‘नेपालको आईटी क्षेत्रमा लगानी गर्न अझै सहज वातावरण बनिसकेको छैन’ (अन्तर्वार्ता)

पछिल्लो समय सूचना प्रविधिमा आएको तिब्र विकास र विस्तारसँगै नेपालमा पनि यसको प्रयोग व्यापक हुँदै आएको छ । यसको विकाससँगै नेपालको बैंकिङ, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सरकारी सेवा लगायतका क्षेत्रहरुमा आम नागरिकको पहुँचलाई सरल सहज र झण्झटरहित बनाएको छ ।
हाल नेपालको करिव ५० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । देशैभर फोरजी सेवा फैलिएको छ भने फाइभजी परिक्षण भइरहेको छ । यस्तै ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच बढाउन नेपाल दुरसञ्चार प्राधिकरणले विभिन्न कार्यक्रम ल्याएको छ । पछिल्लो समय नेपालमा मोवाइल बैंकिङ, डिजिटल वालेट, फिनटेक कम्पनी, इकमर्स प्लेटफर्महरुको प्रयोग बढ्दो छ भने डिजिटल मार्केटिङ, सफ्टवेयर विकास र आईटी आउटसोर्सिङमा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दैछन्। नेपालमा आईटी स्टार्टअपहरूको संख्यामा क्रमशः वृद्धि भइरहेको छ।
यता सरकारले ई गभर्नेन्सलाई प्रवद्र्धन गर्दै नागरिक एप, डिजिटल नागरिकता, ई पासपोर्ट र ई ट्याक्सेसन जस्ता सेवाहरु सञ्चालन गरिरहेको छ । यस्तै नेपालमा विभिन्न विश्वविद्यालयहरूले आईटी तथा सफ्टवेयर इन्जिनियरिङ कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् भने धेरै नेपालीहरु आईटी पेशाकर्मीका रुपमा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग आवद्र्ध भएर काम गरिरहेका छन्।
चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा नेपालबाट १२ अर्ब ४१ करोड रुपैयाँ बराबर आईटी निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । पछिल्ला तथ्यांक अनुसार सूचना प्रविधि आसलाग्दो क्षेत्र बनेको छ । यतिबेला सरकारले नेपाली युवाको बढ्दो सहभागिता र उल्लेखनीय आम्दानीको क्षेत्र भएकाले सूचना प्रविधि क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेको छ । यसमा सरकारबाट थप प्रोत्साहनका कार्यक्रम, कानुनी तथा नीतिगत सुधार र समन्वयात्मक सहजीकरण भएको अवस्थामा नेपाल आईटी हव बन्ने परिकल्पना पुरा हुन सक्ने यस क्षेत्रका विज्ञहरुको धारणा छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौती जस्ता विभिन्न विषयमा केन्द्रित रहेर कम्प्युटर एसोशिएसन नेपाल महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेसँग अर्थपथकर्मी मधुरीमा पाण्डेयले गरेको कुराकानीः
१. विश्वले एआई र रोबोटिक्समा फड्को मारिसकेको बेला सूचना प्रविधिमा हामी कुन अवस्थामा छौं ?
विश्वको आइटीको प्रोग्रेस हेर्ने हो भने हामी पछाडी नै छौं, तर हाम्रो प्रयास जारी नै छ । सबैभन्दा पहिला हाम्रो सूचना प्रविधिको विकासको लागि केहि नीतिगत कारणले गर्दा पनि हामी पछाडी छौं, भने केहि उदारता नअपनाएको भएर पनि हामी पछाडि छौं । नयाँ इनोभेसन भनेको जहिले पनि स्टार्टअपले लिएर आउँछ । स्टार्टअपहरुलाई हामीले खुला वातावरण दिन सकेका छैनौँ नीतिगतरूपमा । अर्को कुरा हाम्रोमा जुन किसिमको नयाँ ‘इनोभेशन’हरु आउँछन् । त्यो नयाँ इनोभेशनलाई हामीले उदारता साथ नलिएको हो की जस्तो लाग्छ । यसको उदाहरणको लागि हामीसँग सारथी र टुटल भन्ने धेरै अगाडी आएका नै थियो । तर त्यसलाई हामीले प्रोत्साहन गर्नुपर्नेमा उल्टै निरुत्साहित ग¥यौँ । त्यसैले, त्यो व्यवसाय फस्टाउन सकेन । त्योभन्दा पछि आएका पठाओ, इन्ड्राइभ भने नेपालमा एकदमै फस्टाए । हाम्रो आफ्नै देशमा पनि त्यो किसिमको विकास पहिले भइसकेको थियो । तर उनीहरुलाइै उदारता नअपनाउको कारणले अहिले सम्म पनि माथि आउन नसकेको हो ।
२. चीनले प्राथमिक तथा माध्यमिक विद्यालयको पाठ्यक्रममा एआई शिक्षाको समावेश गरिसकेको छ । नेपालमा आईटी शिक्षा र पाठ्यक्रमहरु कतिको प्रभावकारी छ ?
हाम्रो शिक्षा प्रणाली एकदम कमजोर छ । सूचना प्रविधिको शिक्षामा पाठ्यक्रममा क्रमशः विकास भइरहनु पर्नेछ, जुन विकास भइरहेको अवस्था छैन। सरकारसँग मिलेर क्यान महासंघले सिटिइभिटीमार्फत ६ महिनाभन्दा छोटो अवधिको सर्टटर्म कोर्सहरुको लागि समन्वय गरिरहेका छौं । तर यो भनेको खाली हामीले बजारमा काम गर्न योग्य भएकोलाई मात्र दिने तालिम हो । तर वास्तवमा भन्नु पर्दा हामीले सूचना प्रविधिको पाठ्यक्रम चाहिँ कक्षा एकबाटै राख्नु पर्छ । कक्षा एकदेखि नै नयाँ नयाँ करिकुलमहरु परिवर्तन हुँदै जान्छ र हरेक वर्ष नयाँ कुराहरु आइरहेको हुन्छ । त्यसअनुसार नै अध्यावधिक गर्दै लैजान सक्यौं भने अझै राम्रो हुन्छ । एआई आइसकेको सन्दर्भमा समयमै त्यसलाई एआईसँग परिचित गराएनौ भने विद्यार्थी मात्र नभएर कुनै पनि जमातको भविष्य अन्यौल बन्न सक्छ । हामीसँग अहिले आईटी अध्ययनका लागि विभिन्न विकल्पहरु छन् । स्थानीयदेखि विदेशी विश्वविद्यालयले उच्च शिक्षामा आईटीसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एकातिर प्रत्येक वर्ष हजारौंको संख्यामा आईटी जनशक्ति पासआउट हुन्छ भने अर्कोतिर आईटी उद्योगहरुमा दक्ष जनशक्ति अभाव भयो भनेर गुनासा आइरहेका हुन्छन् । यो दुई क्षेत्रबीचको खाडल किन बढ्दै छ भन्ने आफैमा एउटा प्रश्न छ । पढाइसँगै प्रयोगात्मक शिक्षा पर्याप्त नहुने, टेक्नोलोजीसँगै कोर्स तथा पाठ्यक्रमहरु अपडेट नहुने, उद्योग र एकेडेमिकबीच सहकार्य नहुँदा यस्ता समस्याहरु बढ्दै गएका छन् ।
३. आईटीमा नेपालले विश्वसँग प्रतिस्पर्धा गर्न हामीसामु के कस्ता चुनौती र समस्या छन् ?
सबैभन्दा पहिले त नीति इन्ट्रयाक्ट गर्नु प¥यो । अर्को कुरा भनेको नीति मात्र भएर भए पनि भएन, जुन त्यसपछि बन्ने गाइडलाइन हुन्छ (निर्देशिका) त्यो कुराहरु बन्न जरुरी छ । र अर्को कुरा भनेको हामीलाई कर्मचारीतन्त्रले पनि रोक्छ । नीतिगत रुपमा काम गर्न कुनै अवरोध नभए पनि कर्मारीतन्त्रले धेरै समस्या सिर्जना गरिहेको अवस्था छ । कुरा नबुझेर होकी या जानकार हुँदा हुँदै पनि बुझ पचाएको हो ? अहिले हामीलाई कतिपय पेमेन्टहरु बाहिर पठाउनु पर्छ तर यो कुरा पलिसीले रोक्दैन तर कर्मचारीतन्त्रले रोकिरहेको अवस्था छ, झुलाएको अवस्था छ । हामीले भर्खरै पठाउनु पर्ने भुक्तानी समेत २/३ महिना ढिलो गरी पठाउनु पर्ने बाध्यात्मक अवस्था छ । जसले गर्दा विदेशी कम्पनीसँग हाम्रो क्रेडिट बिग्रेको कारणले गर्दा उनीहरु नेपालीहरुसँग सानो मार्केट छ, यो मार्केटसँग काम नगर्दैमा उनीहरुलाई ठूलो फरक पर्दैन, यसले गर्दा कर्मचारीतन्त्र सुधार्नू पर्ने आवस्यकता छ । यसले सहजिकरण गर्दिनुपर्छ ।
४. महासंघलाई क्यान इन्फोटेकमा मात्र सिमित भयो भन्ने आरोपहरु लाग्दै आइरहेका छन् । यसबाहेक संस्थाले अन्य के-के काम गर्छ ? आगामी योजना के छ ?
मलाई लाग्छ क्यान इन्फोटेक हाम्रो क्यान महासंघको ब्राण्डिङ इभेन्ट हो । र आजको दिनमा क्यान इन्फोटेक नभइदिएको भए सूचना प्रविधिको यति वृहत सचेतनाको कार्यक्रम नेपाल अधिराज्यभरी कुनचाहिँ संस्थाले गर्न सक्थ्यो ? कसैले पनि गर्न सक्दैन थ्यो । नयाँ उत्पादन भएका, विकास भएका नयाँ नयाँ इनोभेशनका सामानहरु तथा सेवाहरु या सफ्टवयरहरु सबै यहि थलोमा आएर हेर्न पाइन्छ । यहाँसम्म आइपुग्दा क्यान इन्फोटेक हामीले काठमाडौंमा मात्र केन्द्रित नगरी दुर दराजसम्म पु¥याएको कारणले गर्दा ७७ जिल्लाको मानिस काठमाडौं आउन आवस्यक पनि छैन । उनीहरुले आफ्नो नजिकको ठाउँमा गएर क्यान इन्फोटेकमा नयाँ नयाँ सफ्टवयर तथा हार्डवयर प्रविधिहरुको जानकारी लिन सक्छन् ।
यसको विकास र प्रयोगका बारेमा जान्न बुझ्न सक्छन् । यदि हामीले क्यान इन्फोटेक नगरिदिएको भए आज सुचना प्रविधिको यति वृहत सचेतना–जागरुपकता हुँदैन थियो । क्यानले यस्तो एक्सपोजर नगरेको भए आज हामी सूचना प्रविधिको क्षेत्रमा कहाँ हुन्थ्यौं ? मलाई क्यान इन्फोटेकको नामले महासंघ चिनिदा खुशी लाग्छ । र क्यान महासंघमा अन्य कार्यक्रमहरुको कुरा गर्दा क्यान महासंघको भर्खरै स्टाटजिक प्लानिङ मिटिङ भएको छ । त्यसमा विभिन्न कार्यक्रमहरु आएका छन् । जसमा मुख्य डिजिटल नेपाल निर्माणका लागि विद्यमान नीतिमा सुधार, प्रविधि विकास, अनुसन्धान प्रवद्र्धन र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्य राख्दै विभिन्न क्षेत्रमा काम गर्ने योजन अघि सारेका छौं । यस्तै, वैदेशिक लगानी (एफडीआई)मा पाँच प्रतिशतसम्म शेयर उपलब्ध गराउने, आईटी उद्योगमा कर छुट, स्टार्टअपलाई प्रवद्र्धन गर्ने कार्यक्रममा पनि महासंघले जोड दिएको छ । अर्को सेक्युरिटी पोइन्टअप भ्युले नेपाल टप ५ भत्रै भएपनि यसलाई अझ राम्रो बनाउँदै सुरक्षित तरिकाले काम गर्न र इन्टरनेश्नल आइटी ग्लोबल म्यापमा हाम्रो इन्फास्ट्रक्चर सुरक्षित छ भनेर काम गर्ने योजना बनाएको छ । अर्को भनेको डिजिटल लिट्रेसी र रिसर्च एण्ड डेभलपमेन्ट कार्यक्रम पनि यसै वर्ष शुरु गर्दैछौं ।
५. क्यान महासंघले पहिलोपटक महिला नेतृत्व पाएको छ । महिलाका लागि केहि विशेष कार्यक्रमहरु आउँदैछन् ?
क्यान महासंघमा पहिलो पटक आउँदा म एक्लै महिला थिए । आज मेरो टिममा ११ जना महिला हुनुहुन्छ । महासंघमै पनि महिलाहरुको सहभागिता बढी रहेको छ । सूचना प्रविधिको क्षेत्रमा महिला हुनुहुन्छ र त महासंघमा आउनुभयो । अर्को कुरा भनेको क्यान भित्र म २०१० सालमा क्यान महासंघको बोर्डमा आउँदा मैले पहिलो पटक ‘वुमन इन आईटी’ भन्ने कमिटी बनाएको थिएँ । जसमा ७ जना महिलाहरुले एकै ठाउँमा बसेर महिलाहरुका लागि थुप्रै जागरुकताका कार्यक्रम तथा विभिन्न तालीमहरु सञ्चालन गर्यौं । महिलाहरुले यसलाई करियरका रुपमा अँगाले भने आईटी क्षेत्रमा महिलाले समान अवसर पाउँछन् । यो एउटा मात्र यस्तो क्षेत्र हो । जहाँ महिलाले अवसर मात्र नभएर पारिश्रमिक पनि समान पाउँछ । त्यसैले, आईटीे क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन गर्ने र यसमा करियर विकास गर्न सकिन्छ भन्ने विषयमा हामीले थुप्रै जागरुकता कार्यक्रम गरिरहेका छौं । क्यानले महिलाको अधिकारको लागि पनि आवाज उठाउँछ । आईटी भनेको दिउँसोमात्र काम गर्ने ठाउँ होइन नाइट सिफ्ट पनि काम गर्नुपर्छ । नाइट सिफ्टमा काम गर्दा विशेषगरी महिलाहरुलाई सुरक्षित र उत्कृष्ट वातावरण बनाउनेगरी क्यानले काम गरिरहेको छ ।
६. यस क्षेत्रमा महिलाहरुले के कस्तो चुनौतीको सामना गर्नुपर्छ ?
सूचना प्रविधीको क्षेत्रमा सबैभन्दा ठूलो चुनौती भनेको सधैं नयाँ टेक्नोलोजीसँग अपडेटेड भएर बस्नु पर्छ । यो महिला पुरुष दुबैका लागि समान च्यालेन्ज हो । किनभने अरु क्षेत्र भनेको हामीले जति धेरै समय काम गर्यो त्यति अनुभवि र विज्ञ भइने क्षेत्र हो भने सूचना प्रविधिको क्षेत्रमा जति काम गरेर उमेर पाको हुँदै गयो त्यति हामी आउटडेटेड हुँदै जान्छौँ । त्यसैले यस क्षेत्रको सबैभन्दा ठूलो च्यालेन्ज चाँडोभन्दा चाँडो नयाँ टेक्नोलोजीसँग अपडेट हुनु हो । यस क्षेत्रमा महिलालाई गाह्रो भनेको परिवार, व्यक्तिगत र पढाईको लागि समय छुट्याउनु हो । यसै कारणले पनि महिलाहरुले यसलाई केहि निश्चित समयको लागि मात्र प्रोफेसनको रुपमा लिनुहुन्छ र पछि अन्य प्रोफेशनतिर लाग्नु हुन्छ । महिलाहरुले यसलाई निरन्तरता दिन नसक्नु पनि एउटा चुनौती हो । र कतिपयले सुत्केरी बिदा पछाडि कामहरु बिर्सेको र कमब्याक गर्न गाह्रो भएको जस्तो समस्या पनि देखिन्छ । म आफैले पनि यो कुरा अनुभव गरेको हो ।
७. सरकारले बजेटमा सूचना प्रविधि दशक घोषणा गरेर ३० खर्बको आईटी सेवा निर्यातसहित १५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा हुन्छ जस्तो लाग्छ ?
अहिलेकै ढंगले काम गर्ने हो भने यसत सजिलै यो लक्ष्य प्राप्त हुँदैन । यसका लागि सरकारले सोहीअनुरुपको योजना बनाएर प्राथमिकीकरण गर्दै काम गर्नुपर्ने हुन्छ। सोहीअनुरुपको नीति, प्रोत्साहन, लगानी, चाहिन्छ। पहिलो भनेको जुन हाम्रो उद्योगमा विद्युत आपूर्तिको समस्या अवस्था छ । समय समयमा बत्ति गइरहन्छ । विद्युत आपूर्ति निरन्तर हुनुपर्यो ।
दोस्रो सरकारको नीति अन्तरक्रियात्मक हुनु पर्यो । किनभने हामीले बाहिरबाट विदेशी लगानी नल्याइ यो क्षेत्र एकदम ठूलो फड्को मार्न सक्दैनौँ । बाहिरको लगानी कुन बेला आउँछ भन्दा जब नेपालमा गरेको लगानी उनीहरुले ढुक्कसँग फिर्ता लिएर जान्छन् । यो वातावरण नबनेसम्म लगानी आउँदैन । जसलाई नीतिले मात्र मार्गदर्शन गर्न सक्छ ।
तेस्रो कुरा भनेको हामीसँग मानव संसाधनको अभाव छ । आइटी हव भनेको हाम्रो ठूलो इन्ड्रस्टिको परिकल्पना हो । यो परिकल्पना गर्दै गर्दा हामीसँग जनशक्तिको अभाव छ। भोलिका लागि जनशक्ति तयार पनि हुन सकिरहेको छैन । किनभने आईटी क्षेत्रमा आईटी नै पढेको यसैमा डिग्री हासील गरेको मान्छे मात्र चाहिन्छ भन्ने छैन । जुनसुकै विषय पढेकाले पनि यस क्षेत्रमा पढाइको अवरोध छैन । त्यसले गर्दा कुनै पनि क्षेत्रबाट यस क्षेत्रमा आउनसक्नुहुन्छ तर एउटा सर्टन स्कीलको आवश्यकता पर्छ । त्यो सर्टन स्किल सेटको उहाँहरुलाई ग्रुमिङको आवश्यकता छ । यो पार्टमा कमी कमजोरी छ ।
चौथो कुरा भनेको हामीसँग तथ्यांक छैन । हामीसँगै मुलुकभित्रै उत्पादन हुने आईटी जनशक्तिको यकिन आँकडा छैन । अर्काेतर्फ नेपालको आईटी उद्योग कतिवटा छन् ? बजार कत्रो छ ? ती उद्योगले कुन कुन क्षेत्रमा काम गरिरहेका छन् ? एआइमा कति जना छन् ? डेटाबेसमा कति जना काम गरिरहेका छन् ? कति सफ्टवयर विकास गरिरहेका छन् ? कति आईटी इनेबल सर्भिस भन्छौं त्यसमा काम गरिरहेका छन् ? यसको एकिन तथ्यांक हामीसँग छैन । र अर्को कुरा भनेको यो क्षेत्रमा लगानी गर्नलाई अझै पनि सहज वातावरण बनिसकेको छैन । हामीले ब्रान्डिङ र प्रमोशनको एकदमै ठूलो आवश्यकता छ । यो ५ वटा कुरालाई हामीले लक्षित गरेर काम गर्न सक्यौ भने सरकारले लिएको लक्ष्य पूरा गर्न कठिन हुँदैन ।