स्मार्टफोनको चुलिँदो माग र आपूर्ति: नेपाल भित्रियो २५ अर्ब ३८ करोडका मोबाइल, कुन देशबाट कति ?

काठमाडौं । नौं महिनामा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरका पौने १६ लाख स्मार्टफोन नेपाल भित्रिएका छन् ।
भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् । विभागका अनुसार नौं महिनामा १५ लाख ८४ हजार ९५६ युनिट स्मार्टफोन आयात भएका हुन् ।
गत आवको चैत मसान्तसम्मको तुलनामा भने १६.६९ प्रतिशत बढी हो । गत आवको सो अवधमिा पनि २१ अर्ब ७५ करोड २८ लाख रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ युनिट स्मार्टफोन आयात भएका थिए ।
नेपालमा विश्वका ६० वटा बढी देशबाट स्मार्टफोन आयात भएका हुन् । नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउँछ । कुल आयतको ६८ प्रतिशत बढी हिस्सा चिनियाँ स्मार्टफोनको योगदान छ । विभागका अनुसार नौं महिनामा चीनबाट १७ अर्ब २६ करोड ६० लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । चीनबाट १२ लाख ४७ हजार ५५८ वटा स्मार्टफोन आयत भएको छ ।
चिनपछि भारतबाट धेरै फोन आयात हुने गरेको छ । भारतबाट समिक्षा अवधिमा ७ अर्ब ६४ करोड २३ लाख रुपैयाँ बराबरको ३ लाख ३० हजार ८० युनिट स्मार्टफोन नेपाल भित्रिएका छन् ।
यस्तै, अमेरिकाबाट १२ करोड ५ लाख बराबरको १ हजार ३३ युनिट, यूएईबाट ८ रकोड ८७ लाख, जापानबाट ७ करोड १४ लाख, अष्ट्रेलियाबाट ६ करोड ४१ लाख, कतारबाट ३ करोड ५७ लाख, कोरियाबाट ३ करोड १६ लाख, बेलायतबाट १ करोड ६४ लाख, हङकङबाट १ करोड १२ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् ।
यता, क्यानडाबाट ९३ लाख, कुबेतबाट २४ लाख, मलेशियाबाट २२ लाख, स्वीटजरल्याण्डबाट १७ लाख, साउदी अरेबियाबाट १७ लाख, न्यूजील्याण्डबाट १६ लाख, भेत नामबाट १५ लाख, थाइल्याण्डबाट १३ लाख, बंगलादेशबाट १२ लाख, फिनल्याण्डबाट १० लाख, फ्रान्सबाट १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् । यी बाहेकका अन्य तीन दर्जन बढी मुलुकबाट भने १० लाखभन्दा कम रकममा आयात भएका छन् ।