‘अघिअघि लाइसेन्स, पछिपछि मर्जर’, ब्रोकरले अब के गर्लान् ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थुप्रै नयाँ धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)लाई लाइसेन्स दिएको डेढ वर्ष बित्दानबित्दै उनीहरुबीच मर्जर (गाभ्ने/गाभिने) गराउने प्रक्रिया थालेको छ ।
सेबोनले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका बनाउन काम शुरु गरेको हो । उक्त निर्देशिका निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जानकारी दिएको छ । यसले ‘पहिले लाइसेन्स, त्यसपछि मर्जर’ भन्ने बीमा र लघुवित्त क्षेत्रकै अभ्यासलाई दोहोराएको छ ।
आगामी असार मसान्तसम्म तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने ब्रोकर कम्पनीहरुलाई मर्जरमा जान यो निर्देशिका उपयोगी हुने सेबोनको भनाइ छ । धितोपत्र व्यवसायी नियमावलीले ब्रोकर कम्पनीहरुको मर्जर सम्बन्धमा सेबोनले अलग्गै निर्देशिका बनाएर कार्यान्वयन गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर सेबोनका अधिकारीहरु निर्देशिका बनाउनमा जुटेका हुन् ।
सोही नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था उल्लेख छ ।
२०८० को सुरुआति महिनामा सेबोनले नयाँ लाइसेन्स लिएका ४२ वटा ब्रोकर कम्पनीको चुक्ता पूँजी नियमावलीले तोकेबमोजिम पुरा भएको छ । तर ५० वटा पुराना कम्पनीमध्ये जम्मा १२ वटाको मात्रै उक्त न्यूनतम चुक्ता पूँजी पुर्याउन सकेका छन्। बाँकी ३८ वटा ब्रोकर कम्पनीको पूँजी अहिले पनि अपुग रहेको सेबोनले जनाएको छ ।
तीनै ३८ वटा कम्पनीलाई पूँजी बृद्धि गर्ने योजना यथाशीघ्र पेस गर्न सेबोनले एक साताअघि (पुस ८ गते) पत्राचार गरेको थियो । उनीहरुमध्ये आफैँ पूँजी थप्ने कम्पनीहरुलाई त मर्जरको आवस्यकता परेन, तर कतिपय कम्पनीहरु ब्यापार प्रतिस्पर्धामा खरो रुपमा उत्रन नसकेका कारण पूँजी गप्ने स्थितिमा नरहन सक्छन् । त्यसैले उनीहरुलाई नियामकीय निर्देशनको पालना गर्न सहज होस् भनेर मर्जर नीति अघि सारिएको सेबोनका अधिकारी बताउँछन् ।
अहिले सञ्चालनमा रहेका नेपाल स्टक हाउस, अग्रवाल सेक्युरिटिज, श्री हरि सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, त्रिशूल सेक्युरिटिज, दीव्या सेक्युरिटिज, ओपल सेक्युरिटिज, कोहिनूर इन्भेष्टमेन्ट, एसियन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, श्वेता सेक्युरिटिज, सिप्रवि सेक्युरिटिज, अरुण सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, आशुतोष ब्रोकरेज, जेएफ सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज र मल्ल एण्ड मल्ल स्टकको चुक्ता पूँजी पुगेको छैन ।
त्यस्तै, थ्रिभ ब्रोकरेज, प्राइमो सेक्युरिटिज, एबीसी सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, सिप्ला सेक्युरिटिज, मिडास स्टक ब्रोकिङ, भृकुटी स्टक ब्रोकिङ, सेवा सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, सुन्धारा सेक्युरिटिज, क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज, नीभ सेक्युरिटिज, कुमारी सेक्युरिटिज, मार्केट सेक्युरिटिज, कालिका सेक्युरिटिज, साउथ एसियन बुल्स र लिन्च स्टक मार्केटको पनि न्यूनतम चुक्ता पूँजी अपुग छ ।