम्पनी ऐनको दफा ५६ ले स्टक स्प्लिट (सेयर विभाजन) गर्न सक्ने पनि स्पष्ट व्यवस्था गरेको छ । दफा को (१) मा नियमावलीमा गरिएको व्यवस्थाको अधिनमा रही साधारणसभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले देहाय बमोजिम आफ्नो सेयर पुँजी हेरफेर गर्न सक्नेछ ।
३ उप बुँदामध्येको उपदफा १ (ख) ले कम्पनीको सबै वा केही शेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरेर भनिएको छ । यसको अर्थ आवश्यकताअनुसार कुनै पनि पब्लिक कम्पनीले जारी सेयरको अंकित मूल्य बढाउन वा घटाउन सेयर विभाजन (स्टक स्प्लिट) वा एकीकृत (रिभर्स स्टक स्प्लिट) गर्न सक्ने छ ।
.jpg)
यस्तो व्यवस्थामा प्रतिसेयर अंकित मूल्य आधाले घट्दा सेयर संख्या भने दोब्बर हुन्छ । जस्तैः यदि नेपाल लाइफको १०० कित्ता सेयर छ भने यो व्यवस्था कार्यान्वयनमा आएपछि तपाईको सेयर संख्या बढेर २०० कित्ता पुग्छ । सम्पत्तिमा भने कुनै प्रभाव पार्दैन । अर्थात १०० कित्ता सेयर हुनेको संख्या बढेर २०० कित्ता पुगे पनि कुल सम्पत्ति भने यथावत रहन्छ ।
हाल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो बजार मूल्य २८४९ रुपैयाँ छ । प्रति सेयरमूल्य २८४९ रुपैयाँकै दरले हिसाब गर्दा पनि १०० कित्ता हुनेको कुल सम्पत्ति रु. २ लाख ८४ हजार ९ सय हुन्छ । यदि सेयर स्प्लिट भयो भने कित्ता २०० पुगे पनि कुल सम्पत्ति भने रु. २ लाख ८४ हजार ९ सय हुन्छ । अर्थात दोश्रो बजारमा सेयर मूल्य समेत नेप्सेले समायोजन गरी आधा कायम गर्छ । रु. २८४९ को मूल्य घटेर प्रतिकित्ता रु. १४२४.५ रुपैयाँ कायम हुन्छ ।
यस्तो भन्छन्, नेपाल लाइफ इन्स्योरेन्सका कामु सीइओ सन्तोस प्रसाई
१०० सय रुपैयाँको सेयरलाई ५० रुपैयाँ गर्ने हो । यो व्यवस्थाले सबैको पहुँचमा पुग्छ । एउटा सेयरलाई दुइवटा बनाएको हो । कम्पनी एक्टमा ५० भन्दा तल पुर्याउने भन्ने छैन । अझै १० पुर्याएको भए ठिक हुन्थ्यो । सबैलाई सेयर एक्सेसबल हुन्छ । त्यसको आफ्नै प्रक्रिया छन् । बार्षिक साधारण सभा, बीमा समिति, कम्पनी रजिष्ट्रारबाट स्वीकृत भएपछि त्यो लागू हुन्छ । बोनस सेयर एजिएमबाटै पाउछँन् । स्प्लिट गर्ने चाँही एजिएमबाट एजेण्डा बन्छ । अहिले बोर्डको मात्रै एजेण्डा हो । एजिएमबाट एजेण्डा बनेपछि बीमा समिति जान्छ । स्प्लिट हुने भनेको एजिएम भैसकेपछिको कुरा हो ।
हाल नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो बजारमा ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सेयर सूचीकृत छ । यदि पेडअप भ्यालू १०० रुपैयाँबाट घटेर ५० रुपैयाँ कायम भए सेयर संख्या बढेर १० करोड ९९ लाख २३ हजार २१६ कायम हुनेछ ।