नेपाल टेलिकमको आम्दानी ३४ अर्ब ५७ करोड

काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्ष २०७६÷०७७ मा ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ मा ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ आम्दानी गरेकोमा गत बर्ष २ अर्ब २९ करोड २८ लाखले आम्दानी घटेको छ ।
कम्पनीका अनुसार रिचार्ज कार्डको विक्रीमा मिति गत चैत १ गतेदेखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको छ । कूल विक्रीलाई हिसाब गरिसके पछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड विक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको हो ।
अघिल्लो आवको तुलनामा चालु आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको छ । गत आवको चौथो त्रैमासिक सम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजश्वमा ३.९ प्रतिशतले कमी हुन गएको टेलिकमले बताएको छ ।
फोरजी सेवाको विस्तारको कारणले गत बर्षको को तेस्रो त्रैमासिक अवधिको मध्येबाट राजश्व वृद्धि भएको थियो तर विश्वव्यापी रुपमा कोभिड १९ को महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटीटीको वढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा जीएमएम तथा पीएसटिएन भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोड रुपैयाँको कमी भएको तथा डेटा सेवा तर्फ करिब ७५ करोड रुपैयाँ वृद्धि भएको टेलिकमले जनाएको छ ।
कम्पनीले टपअपमा शतप्रतिशत बोनस वापत ५३ करोड ४० लाख रुपैयाँ भन्दा बढि, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिदा २२ करोड ८३ लाख भन्दा बढि तथा जिरो भ्यालु कल वापत ५ करोड ३० लाख रुपैयाँ भन्दा बढिको निःशुल्क सेवा दिएको जनाएको छ ।