होलीका रङ्गजस्तै किम्वदन्ती र कथाहरु पनि ‘नौरङ्गी’ « Arthapath.com
१ चैत्र २०८१, शुक्रबार

होलीका रङ्गजस्तै किम्वदन्ती र कथाहरु पनि ‘नौरङ्गी’



काठमाण्डौं । होली रङ्ग अबिरको पर्व हो । फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । त्यसैले यो वियज र उल्लासको पनि पर्व मानिन्छ ।

फागु, होली जस्ता नामसँगै यसलाई रंग र अबिरसँगै स्थानपिच्छे मनाउने फरक फरक शैलीहरु छन् भने यसको सुरुवात कसरी भयो भन्ने अनेकौं रोचक किंवदन्तीहरु पनि प्रचलित छन् ।

नेपालको पहाडी र हिमाली क्षेत्रमा बिहीवार रङ्ग खेलेर मनाइएको फागु पर्व अर्थात् फागु पूर्णिमा तराईमा भने शुक्रवार ‘होली’ को रुपमा मनाइँदैछ ।

असत्यमाथि सत्यको जीत र हर्षका साथै वसन्त ऋतुको उमङ्गमा मनाइने यो पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ ।

रंगहरुको पर्व होली हिजो काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइयो । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लास पूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथी–सङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन् । तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन् ।

काठमाण्डौं र उपत्यकाको होली

रमाइला नेपाली पर्वहरू मध्येको एक पर्व फागुपूर्णिमा (होली) यसपाली बिहीवार पहाडी क्षेत्रमा मनाइएको छ र शुक्रवार तराई क्षेत्रमा मनाइँदै छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले रमाइलो गरेर मनाउने यो पर्वको विविधता युक्त नेपालको विशेषता हो ।

वैमनस्य त्यागेर सद्भाव फैलाउने पर्व हो अहिलेको होली । तर होली खेल्न बलजफ्ती गर्ने र नचाहनेलाई जबरजस्ती रंग लगाउनेमाथि कारबाही हुने भनेर प्रहरीले हरेक साल भन्दै आएको छ ।

काठमाण्डौंको ठाउँठाउँमा साङ्गीतिक कार्यक्रम समेत गरी आयोजना गरिएको होली पर्वमा नागरिकहरु गीत, संगितसहित नृत्यमा रमाएका छन् । तराइमा अहिले यस्तै रौनक चलिरहेको छ ।

टोल टोलमा मात्रै नभई कुनै विशेष स्थानलाई नै भाडामा लिएर सामुहिक रूपमा होली मनाउने प्रचलन पनि नयाँ होलीको विशेषता हो । काठमाण्डौं उपत्यकमा विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइएको छ ।

त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको थियो । बिहीवार विहानैदेखि चोकचोकमा ट्राफिक चेकिङहरु पनि भइरहेको थियो ।

सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ ।

पृथक मिथिलाञ्चलको फागु

यो मदनोत्सव हो । अनि यसमा मानिसहरु मदमत्त हुन्छन् । वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ ।

पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ ।

फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ ।

पहिले पहिले गाउँघरमा दूध र मसला मिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे ।

होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो । भाङलाई अहिले मदिराले विस्थापित गरेको छ ।

तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।

होलीमा रमाउँदै विदेशीहरू

फागुपुर्णिमा अर्थात् होलीको अवसरमा नेपालीहरु मत्र होइनन्, विदेशीहरु पनि खुलेर होलीको उत्सवमा होमिएका छन् । आफैँमा विशिष्ट रहेको फागुपर्व नेपालमा घुम्न आउने हजारौं विदेशी पर्यटकहरुका लागि उल्लासमय बनिरहेको राजधानी काठमाण्डौं, पोखरा र आसपासमा देख्न सकिन्छ ।

होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई रङमा रंग्याउन काठमाण्डौंको वसन्तपुर, ठमेल मात्र होइन, पोखरामा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । अघिल्ला वर्षझैँ विदेशी तथा स्वदेशी पर्यटकलाई खानासँगै रङको स्वाद चखाउन होटल तथा रेस्टुरेन्टका आ–आफ्नै योजना छन् ।

पोखरामा हरेक वर्ष होली भव्य हुने गर्छ । होली विशेष कार्यक्रममा विदेशीले फेस पेन्ट, रङ तथा पानीमा छ्यापाछ्याप गर्ने दृश्य रमाइला लाग्छन् । हातमा अबीरका पोका बोकेर विदेशीसमेत नेपालीसँगै बाटोमा होली खेलिरहेको यहाँ देख्न सकिन्छ ।

होलीसँगै र्‍याफ्टिङमा हेलिँदै युवा पुस्ता

होलीको दिनले र्‍याफ्टिङ अर्थात् जलबिहारलाई पनि विशेष आकर्षण थप्ने गरेको छ । युवा पुस्ताको आकर्षणको केन्द्र नदीजन्य साहसिक पर्यटकीय क्रियाकलाप र्‍याफ्टिङ बन्दै गएको छ । र्‍याफ्टिङसँगै होलीलाई कतिपय युवायुवतीहरुले विषेश उत्सवको रुपमा उल्लासमय बनाइरहेका छन् ।

नेपाल एसोसिएन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)का अनुसार पछिल्ला वर्षमा होलीको दिन २ हजारभन्दा धेरै युवायुवती र्‍याफ्टिङकै लागि नदीमा पुग्ने गरेका छन्। यस दिन र्‍याफ्टिङमा सबैभन्दा धेरै आकर्षण देखिन थालेको छ ।

शास्त्रीय पर्व !

संस्कृतिविद् प्राध्यापक वीणा पौड्यालका भनाइमा होली विशेषगरी हिन्दू शास्त्रहरूमा उल्लेख भएको पर्व हो । त्यसैले होली शास्त्रीय पर्व भएको उनको मत छ । ‘विभिन्न पुराणहरूमा यसको उल्लेख छ । पछि महाकाव्यहरू जस्तै महाभारत र रामायणमा पनि उल्लेख भएको पाइन्छ’, उनले भनिन् ।

‘लिङ्गपुराण, वराहपुराणमा पनि यसको उल्लेख छ । यो शास्त्रीय पर्व हो ।’ पौड्यालका भनाइमा जैमिनि ऋषिद्वारा रचित तथा मीमांसा दर्शनको आरम्भ भएकोमध्येको मानिने ‘पूर्वमीमांसासूत्र’मा पनि होलीबारे उल्लेख भएको पाइन्छ ।

लिङ्गपुराणमा फागुन महिनालाई ‘फाल्गुनिका’ र वराहपुराणमा ‘पटवासविलासिनी’ भनिएको पाइन्छ ।

फाल्गुने पौर्णमासी च सदा बालविकासिनीज्ञेया फाल्गुनिका सा च ज्ञेया लोकर्विभूतये।।

लिङ्गपुराण अर्थात् यसले फागुन पूर्णिमाको यो पर्व बालबालिकाले खेल्ने र मानिसहरूलाई यसले विभूति (ऐश्वर्य) दिने जनाउँछ ।

फाल्गुने पौर्णिमास्यां तु पटवासविलासिनीज्ञेया सा फाल्गुनी लोके कार्या लोकसमृद्धये। –वराहपुराण

‘पटवास–विलासिनी’ को अर्थ चूर्ण वा धुलोयुक्त क्रीडा भएको पर्व हो ।

होलीबारे विष्णुका भक्त प्रह्लाद र होलिका–दहनसँग सम्बन्धित रहेका कथाहरू पनि प्रचलित छन् । त्यस्तै वसन्त ऋतु, कामदेव र राधाकृष्णका कथाहरू पनि होलीसँग जोडिएका छन् ।

सनातन धर्ममा हरेक भगवानका लागि भिन्न रङ्गको प्रयोग हुने गरेकाले पनि होली शास्त्रीय पर्व भएको विज्ञको तर्क छ । आर्य समाजमा भगवानको मात्र होइन, राशि, नक्षत्र र दशाअनुसार पनि फरक रङ्ग प्रयोग हुन्छ ।

स्थान र परिवेशअनुसार फरक नाम

संस्कृतिविद् प्राध्यापक वीणा पौड्याल होली पर्वलाई विभिन्न स्थानका मानिसहरूले भिन्न नाममा मनाउने र त्यसको शैली पनि केही फरक हुने बताउँछिन् । उनका भनाइमा होलीलाई कहीँ ‘होरी’ भनेर पनि चिनिन्छ ।

तराईमा होली र होरी भनिने यो पर्वलाई पहाडी क्षेत्रमा फागु वा फागु पूर्णिमा भनिने उनले बताइन् । ‘यसलाई वसन्तोत्सव र मदनोत्सव पनि भन्ने चलन छ’, उनी भन्छिन् ।

अहिले पनि विभिन्न नामबाट चिनिने होलीलाई पौराणिक शास्त्रहरूमा अझ फरक नामले उल्लेख गरिएको पौड्यालले बताइन् । ‘एउटा लामो समयसम्म कुनै पनि पर्व चलिरहँदा त्यसले फरक नाम लिँदो रहेछ’, पौड्याल भन्छिन् ।

संस्कृति विदहरुका अनुसार पहिले होली नेपालको तराईमा बढी महत्त्वका साथ मनाइन्थ्यो । वसन्त ऋतुको सङ्केतका रूपमा समेत लिइएको यो पर्वलाई अहिले पहाडी र हिमाली भेगमा पनि व्यापक रूपमा मनाइन थालिएको छ।

ठाउँ अनुसार कुनैमा ऋतु, कुनैमा महिना त कुनैमा कथा र किम्वदन्तिहरु जोडिएका छन् । कतिपय ऐतिहासिक पात्रहहरू अनुसार पनि नाम जोडिएको छ ।

कहाँ कसरी मनाइन्छ होली ?

उपत्यकाको मुख्य केन्द्र वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिने जानकारहरू बताउँछन् । त्यस दिनदेखि उपत्यकामा पूर्णिमासम्म होली मनाउने चलन रहेको संस्कृतिविद्हरूको भनाइ छ ।

पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरेर लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

त्यस्तै पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।

फागु पूर्णिमाकै दिन उपत्यकामा भीमसेनको पूजा गर्ने चलन पनि रहेको छ । त्यस्तै पूर्णिमाकै दिन हिमाली क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरन ल्ह’ पर्व मनाउने गर्छन् ।

तराईमा भोलिपल्ट मनाइने होलीमा रङ्ग खेल्नुका साथै मौलिक गीत गाउने र व्यङ्ग्यात्मक कार्यक्रम पनि आयोजना गर्ने चलन रहेको छ ।

होलीको किंवदन्ती

फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ । उक्त किंवदन्तीअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए ।

तर प्रह्लादलाई केही नभएको, बरु होलीका नै जलेर भष्म भएको किम्वदन्तीमा उल्लेख छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

उता, द्वापरयुगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होलीलाई यदाकदा जोड्ने गरेको पाइन्छ ।

उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले अर्थपथलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्