सेयर र घरजग्गा कर्जाको जोखिम भार घट्यो, बढ्ला त अव लगानी ? « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

सेयर र घरजग्गा कर्जाको जोखिम भार घट्यो, बढ्ला त अव लगानी ?



काठमाडौं । केन्द्रिय बैंकले सेयर बजार र घरजग्गा कारोबारलाई गतिशील बनाउने गरी मौद्रिक नीतिमा संशोधन गरेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार’ १२५ प्रतिशतमा झारेको हो ।

यसअघि यस्तो जोखिम भार १५० प्रतिशत थियो । यो सालको मौद्रिक नीतिले साना आकारका सेयर कर्जा र घरजग्गा कर्जाको जोखिमभार घटाए पनि त्यसले बजारमा तात्विक असर पारेको थिएन । ठूला ऋणीका लागि कर्जा महँगो पर्ने भए पछि उनीहरुले राष्ट्र बैंकको आलोचना गरिरहेका थिए ।

यसको असर सेयरको दोस्रो बजार पनि उकालो लाग्न सकेन भने घरजग्गा कारोबार पनि अपेक्षाकृत रुपमा बढ्न सकेको थिए । व्यवसायीहरुले यस जोखिम भारलाई शतप्रतिशतमा झार्न माग गरिरहेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि ब्यापारीहरुसँगको छलफलपछि जोखिम भार अनुपातलाई १०० प्रतिशत वा त्यसको नजिक झार्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए ।

केन्द्रिय बैंकले २५ प्रतिशत विन्दुले जोखिमभार घटाएर मध्येमार्गी बाटो रोजेको छ । अब सेयर बजारमा २० करोडसम्म ऋण लिएर लगानी गर्ने लगानीकर्ताका लागि पनि जोखिम भार १२५ प्रतिशत भए पुग्ने भएको छ । यसको असर आइतबारदेखि सेयर बजारमा देखिन सक्ने संभावना छ ।


प्रतिक्रिया दिनुहोस्