भारतीय सेयर बजारमा तीन दशक अघिकै जसरी गिरावट, नेपाललाई के फरक पर्ला ? « Arthapath.com
१८ फाल्गुन २०८१, आईतवार

भारतीय सेयर बजारमा तीन दशक अघिकै जसरी गिरावट, नेपाललाई के फरक पर्ला ?



काठमाडौँ । भारतीय सेयर बजार सूचकहरु अहिले तीव्र गिरावटको सामना गरिरहेका छन् । भारतको नेशनल स्टक एक्सचेञ्ज सूचक निफ्टीले आफ्नो ३५ वर्षको इतिहासमा दोस्रो पल्ट ‘लगातार पाँच महिना’को गिरावट सामना गर्यो ।

सन् १९९६ लगातार ५ महिना ओरालो लागेको निफ्टी त्यसपछि अहिले त्यही चक्रमा छ । करीव ३० वर्षअघि पाँच महिनामा निफ्टीमा ५० अंक अर्थात् २६ प्रतिशतको गिरावट आएको थियो । अहिलेको पाँच महिनामा १२ प्रतिशत घटेको छ ।

सन् १९९० को जुलाईमा निफ्टी ५० (फिफ्टी) इन्डेक्स लञ्च भएको थियो । उक्त सूचक १९९५ को सेप्टेम्बरदेखि १९९६ को अप्रिलसम्म लगातार ८ महिना ओरालो लागेको थियो । यसबीच उक्त सूचक ३१ प्रतिशतभन्दा ज्यादा घटेको थियो ।

अहिले भारतीय सेयर बजारले पुनः एक पटक त्यही कीर्तिमानीलाई पच्छ्याउन खोजेजस्तो देखिएको छ । निफ्टीको रफ्तार तीन दशककै दोस्रो खराब हालतबाट गुज्रिरहेको छ । सेन्सेक्स पनि ओरालो गतिमै छ ।

गत शुक्रबार भारतीय सेयर बजार बन्द हुँदा बम्बे स्टक एक्सचेञ्ज सूचक सेन्सेक्स एकै दिन १४१४ अंक (१.९०) घटेर ७३,१९८ अंकमा बन्द भयो भने निफ्टी ४२० अंक (१.८६) घटेर २२,१२४ अंकमा बन्द भयो । निफ्टी गत अक्टोबर यता हरेक महिना लगातार घटेर बन्द भएको छ । सेप्टेम्बर २७ मा २६,२७७ अंकको कीर्तीमानी उचाइबाट त निफ्टी १६ प्रतिशत घटिसकेको छ ।

पाँच महिना अघि गत सेप्टेम्बर ३० (१४ असोज) मा बम्बे स्टक एक्सचेञ्जको बजार पूँजीकरण ४७ नील ४० खर्ब भारु थियो । जुन गत शुक्रबार ३० नील ४० खर्ब भारुमा झरेको छ । अर्थात् यसबीचमा ९ नील (९० लाख करोड) भारु बजार पूँजीकरण घटेको छ ।

यो पाँच महिनामा भएको पूँजीकरण क्षयमात्रै पनि नेपालको अहिलेको कुल बजार पूँजीकरणको तुलनामा ३० गुणा बढी हो । यो पाँच महिनाको अन्तरालमा बीएसई स्मल क्याप इन्डेक्स सर्वाधिक २४.५८ प्रतिशत घटेको छ । बीएसई मीडक्याप पनि २१.८० प्रतिशत ओर्लिएको छ ।

यसबीच निफ्टी १४.२८ प्रतिशत र सेन्सेक्स १३.१६ प्रतिशत घटेका छन् । भारतमा उत्पादनमुलक कम्पनीहरु सूचीकृत भएको निफ्टीको सूचकमध्ये निफ्टी अटोले विगत ५ महिनामा २४.१५ प्रतिशतको गिरावट सहनु पर्यो । एफएमसीजी समूहको सूचक पनि २२.५६ प्रतिशत घट्यो । मेटल करीब २० प्रतिशत र आईटी इन्डेक्स करीब ११ प्रतिशत घटेका छन् ।

किन घट्यो बजार ?

भारतीय सेयर बजार ओरालो लाग्नुको केही कारणमध्ये सबैभन्दा ठूलो कारण चाहीँ अन्तरराष्ट्रिय लगानीकर्ताहरु बाहिरिनु हो । गत अक्टोबरदेखि फेब्रुअरीसम्ममा भारतीय बजारबाट ३१ खर्ब १० अर्ब भारु लगानी बाहिर निकालिएको छ ।

गत विहीबारमात्रै विदेशी संस्थागत लगानीकर्ता (एफआईआई)ले भारतमा ५ अर्ब ५६ करोड ५६ लाख भारु बराबरको सेयर बेचेका थिए । जनवरी सुरुभए यतामात्रै भारतमा विदेशी लगानीकताएले १० खर्बभन्दा बढी मूल्यको सेयर बेचिसकेका छन् ।

त्यहाँका म्युचुअल फण्ड लगायत स्वदेशी संस्थागत लगानीकर्ताले पछिल्लो दुई महिनामा ८ खर्ब ३० अर्ब भारुको सेयर किनेका छन् ।

यसरी सेयर बजारमा शिघ्र–प्रवाह हुने विदेशी पूँजी अर्थात् ‘हट मनी’ भारतबाट बाहिरिँदा त्यहाँको बजारलाई सबैभन्दा ठूलो असर परेको छ । विगतका केही महिनामा भारतीय बजारमा कम्पनीहरुको ब्यापार खुम्चिएपछि दोस्रो बजारका लगानीकर्ता पनि बाहिरिन थालेका हुन् ।

गत अक्टोबरमा भारतमा मूल्यबृद्धिको स्तर १४ महिनाकै उच्च देखिएको थियो । त्यसबेला ६.२१ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति जनवरीमा ४.३१ प्रतिशतमा झरे पनि लगानीकर्ताको विस्वास फर्काउन यो घटनाले खासै सहयोगी भूमिका निर्वाह गर्न सकेको छैन ।

म्यानुफ्याक्चरिङ क्षेत्रको खराब हालतले भारतीय अर्थतन्त्रको विस्तार विगतका वर्षभन्दा कम हुने आँकलन भएको छ । यो आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.४ प्रतिशत बढ्ने अनुमान छ, जुन अघिल्लो साल ८.२ प्रतिशतले बढेको थियो ।

आगामी सोमबारदेखि लागू हुने गरी अमेरिकाले क्यानडा, मेक्सिकोका लागि २५ प्रतिशत आयात कर लगाउने भनेको छ । भारतसँग पनि समानान्तर कर लगाउने भनेका कारण भारतीय बजारमा अनिश्चयको माहोल तयार भएको छ । भलै, उसले युरोपेली संघसँग खर्भरैमात्र खुला ब्यापार सम्झौता अघि बढाएको छ ।

अन्तरराष्ट्रिय बजारमा के छ ?

अमेरिकी बजार डाओ जोन्स सेप्टेम्बर ३० देखि यता करीब २.१५ प्रतिशत बढेको देखिए पनि गत डिसेम्बर ४ मा बनेको ४५,०१४ अंकको ऐतिहासिक कीर्तिमानीबाट अहिले करीब १८ सय अंक ओर्लिसकेको छ ।

जर्मनीको सेयर बजार सूचक ड्याक्स पछिल्लो ५ पहिनामा झण्डै १६ प्रतिशत बढेको छ । लण्डनको एफटीएसई १०० सूचक यिनै ५ महिनामा ६.३१ प्रतिशत बढेको छ ।

चीनको सेयर बजार सूचक शाङ्हाई कम्पोजिट भने यो ५ महिनाको दौरानमा १.५५ प्रतिशतमात्रै बढेको छ । तर हङकङको हाङशाङ परिसूचक यिनै ५ महिनामा १२.२३ प्रतिशत बढिसकेको छ ।

नेपालमा के पर्ला असर ?

भारतीय सेयर बजार लगातार ओरालो लाग्न थालेपछि त्यसले नेपाली सेयर बजारलाई भने राहत दिन सक्ने केही बजार विश्लेषकहरु बताउँछन् ।

पछिल्लो चोटी माघ ३ (जनवरी १६)मा २५८८ अंकमा टेवा पाएपछि नेप्से बढ्दो प्रबृत्तीमै देखिएको छ । पछिल्लो दुई सातामा त १३७ अंकको छलाङ बजारमा देखिएको छ । यो भनेको ५ प्रतिशतभन्दा धेरैको बृद्धि हो, जुन केवल ८ दिनको कारोबारबाट हासिल भएको छ ।

आइतबार पनि बजार खुलेदेखि नै सेयर बजार उकालो लाग्न थालेको छ । दिउँसो १ बजेको हाराहारीसम्म नेप्से ४५ अंक बढेर २८६० अंक नाघेको छ ।

यो बढोत्तरीका पछाडी भारतीय बजारबाट नेपालमा पैसा आएको हुनसक्ने केही विश्लेषकको अनुमान छ । नेपाली सेयर बजारमा सर्वाधिक लगानी गर्नेमध्येको एक समूहले भारतीय बजारमा पनि लगानी गरिरहेको जानकार बताउँछन् ।

त्यस्ता लगानीकर्ताले विगतमा भारतीय बजार उकालो लाग्दै गर्दा नेपालबाट पैसा निकालेर उता लगेको अनुमान गरिएको थियो । तर पाँच महिनादेखि भारतीय बजार ओरालो लाग्न थालेको र अब त्यहाँ लगानीकर्ताहरु डराउन थालेका कारण उनीहरु नेपाली बजारमा प्रवेश गरेका छन् ।

यसरी भारतीय बजारबाट थोरैमात्र लगानीकर्ताले नेपाली बजारमा ‘खेल्न’ सुरु गरे भने नेप्सेलाई नयाँ कीर्तिमानी उचाई चुम्न खासै कठीन पर्ने छैन भन्ने धेरैको अनुमान छ ।

लगभग साढे ३ वर्षअघि ३२०० अंकबाट ओरालो लागेपछि नेप्सेले लामो समय १८०० देखि २२०० को करिडोरलाई पच्छ्याएको थियो । तर त्यसयता भने नेप्सेले २६०० देखि २७५० अंकको बीचलाई ‘नयाँ आधार क्षेत्र’ बनाएको छ ।

अर्थात्, माथिल्लो तल्ला अब २७५० अंकबाट सुरु हुन्छ । यो रफ्तार ३२०० देखि ३४०० अंकको हाराहारीसम्म पुग्नसक्ने विश्लेषण गरिएको छ । जसका निम्ति भारतीय बजारमा पुगेको पैसा र लगानीकर्ता स्वदेश फर्किनु आवस्यक हुने जानकार बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्