टिकटक प्रतिबन्ध गर्न आईएसपीलाई नै हम्मेहम्मे, सिंह दरबारमै चल्छ सरर « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

टिकटक प्रतिबन्ध गर्न आईएसपीलाई नै हम्मेहम्मे, सिंह दरबारमै चल्छ सरर



काठमाडौं । सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पनि यसलाई रोक्न इन्टरनेट सेवा प्रदायकलाई नै हम्मेहम्मे परेको छ । अधिकांश इन्टरनेट सेवा प्रदायकले सरकारी निर्देशन पाउने वित्तिकै टिकटकलाई आफ्नो डीएनएस (डोमेन नेम सिस्टम)को सर्भरमा रोके पनि टिकटक चल्न भने छाडेको छैन ।

आईपी (इन्टरनेट प्रोटोकल) ठेगानाबाट पनि टिकटक रोक्ने प्रयास भयो । तर अझैसम्म देशको मुख्य प्रशासनिक केन्द्र सिंह दरबारमै टिकटक सरर चलिरहेको छ । मन्त्रालयमै बसेर कर्मचारी र राजनीतिक प्रतिनिधीहरु टिकटकको मजा लिइरहेका छन् ।

यसबाहेक अनेक किसिमका भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) मार्फत् पनि आम नागरिकले टिकटक चलाइरहेका छन् । पछिल्लो समय नेपालमा सर्वाधिक डाउनलोड नै भिपीएन एपहरु भएका छन् । सिमिलर वेवको तथ्यांकअनुसार अहिले इनोभेटिभ कनेक्टिङले प्रबद्र्धन गरेको ‘टर्बो भिपीएन’ सबैभन्दा धेरै डाउनलोड हुने एपमा परेको छ ।

त्यसपछि सुपर सफ्टटेकले बनाएको सुपर भिपीएन, फ्रुट सेक्युरिटी स्टुडियोले बनाएको थ्री एक्स भीपीएन र भीपीएन सुपर इन्कले बनाएको भीपीएन सबैभन्दा धेरै डाउनलोड हुने एपमा पर्छन् । भिडियो शेयरिङ सामाजिक सञ्जालमा भने इन्टाग्रामको डाउनलोड धेरै भएको देखिएको छ । त्यसपछि सुपर भीपीएन र भीपीएन इन्फको पनि डाउनलोड अधिक देखिएको छ ।

टिकटक लाइट र टिकटककै झल्को दिने भारतीय एप लाइकीको पनि डाउनलोड ह्वात्तै बढेको छ । टिकटक प्रतिबन्धपछि नेपालमा उसको ठ्याक्कै प्रतिरुपजस्तो लाग्ने लाइकीले बजार पिट्न सक्ने संभावना देखिएको छ ।

इन्टरनेट सेवा प्रदायक डिसहोमका प्रमुख कार्यकारी निर्देशक सुदीप आचार्य भन्छन्, ‘हामीले टिकटक रोक्न अत्यधिक प्रयास गरिरहेका छौं । तर यसमा विभिन्न माध्यमबाट मानिसहरुले पहूँच पाइरहेकाले नयाँ नयाँ बाटोहरु खोज्दै बन्द गर्न समय लाग्ने देखिएको छ ।’ उनले सरकारी निर्णयलाई सघाउन आफूहरुले सघन प्रयास गरिरहेको बताएका छन् ।

देशकै सबैभन्दा ठूलो फाइबर इन्टरनेट सेवा प्रदायक वल्डलिंक कम्युनिकेशनका निर्देशक लक्ष्मण यादवले पनि फरक फरक बाटोबाट मानिसहरुले टिकटक चलाउने प्रयास गर्दा इन्टरनेट सेवा प्रदायकलाई मुस्किल परिरहेको बताए । ‘हामीले सरकार र नियामक निकायसँग मिलेर नयाँ पहूँच मार्गहरुको अनुसन्धान गर्ने र त्यसलाई रोक्ने प्रयास गरिरहेका छौं’, उनले भने ।

मुलुकभित्र झण्डै ३० प्रतिशत इन्टरनेटको खपत टिकटकमा निर्भर थियो । यति ठूलो बजार भएको एप एकाएक बन्द हुँदा इन्टरनेट सेवा प्रदायकहरुलाई प्रत्यक्ष लाभ पुग्छ । यसमा हुने ब्याण्डवीथ खपत घट्ने हुँदा व्यवसायीलाई यो निर्णयले फाइदा छ । तर भीपीएनजस्ता विदेशी आईपीमा आफ्ना ‘फिक्स्ड ग्राहक’ले टिकटक चलाइदिँदा सेवाप्रदायकहरुका लागि विदेशमा गर्नुपर्ने भुक्तानी बढी हुन्छ ।

यसले पनि सेवा प्रदायकहरु अहिले भीपीएनको प्रयोगलाई निरुत्साहित गर्न मेहनतसाथ काम गरिरहेका छन् । टिकटकबाट मानिसहरु इन्टरनेट खपत गर्ने अन्य माध्यममा आकर्षित् हुन् भन्ने पनि उनीहरुको चाहना देखिन्छ । वैधानिक माध्यममा घरेलु ब्याण्डवीथको प्रयोग बढाउन सके उनीहरुलाई लाभ हुन्छ । तर सबैले मिलेर प्रयास गर्दा पनि टिकटक रोक्न राज्य र बजारका सेवा प्रदायकहरुलाई हम्मेहम्मे परिरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्