संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल टेलिकमले थप्यो नयाँ कार्यक्रमहरु « Arthapath.com
१४ पुष २०८१, आईतवार

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल टेलिकमले थप्यो नयाँ कार्यक्रमहरु



काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।

व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

कम्पनीले विगतका आर्थिक वर्षहरु देखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको छ ।

टेलिकमले हरियाली संरक्षण तथा वृक्षरोपण अन्तर्गत काठमाडौँको माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए ।

यस्तै, टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

साथै देशभरका २० जिल्लाका १-१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । यता, धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ ।

टेलिकमले सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

अस्पतालमा बेड कम चेयर वितरणः नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ ।

त्यसैगरि टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटिटिएच सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबिपिएस गतिको एफटिटिएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको छ ।

त्यसैगरी, एफटिटिएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि नमस्ते वाइफाइ राउटर सहितको फोजी इन्टरनेट प्याकेज निःशूल्क उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्