एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकमा सूचीकृत हुने एकमात्र कम्पनी « Arthapath.com
१० बैशाख २०८२, बुधबार

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकमा सूचीकृत हुने एकमात्र कम्पनी



काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ ।

सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेल सूचीकृत भएको हो ।

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकाले कम्पनीलाई सूचीकृत गरिएको बताएको छ।

निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधिभन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो ।

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ ।

डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ ।

सो सूचीकरणसँगै एनसेलले अब नयाँ कानुनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ ।

हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक ‘टियर थ्री डाटा सेन्टर’ सञ्चालनमा रहेको छ । त्यसैगरी एनसेलले पोखरा र हेटौंडामा गरी दुई ‘डिजास्टर रिकभरी डाटा सेन्टरहरु’ सञ्चालन गर्दै आएको छ ।

‘हामीले साइबर सुरक्षा, डेटाको गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सूचीकरणको प्रक्रिया सहज भएको हो । सुचिकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं’, एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।

डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण अत्यन्त महत्वपूर्ण रहेको एसेन्सिओको भनाइ थियो। ‘यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ’, उनले थपे, ‘यो सूचीकरणका लागि हामी सूचना प्रविधि विभागप्रति धेरै आभारी छौं ।’

सूचिकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरणहरुको गहन अध्ययन गरेको थियो ।

सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो । डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

निर्देशकाले देशमा सूचना प्रविधि प्रणालीहरूको भरपर्दो, सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्य राखेको छ । डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूको औपचारिक सूचीकरणले सम्पूर्ण क्षेत्रमा नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्