‘ठूला’लाई पोस्न सानाको ‘बलि’, लगानीकर्ताको पैसामा ब्रोकरको हालीमुहाली

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार निरन्तर उकालो लागिरहेको छ । सेयर बजार बढेसँगै नयाँ र पुराना लगानीकर्ता प्रवेश हुने क्रम पनि बढेको छ । कारोबार रकमले समेत बारम्बार कीर्तिमानी उचाइ छिचोल्दै आएको छ ।
बजारमा दिन प्रतिदिन नयाँ लगानी भित्रिन थालेपछि नेप्से सूचक र कारोबार रकममा पनि भारी बृद्धि देखिन थालेको छ । सत्ता समीकरण परिवर्तनसँगै उकालो लागेको सेयर बजारले छोटो समयमै छलाङ मारेको हो ।
करीब डेढ महिनाको अवधिमा सेयर बजार सूचक नेप्से ८७० अंक बढिसकेको छ । अर्थात् यो अवधिमा सेयर बजार ४२.३८ प्रतिशतले बढिसकेको छ ।
लामो समयदेखि १८ सय र २२ सयको बीचमा ‘साइडवेज मुभमेन्ट’मा रोकिएको बजार एक्कासी उकालो लाग्न थालेपछि बजारमा उत्साह देखिएको हो । यससँगै बजारमा खरिदकर्ताहरू हाबी हुन थालेका छन् । बढेको बजारमा ‘प्रोफिट बुक’ गर्नेहरू पनि उत्तिकै सक्रिय देखिन्छन् ।
यतिबेला बजारमा ठूला लगानीकर्ताका साथै ब्रोकर कम्पनीहरूको दबदबा बढ्न थालेको छ । ब्रोकर कम्पनीहरूको ध्यान ठूला लगानीकर्तामा केन्द्रित हुँदा साना लगानीकर्ता भने मारमा परेका छन् । उनीहरूले सेयर बेचेको लामो समय बित्दासमेत पैसा पाउन सकेका छैनन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयर कारोबारको राफसाफमा ‘टी प्लस टु’ नीति लागू गरेको लामो समय भइसक्यो । सिडिएसीले २०७७ माघ ११ गते सेयर किनबेच गरेको २ दिनभित्र राफसाफ गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको थियो ।
तर व्यवहारमा भने लगानीकर्ताले यसको प्रभावकारिता अझै महसुस गर्न पाएका छैनन् । ब्रोकर कम्पनीहरुबाटै हुने ढिलाईका कारण पनि ‘टी प्लस टू’ व्यवहारिक रुपमा लागू हुन सकेको देखिँदैन ।
सिडिएसीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ६३ लाख ६० हजार नाघिसकेको छ । मेरो सेयर प्रयोगकर्ताको संख्या ५४ लाख १६ हजारभन्दा बढी भइसकेको छ ।
सेयरको दोस्रो बजारमा ३६ लाख ६० हजारभन्दा बढी लगानीकर्ता सक्रीय देखिन थालेका छन् । बजार बढेसँगै प्राथमिक बजारमा रहेका लगानीकर्ताहरू पनि ‘मौकामा चौका’ छोपेर दोस्रो बजार प्रवेश गरिरहेका छन् । तर तिनै लगानीकर्ताले सेयर बेचेको पैसा समयमै प्राप्त गर्न नसक्दा समस्या झेल्नु परिरहेको उनीहरु बताउँछन् ।
सेयर लगानीकर्ता कृष्णप्रसाद भण्डारीले सेयर बेचेको आठ दिनसम्म पनि पैसा नपाएको भनेर सामाजिक सञ्जाल फेसबूकमा गुनासो गरेका छन् । उनले लेखेका छन्, ‘मैले सेयर बेचेको आठ दिन भइसक्यो । ब्रोकरले न पैसा पठाउँछ । न फोन उठाउँछ । फोन उठाए पनि राम्रो जवाफ नै दिँदैनन् ।’
अर्की लगानीकर्ता सुनिता लिम्बुले सेयर बेचेको २ हप्तामा बल्लतल्ल पैसा प्राप्त गरेको उल्लेख गरेकी छिन् । यी दुवै लगानीकर्ताले कालिका सेक्युरिटीज (ब्रोकर नम्बर ४६) बाट सेयर कारोबार गर्दै आइरहेका छन् ।
श्रीकृष्ण पनेरूले पनि सेयर बेचेको पैसा एक हप्ता बित्दा पनि नपाएको गुनासो गरेका छन् । ब्रोकरले फोन नउठाउने समस्याबाट आफू आजित बनेको भनेर उनले दुखेसो पोखे । समीर पौडेलले पटकपटक फोन गरेपछि बल्ल ९ दिनमा भुक्तानी पाएको उल्लेख गरेका छन् ।
भर्खरै मात्र दोस्रोबजारमा प्रवेश गरेका लगानीकर्ता रामकुमार अधिकारीको पनि समस्या उस्तै छ । उनले सेयर बेचेको एक हप्तासम्म पैसा पाएनन् । पटक पटक फोन गर्दा ब्रोकर कार्यालयको फोन नउठेपछि कार्यालय नै पुगेर गुनासो पोखे । त्यसपछि मात्र पैसा आयो ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । धेरै लगानीकर्ताले सेयर बिक्री गरेको पैसा समयमै फिर्ता नपाएको गुनासो गर्ने गरेका छन् । समाजिक सञ्जालका पेजहरुमा धेरैले ब्रोकर कम्पनीहरुप्रति आक्रोश पोखिरहेका हुन्छन् ।
ब्रोकरले आफ्ना नजिकका मान्छे र ठूला लगानीकर्तालाई धितो राख्दिने, उधारोमा सेयर खरिद गर्न दिनेजस्ता आरोप लगानीकर्ताको छ । कतिपय लगानीकर्ताहरू त आफूहरूको पैसामा ब्रोकरले रजाइँ गरेको भन्दै आक्रोशित देखिन्छन् ।
यो समस्या नौलो भने होइन । लगानीकर्ताले वर्षौँदेखि यस्तै समस्या झेल्दै आइरहेका छन् । तर नियामक निकायले अनुगमन र कारबाही नगर्दा यो समस्या घट्नुको साटो झनै बढिरहेको छ ।
सेयर बजार बढ्दै जाँदा यस्तो समस्या झन् धेरै हुने गरेको छ ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारका अनुसार ब्रोकरले समयमै पैसा नपठाउने ‘रोग’ निकै पुरानो हो । उनी भन्छन्, ‘नियम अनुसार २ कार्यदिन पुरा हुनासाथ लगानीकर्ताले पैसा पाउनुपर्ने हो । तर ४÷५ दिनमा पनि नपाउने स्थिति छ । ढिलोमा पनि पाँच दिनभित्र भुक्तानी हुनपर्ने हो । तर त्योभन्दा बढी समय लागिरहेको अवस्था छ ।’
समयमै भुक्तानी नभएको खण्डमा प्रमाणसहित नेप्से, सिडिएसी अथवा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी दिन समेत उनी सुझाउँछन् । ‘धेरै कारोबार हुँदा सबैको ध्यान त्यतातिर हुन्छ । लगानीकर्ताले पनि ब्रोकरलाई २ दिनभित्र नदिएको अवस्था पनि हुन्छ । त्यसैले समयमै पैसा नआएको अवस्थामा सेबोन र नेप्सेमा लिखित गुनासो गर्नुको विकल्प छैन’, उनले भने ।
यता ब्रोकर कम्पनीहरू भने प्राविधिक समस्याका कारण समयमा भुक्तानी हुन नसकेको दाबी गर्छन् । ब्रोकर कम्पनीका सञ्चालकहरुमा नियतबस ग्राहकको रकम ढिला गर्ने मनसाय नहुने बताउँछन् ।
धेरै रकमको कारोबार हुँदा कतिपय अवस्थामा नभ्याइने, प्राविधिक समस्या हुने र ग्राहकको बैंक खाता नमिल्ने जस्ता ‘प्राविधिक समस्या’का कारण भुक्तानीमा ढिलाई हुने गरेको ब्रोकर कम्पनीहरू स्वीकार गर्छन् ।
ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएका गुनासोहरु धितोपत्र बोर्डमा बाक्लै आउने गरेको बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले बताए । कारोबारको आकार बढ्दै जाँदा यस्ता गुनासाहरू झनै बढ्ने गरेको पनि उनले सुनाए । यद्यपि यकिन तथ्यांक कति छ भन्नेबारे उनले खुलाएनन् ।
भुक्तानीमा ढिलाई अथवा अन्य कुनै समस्या भएमा धितोपत्र बोर्डको गुनासो इकाइमा लगानीकर्ताले आफ्ना समस्याहरु टिपाउन सक्ने व्यवस्था छ । [email protected] मा इमेल गरी वा हटलाइन नम्बर १६६००१४४४३३ मा गुनासो टिपाउन सकिने बोर्डले जनाएको छ ।