अमेरिकी एआई बजारलाई चीनले कसरी ‘सिध्याउँदै’ छ ? « Arthapath.com
१७ चैत्र २०८१, आईतवार

अमेरिकी एआई बजारलाई चीनले कसरी ‘सिध्याउँदै’ छ ?



अमेरिकाको एउटै कम्पनीको सेयर मूल्य पछिल्लो तीन महिनामा जति घटेको छ, नेपालजस्तो २४ वटा अर्थतन्त्रले मिलेर पनि त्यो घाटा पुर्ति गर्न सक्दैन ।

काठमाडौँ । चीनले पछिल्ले तीन महिनामा विश्व बजारको ‘खेल’ नै बदलिदिएको छ। यस क्रममा सबैभन्दा ठूलो धक्का अमेरिकालाई लागे को छ ।

अमेरिकी शीर्ष कम्पनीहरूले ठूलो लगातार असाधारण घाटा बेहोरिरहेका छन्।

अमेरिकाको एउटा कम्पनीले मात्रै पछिल्लो तीन महिनामा एक ट्रिलियन डलरभन्दा बढी अर्थात् करीब १३ नील ७० खर्ब रुपैयाँ घाटा बेहोरेको छ। यो कम्पनी अरु कोही नभएर एनभिडिया हो। उही एनभिडिया, जसले एआई चिप्स बनाउँछ।

हामीले यो घाटालाई त्यति सहज रुपमा लिन सक्दैनौँ । किनकी, एउटा कम्पनीको बजार पूँजीकरण केवल ३ महिनामा घटेको रकम भनेको नेपालको अर्थतन्त्रको २४ गुणाभन्दा ज्यादा हो । गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब ८४ करोड रुपैयाँ हाराहारी थियो ।

कुनै बेला एआईको दुनियाँमा जाज्वल्यमान नक्षेत्र ठानिएको एनभिडियालाई अहिले ठूलो धक्का लागेको छ। बजार पूँजीकरणको हिसाबले यो कम्पनी जनवरी २०२५ मा विश्वकै शीर्ष स्थानमा थियो।

तर अहिले यसको मूल्य १ ट्रिलियन डलरभन्दा बढीले घटिसकेको छ। कम्पनीको शेयर २७ प्रतिशत घटेको छ। एउटा समय थियो, जब यस्तो लाग्थ्यो कि एनभिडियालाई कसैले रोक्न सक्दैन।

तर अब परिस्थिति फेरिएको छ। जुन लगानीकर्तामा एनभिडियाप्रति असाधारण भरोसा थियो, तिनीहरु नै अब एआई क्षेत्र अघि बढ्न सक्षम हुन्छ कि हुँदैन भनेर सोचमा परेका छन्।

माइक्रोसफ्टले पनि बन्द गर्यो काम

अमेरिकाको अर्को विशाल कम्पनी माइक्रोसफ्ट पनि पछिल्ला घटनाबाट नाराम्रोसँग प्रभावित भएको छ। माइक्रोसफ्टले अमेरिका र युरोपमा नयाँ डाटा सेन्टरहरूको निर्माणकार्यलाई यसै हप्ता रोकिदिएको छ ।

यसबाट पश्चिमा एआई उद्योगमा हलचल मच्चिएको छ। विगत दुई वर्षमा एआई पूर्वाधारहरुमा लगानी गरिएको पैसाले कुनै फाइदा दिन्छ कि दिँदैन भनेर मानिसहरू सोच्न थालेका छन्।

मुद्रास्फीति बढ्दै छ, जनविश्वास घट्दै छ र आईपीओ (प्राथमिक सेयर निष्काशन)को बजार पनि चिसिएको छ। यस्तो अवस्थामा एआईको प्रगति सुस्ताउँदै गएको देखिन्छ।

फेरिँदै वातावरण

एआई चिप बजारमा एनभिडियाको दबदबा छ। कम्पनीले गत साल ठूलै नाफा कमाएको थियो। तर अहिले यसको प्रगति स्तब्ध भएको छ। एनभिडियाको एआई चिप्स च्याटजीपीटीदेखि क्लाउड कम्प्युटिङसम्म सबै कुरामा प्रयोग गरिन्छ। तर अब वातावरण फेरिँदै गएको छ।

घट्दो उत्साह

एआईलाई लिएर मानिसहरुमा जुन उत्साह थियो, त्यो अब सेलाउँदै गएको छ। यसको प्रभाव केवल एनभिडियाजस्ता ठूला कम्पनीहरूमा मात्र पर्दैन।

कोरवीभ नामक क्लाउड–कम्प्युटिङ स्टार्टअप कम्पनी छ। यसले एआई सेवाहरू प्रदान गर्दछ। तर जब यो कम्पनीले आईपीओ ल्यायो, मानिसहरूले यसमा धेरै चासो देखाएनन्।

कम्पनीले आईपीओ मूल्य घटाउनु पर्यो र सेयर संख्या पनि घटाउनु पर्यो। त्यतिमात्रै होइन, यो कम्पनीको सेयर पूर्व निर्धारित मूल्यभन्दा पनि सस्तो भएर कारोबार खुल्यो ।

के चीनले गतिमा ब्रेक लगायो ?

अब प्रश्न उठ्छ कि, के चीनले अमेरिकी कम्पनीहरूको चुलिँदो गतिमा ब्रेक लगाएको हो ? वास्तवमा केही समय अघि मात्रै चीनको डीपसिक नामक एआई मोडेलले विश्वभर हलचल मच्चाएको थियो।

डीपसिक द्रुत गतिमा अगाडि बढिरहेको छ। यसले सस्तो र राम्रो एआई समाधानहरू प्रदान गर्दछ। आफ्नो एआई पूर्वाधारलाई रूपान्तरण गर्न चाहने कम्पनीहरूले अचेल डीपसिक प्रयोग गरिरहेका छन्। यसले एनभिडियामा थप दबाब दिइरहेको छ।

अर्कोतर्फ, हालै चीनको अलिबाबा कम्पनीले पनि एआईमा अमेरिकालाई चुनौती दिएको छ। भर्खरैमात्र चीनले यस्तो खाले एआई प्रणाली बनाएको छ, जसमा चीनमै निर्मित सेमिकन्डक्टर चिप्स प्रयोग गरिएको छ।

यो प्रणाली ज्याक माको कम्पनी ‘एन्ट ग्रुप’ले बनाएको हो। एन्ट ग्रुप ज्याक माको कम्पनी अलिबाबाको सहायक कम्पनी हो। यो एआई मोडेलको लागत अरु सामान्य एआई मोडेलको तुलनामा २० प्रतिशत कम पर्ने दाबी कम्पनीले गरेको छ।

यसले पनि भष्यिमा एआईको बजार र यसको मूल्यश्रृङ्खलाबारे थप अन्योल उत्पन्न भएका छन् । जसको घाटा मूलरुपमा अमेरिका र उसका कम्पनीहरुले भोग्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्