राजनीतिको छत्रछायाँमा रुमल्लिएको सेयर बजार, बनाउँला त ऐतिहासिक कीर्तिमान ?

काठमाडौँ । पछिल्लो समय सेयर बजारले उकालो यात्रामा पाइला चालेको देखिएको छ । संसदको सबैभन्दा ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा सरकार बनेसँगै सेयर बजारले यस्तो गति लिएको हो ।
नेपाली सेयर बजारमा आइतबार कारोबार रकमले ऐतिहासिक कीर्तिमान बनाएको छ । डेढ महिनामा अघिसम्म दैनिक ३–४ अर्बको मात्र कारोबार हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अहिले २५ अर्बभन्दा बढीको कारोबार हुन थालेको छ । आज बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भयो । यो नेपाली पुँजी बजारको इतिहासमा सबैभन्दा बढी हो ।
नयाँ सत्ता समीकरण बनेसँगै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल गत असार २८ गते पदमुक्त भएका थिए । उनी नेतृत्वको सरकार संकटमा परेसँगै उकालो लाग्न थालेको बजार करीब डेढ महिनामा ४०.५ प्रतिशत अर्थात् ८२४ अंक बढिसकेको छ ।
असार १६ गते २ हजार ३७ अंकमा रोकिएको नेप्से आइतबार २८६१ अंक पुगेको छ । यो अवधिमा कुल बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँबाट बढेर ४५ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । छोटो समयमै सेयर लगानीकर्ताको कुल सम्पत्ती १३ खर्ब १० अर्ब ८१ करोड ५५ लख रुपैयाँभन्दा धेरै बढिसकेको छ ।
सेयर बजार लगातार बढेसँगै लगानीकर्ताहरू उत्साहित भएका छन् । बजारमा सक्रीय लगानीकर्ताको हाबी हुन थालेको छ । फलस्वरूप बजारमा डेढ महिनाको अन्तरालमा करीब २२ अर्बभन्दा बढी लगानी थपिएको छ ।
राजनीतिक अन्यौल, कसिलो मौद्रिक नीति र नेतृत्वप्रतिको अविश्वासले उथलपुथल बनेको सेयर बजार दुई ठूला राजनीतिक दलको नेतृत्वमा सरकार बनेसँगै लयमा फर्किएको छ । यसले स्थीर प्रकृतिको सरकार आउनु मात्रै पनि लगानीकर्ताको मनोबल बलियो बनाउन कति महत्वपूर्ण हुन्छ भन्ने दृष्टान्त देखिन्छ ।
त्यसमाथि अर्थमन्त्री बिष्णु पौडेललाई लगानीकर्ताले सकारात्मक रूपमा लिने गरेका छन् । यसअघि पनि उनकै पालामा सेयर बजारले ‘बुल’ यात्रा समाएको थियो । यो कार्यकालमा पनि बजारले ऐतिहासिक रेकर्ड बनाउनेमा लगानीकर्ताहरू विश्वस्त देखिन्छन् ।
त्यसो हुँदा पनि बजारमा लगानीको ओइरो लागेको देखिन्छ । लामो समयदेखि बजार घटेर ‘प्यानिक’ बनेका लगानीकर्ताको मनोबल बढेसँगै बजारले लय समाएको जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकको लचिलो मौद्रिक नीति, सेयर बजारले रुचाएका अर्थमन्त्री र लगानीकर्तामा बढ्दो मनोबल नै बजार बढ्नुको कारण रहेको बजारका विश्लेषकहरू बताउँछन् । बैंकहरुमा थुप्रिएको लगानीयोग्य रकम र वित्तीय मध्येस्थता लागत अर्थात् बैंकको ब्याजमा देखिएको निरन्तरको कमीले पनि उनीहरुलाई सेयर बजारमा लगानी बढाउन मद्दत दिएको छ ।
सेयर बजार लगातार उकालो लागेसँगै दुईतिर विभाजित अभिव्यक्ति आउन थालेका छन् । संसदमै सेयर बजार लक्षित अभिव्यक्ति आउन थालेका छन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही कम्पनीको नाम नै किटान गरेर अस्वाभाविक मूल्य बढेको टिप्पणी गरे ।
उनले नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको नाम लिँदै यी कम्पनीमा कर्नरिङ गराइ केही व्यक्तिले मूल्य अस्वाभाविक बढाएको आरोप लगाए ।
ब्रोकर र केही लगानीकर्ताको मिलेमतोमा अस्वाभाविक बढेको टिप्पणी गर्दै कृत्रिम बजार बनाएर आमजनतालाई ठग्ने काम भइरहेको भन्दै काराबाहीका लागि छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराए ।
पूर्व अर्थमन्त्रीसमेत रहेका प्रमुख सत्ता घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि सेयर बजारको तीव्र बृद्धिमाथि साधारण लगानीकर्तालाई सजग गराउन खोजेका छन् । उनले कम्पनीको नाम किटान नगरे पनि केही संस्थाको व्यापार विस्तार तथा नाफा नबढिकनै बजार मूल्य दोब्बर, तेब्बर भएको भन्दै नियामक र सरकारको ध्यानाकर्षण गराएका थिए ।
सेयर बजार लक्षित दुई सांसदको प्रतिक्रियापछि केही लगानीकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोख्न भ्याए । त्यसपछि पूर्वअर्थमन्त्रीले भने आफ्नो भनाइ सच्याए । आफ्नो टिप्पणीलाई गलत अर्थ्याउन खोजेको उनले बताए ।
सेयर बजारप्रतिको प्रतिक्रिया दुई सांसदमै सीमित रहेन । संसदको अर्थ समितिका सदस्य रहेका एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले केही कम्पनीको नामै तोकेर सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको अभिव्यक्ति दिए ।
उनले इन्साइडर ट्रेडिङकै कारण बजार अस्वभाविक रुपमा उचालिएको समेत दाबी गरे । चन्द्रागिरी हिल्स, दिव्यश्वरी हाइड्रोपावर, आँखुखोला जलविद्युत लगायतका कम्पनीहरुको मूल्य अस्वाभाविक बढेको भन्दै बजारलाई सन्तुलित र विश्वसनीय बनाउनतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए ।
‘बजारमा बुक भ्यालू, नेटवर्थ धेरै नै कम हुँदा हुँदै पनि सेयर मूल्य किन बढ्यो ? वास्तविक मूल्य एउटा हुने र दोस्रो बजारमा सेयरको मूल्य किन फरक पर्न गयो ? यसलाई धितोपत्र बोर्डले हेर्नैपर्छ’, उनले भने, ‘चन्द्रागिरि हिल्स, दिव्यश्वरी हाइड्रो, आँखुखोला लगायत कमजोर भ्यालू भएका कम्पनीको सेयरमूल्य किन धेरै छ ? बजारलाई सन्तुलित र विश्वसनीय बनाउने तर्फ सबै सरोकारवालाले ध्यान देओस् ।’
यसअघि माओबादी नेताहरुले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर सेयर बजारमा एकोहोरिनु साम्राज्यवादको विकसित रूप भएको प्रतिक्रिया दिएका थिए । डा. बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवाघर’को संज्ञा दिएपछि नेप्सेले असाधारण गिरावटको सामना गरेको थियो ।
पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडा पनि पूँजी बजारलाई पूँजी निर्माण र रोजगारी सिर्जनामा उपयोग गर्नु पर्ने, तर दोस्रो बजारको सट्टेबाजीमा केन्द्रित हुन दिनु नहुने तर्क गर्छन् । भलै यस पल्ट संस्थागत लगानीकर्ताहरुका लागि राष्ट्र बैंकले लगाएको २० करोडको सीमा खारेज गर्नमा डा. खतिवडाको ठूलै भूमिका देखिएको छ ।
बजार बढ्दा नियामक र राजनीतिक नेतृत्व तहबाट यस्ता प्रहार हुने गरेको भन्दै लगानीकर्ताहरू भने बारम्बार गुनासो गरिरहेका हुन्छन् । बढ्दो बजारको गुलियो चाटिरहेका बेला लगानीकर्ताहरु पनि संसारमा कुनै सट्टेबाजी बजार अनवरत बृद्धि हुन सक्दैन भन्ने आधारभूत मर्म विर्सन पुगेको देखिन्छ ।
जे होस्, लामो समयदेखि बियरिस प्रबृत्तीमै रुमलिएको सेयर बजारलाई दिगो बृद्धिको बाटोमा फर्काउन र बजारको बजारको परिपक्क विकासमा सघाउन आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको भनेर अर्थमन्त्री पौडेलले लगानीकर्ताको विस्वास जित्न खोजेका छन् । सरकारले पुँजी बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अगाडि बढाउन चाहेको तर्क उनले सार्वजनिक रूपमा दिँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सेयर बजारप्रति सकारात्मक देखिन्छन् । उनले सेयर बजारलाई लिएर हल्का अभिव्यक्ति दिन नहुने बताए । संसदमा विश्वासको मत लिँदै गर्दा उनले सेयर बजारमात्र नभई अर्थतन्त्र नै ‘हरियो’ हुने दाबी गरेका थिए ।
प्रधानमन्त्रीले लगानीकर्ताको बढ्दो मनोबलका कारण राम्रो गति समातेको सेयर बजारको उत्साहलाई गिराउने खोज्ने प्रयास भए त्यसलाई परास्त गर्नुपर्ने बताएका छन् । उनले बजार परिसूचक यस अघिको कीर्तिमान तोडेर उकालो लागेमा लगानीकर्ता सँगै बसेर ‘केक काट्ने’ उद्घोष गरेको पनि ओली निकटस्थ स्रोतले बताएको छ ।
सेयर बजार अति संवेदनशील क्षेत्र हो । यसलाई हल्लाले पनि प्रभावित पारिरहेको हुन्छ । यसरी बेला बखत राजनीतिक बृत्तमा नेतैपिच्छे आउने भिन्न अभिव्यक्तिले बजारलाई तरंगित पारिरहेको छ । यसबाट भन्न सकिन्छ, ‘लामो समयदेखि नेपाली सेयर बजार राजनीतिज्ञको छत्रछायामा रुमल्लिइरहेको छ ।’
बजारका लागि सबैभन्दा महत्त्वपूर्ण भनेकै लगानीकर्ताको मनोबल हो । अहिले अधिकतर लगानीकर्ताहरु नेपाली सेयर बजार अब विगतको सबै ‘रेकर्ड’हरु तोड्न सक्रीय भएको विस्वास गर्छन् ।
प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरको तालमेल मिलेका कारण पनि बजारले गति लिएको उनीहरुमध्ये धेरैको विस्वास छ । यस पल्ट बजारको उकालो यात्राले निरन्तरता पाउनेमा लगानीकर्ताहरू विश्वस्त देखिन्छन् ।
भलै बढ्दो बजारमा केही फराकिला उतारचढाव देखिनसक्ने संभावनाहरु कायमै छन् । तथापि, अबको २ देखि ४ वर्षको अन्तरालमा सेयर बजारले नयाँ कीर्तिमानी उचाइ हासिल गर्नेमा अधिकांश लगानीकर्ता विस्वस्त छन् । उनीहरुको यो आशाले मूर्त रुप लिन्छ वा फेरि एक पटक धर्मराउँछ भनेर हेर्न बाँकी छ ।