भारतीय सेयर बजार इतिहासकै उच्च, पाकिस्तानमा पनि कीर्तिमानी छलाङ, अधिकतर बजार बढ्दा नेपालमा किन ‘रातो’ ?

काठमाडौं । सोमबार छिमेकी भारत र पाकिस्तानका सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । सोमबार भारतीय सेयर बजार इतिहासकै नयाँ उचाइमा पुगेको छ भने पाकिस्तानमा पनि कहिल्यै नदेखिएको अस्वभाविक बृद्धि सोमबारै देखिएको छ ।
भारतको बम्बे स्टक एक्सचेञ्जको सूचक सेन्सेक्स सोमबार ६५ हजार २ सय ५ अंकमा पुगेर बन्द भएको छ । इन्ट्रा–डे ब्यापारमा यो सूचक ६५ हजार ३ सय अंक नाघेको थियो । भारतीय सेयर बजारको इतिहासमै यी दुई अंकहरु कीर्तिमानी स्तर हुन् । यसअघि उक्त विन्दुसम्म बजार कहिल्यै पुगेको थिएन ।
भारतकै अर्को बेञ्चमार्क सूचक निफ्टी फिफ्टी पनि १९ हजार ३ सय २२ अंकको कीर्तिमानी उचाईमा रोकिएको छ । सोमबारको इन्ट्राडे ब्यापारमा निफ्टीले पनि १९ हजार ३ सय ४५ अंकको ऐतिहासिक उचाइ चुमेको थियो ।
पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिमा कम्पनीहरुलाई भारतमा आकर्षित गर्न खोजिरहेका छन् । उनको हालै सम्पन्न राजकीय अमेरिका भ्रमणमा पनि यस्ता प्रयासहरु भएका थिए । अहिले एपलदेखि टेस्लासम्म ठूला अमेरिकी कम्पनीहरु भारतमा आउन खोजिरहेका छन् ।
अहिलेकाले भारतमा हवाइ इञ्जिनदेखि अनेकौं अत्याधुनिक प्रविधी हस्तान्तरण गर्ने सम्झौताहरु मोदीको अमेरिका भ्रमणका दौरान भएका थिए । अहिले पनि रुसबाट कच्चा तेल ल्याएर भारतले युरोपेली बजारमा बेचिरहेको छ । यस्तो मध्येस्तकर्ताको भूमिकाबाट भारतले ठूलो आर्थिक लाभ पाइरहेको छ । भारत सरकारले आफूलाई ‘नयाँ चीन’ अर्थात् चीनको विशाल कारखानाको विकल्पको रुपमा तयार पार्न खोजिरहेको छ ।
भारतको उदाउँदो संभावना देखेर नै अहिले संसारभरका ठूला कम्पनीहरु त्यहाँ लगानी गर्न उत्साहित बनेका छन् । यस्ता गतिविधीले सेयर बजारमा पनि विदेशी लगानीको आप्रवाह ह्वात्तै बढेको छ । भारतीय अर्थतन्त्र अहिलेको विश्वब्यापी मन्दीबाट निकै कममात्र प्रभावित हुने आँकलन गरिएको छ ।
आर्थिक तथ्यांकहरु सुदृढ रहनु र विश्वब्यापी रुपमा आशाको सञ्चार हुनुले धेरै लगानीकर्ताका लागि भारत नयाँ ‘आशाको बजार’ बनिरहेको छ । यो छबि कति लामो समयसम्म कायम राख्न त्यहाँको सरकार सबल होला भने निश्चय छैन, तर तत्कालका लागि भने सेयर बजार बढाउन यस्ता गतिविधीले ठूलै मद्दत गरेका छन् ।
फलस्वरुप भारतीय सेयर बजारले विगतमा कहिल्यै नभेट्टाएको उचाइ चुम्न पाएको छ । भारतमा रिलायन्स इन्डस्ट्रिज, आईटीसी र एचडीएफसी जस्ता सेयरहरु सोमबार अत्यधिक महँगिएका छन् । यससँगै बजाज फाइनान्स, स्टेट बैंक अफ इन्डिया, एचडीएफसी, अल्ट्राटेक सिमेन्ट, एनटीपीसी, एचडीएफसी बैंक, महिन्द्रा एण्ड महिन्द्रा, टाटा स्टील, बजाज फिनसर्भ र आईसीआईसीआई बैंकको सेयर पनि महँगिएका छन् ।

यसको विपरित, पावर ग्रिड, मारुती, लार्सन एण्ड टुब्रो, टाटा कन्सल्टेन्सी सर्भिसेज, टेक महिन्द्रा, नेस्ले र टाटा मोटर्सका सेयरहरु सस्तिएका छन् ।
गत शुक्रबारमात्रै भारतीय बजारमा विदेशी संस्थागत लगानीकर्ताहरुले करीब ६४ अर्ब रुपये बराबरको सेयर (इक्विटी) खरीद गरेको समाचारहरुमा उल्लेख छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढेको भए पनि भारतले जीएसटी भनिने वस्तु तथा सेवाको कर १२ प्रतिशत बढाउन सफल भएको विवरणहरु आएका छन् ।
विश्वब्यापी आर्थिक मन्दीका खबरहरु आइरहे पनि त्यस्ता त्रासदीबाट मानिसहरु विस्तारै ढुक्क हुन थालेको पनि कतिपय विश्लेषकको बुझाई छ । यस्ता कुराले सेयर बजार उकास्न मद्दत मिलेको थियो ।
नेपालको अर्को छिमेकी पाकिस्तानमा पनि सोमबार प्रमुख सेयर बजार सूचकले कीर्तिमानी फड्को मार्यो । सोमबार एकै दिन २४ सय ४२ अंक बढेर त्यहाँको सेयर सूचक ४३ हजार ८ सय ९५ अंकमा पुगेको छ । एकै दिनमा भएको यो बृद्धि पाकिस्तानी सेयर बजारको इतिहासकै सबैभन्दा उच्च हो । प्रतिशतका हिसाबले पनि यो बृद्धि १५ वर्ष (सन् २००८ जुन २४) यताकै उच्च हो ।

पाकिस्तानले गत शुक्रबारमात्रै अन्तरराष्ट्रिय मुद्रा कोषसँग ९ महिनाका लागि ३ अर्ब अमेरिकी डलरको उद्धार सहायता लिने सम्झौता गरेको थियो । उक्त सम्झौताले लगानीकर्ता हौसिएपछि सेयर बजारमा उछाल आएको हो । विदेशी मुद्राको अभावमा अनेकौं प्रतिबन्धहरु लगाइरहेको पाकिस्तान उक्त सहायताबाट सामान्य हालतमा फर्कने कोसिस गर्न सक्छ ।
पाकिस्तानको केन्द्रिय बैंकले गएको जेठ मसान्तसम्म ८ अर्ब ८६ करोड अमेरिकी डलर तरल विदेशी विनिमय सञ्चिति रहेको बताएको थियो । यो भनेको गत वैशाख मसान्तसम्म नेपालसँग भएको कुल परिवत्र्य विदेशी विनिमयभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार गत वैशाख अन्तिमसम्म नेपालसँग केवल ८ अर्ब ६७ करोड ४१ लाख डलर परिवत्र्य विदेशी विनियम थियो । तर पाकिस्तानी अर्थतन्त्र हाम्रोभन्दा करीब १० गुणा ठूलो छ भने नेपालभन्दा झण्डै ८ गुणा बढी जनसंख्या छ ।

हाम्रोजस्तो आयातमा अति निर्भर नभए पनि पाकिस्तानका लागी यो विदेशी मुद्राको भण्डार पर्याप्त थिएन । उसले ठूलो ऋण तिर्नुपर्ने बाध्यतालाई यो भण्डारले थेग्ने अवस्था थिएन । थप ३ अर्ब डलर प्राप्त गरे पछि पाकिस्तानलाई अतिरिक्त एक तिहाई विदेशी विनिमयको सीमा हासिल हुन्छ । त्यसले धेरै लगानीकर्तालाई उत्साहित बनाएको छ । सोही कारण नीतिगत ब्याजदर नै २२ प्रतिशत पुगिसकेको पाकिस्तानमा सेयर बजारले यो स्तरको उछाल मारेको छ ।
यद्यपि, दैनिक बृद्धिमा इतिहासकै लामो फड्को मारे पनि यो विन्दु त्यहाँको कीर्तिमानी उचाई भने होइन । पाकिस्तानी सेयर बजारले सन् २०१७ को मे २५ मा ५३ हजार १२४ अंकमा ऐतिहासिक उचाइ बनाएको थियो, जुन अहिलेसम्म तोडिएको छैन ।
सोमबार भारत र पाकिस्तानमात्र होइन, प्रमुख एशियाली बजारहरू, सियोल, टोकियो, सांघाई र हङकङको बजार पनि बढेर बन्द भएका छन् । युरोपको शेयर बजार सकारात्मक देखिएको छ । गत शुक्रबार रातिको व्यापारमा अमेरिकी बजारहरू उल्लेखनीय रूपमा चुलिएका थिए ।
तर दुर्भाग्य, यही बेला नेपाली सेयर बजार भने ओरालो यात्रामा देखिएको छ । पछिल्ला तीन दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ सय ११ अंक घटेको छ । तै पनि ‘सास छउन्जेलको आश’ भनेजस्तै चौतर्फी सेयर बजार उकालो लागेका खबरले मंगलबारबाट नेपाली बजारलाई पनि उकालो यात्रामा धकेल्नसक्ने अनुमान भने भइरहेका छन् ।