हुआवेले बनायो अमेरिकालाई टक्कर दिने शक्तिशाली एआई चिप « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

हुआवेले बनायो अमेरिकालाई टक्कर दिने शक्तिशाली एआई चिप



काठमाडौँ । अमेरिकाले वर्षौँदेखि प्रतिबन्ध लगाएको चिनियाँ प्रविधि कम्पनी हुआवे टेक्नोलोजिजले शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसर तयार पारेको छ ।

अत्याधुनिक प्रविधिमा अमेरिकालाई चीनले तान्तार टक्कर दिने सिलसिलाको यो नयाँ कडी हो । हुआवेले ‘एसेन्ड ९१० डी’ नाम दिएको उक्त एआई प्रोसेसर अमेरिकी चिप उत्पादक एनभिडियाका लागि चुनौती बन्ने भनेर विभिन्न विश्वस्तरीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

एनभिडिया वर्तमान विश्वमा सबैभन्दा अत्याधुनिक र शक्तिशाली माइक्रोचिप उत्पादक हो । च्याट जीपीटीजस्ता एआई प्लेटफर्महरु तयार पार्नमा उनका शक्तिशाली चिपको प्रयोग हुन्छ । यही कारण एनभिडीया केही महिना अघिसम्म संसारकै सबैभन्दा ज्यादा पूँजीकरण भएको कम्पनी बनेको थियो ।

चीनको प्राविधिक विकास एवम् खासगरी सैन्य प्रविधि विकासमा ‘वाधा उत्पन्न’ गर्न भनेर अमेरिकाले आफ्नो यस उन्नत प्रविधिको उपयोग चीनको हातदेखि टाढै राख्ने कोसिस गरेको थियो । यसका निम्ति अमेरिकाले एनभिडियाका बी२००, एच१०० लगायतका सबैभन्दा शक्तिशाली एआई चिपहरू चीनलाई बिक्री गर्नबाट अहिले पनि रोक लगाएको छ ।

अमरिकी निर्यात प्रतिबन्धका बावजुद केही समय अघि एउटा चिनियाँ कम्पनीले ‘डीपसिक’ भन्ने नयाँ एआई टुल्स तयार पारेसँगै चीनको प्रविधि विकास गर्ने क्षमताबारे संसारभर चर्चा भएको थियो । यस घटनाले एनभिडियाको सेयर मूल्यलाई असाध्यै ठूलो धक्का लागेको थियो । अब त उसकै प्रतिस्पर्धीको रुपमा अर्को चिनियाँ कम्पनी उदाउन थालेको छ ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार हुआवेले केही चिनियाँ कम्पनीहरूलाई यो चिप परीक्षणका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ । कम्पनीले यो चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुने विश्वास गरेको छ ।

हुआवे त्यही कम्पनी हो, जसलाई अमेरिकाले लामो समयदेखि प्रतिबन्ध लगाएको छ । त्यतिमात्रै होइन, अमेरिकाले हुआवेलाई सामान बेच्ने अमेरिकी कम्पनीहरुको निर्यात अनुमति समेत खारेज गरेको थियो । पाँचौँ पुस्ताको इन्टरनेट अर्थात् ‘फाइभ जी’ विकास गर्न हुआवेले संसारभर बजार फैलाउन थालेपछि अमेरिकी प्रतिबन्धको सामना गर्नु परेको थियो ।

यही कारण विश्वको सर्वाधिक विक्री हुने स्मार्ट फोन ब्राण्ड मध्येमा उभिइसकेको हुआवे एकाएक बजारबाट विलय भएको थियो । तर अब उसले ‘बाउन्स ब्याक’ लिँदै छ । हुआवेले उत्पादन गरेको चिपको पहिलो नमुना ब्याच अबको एक महिनाभित्र तयार हुने बताइएको छ ।

हुआवे लगायत अन्य चिनियाँ कम्पनीहरूले लामो समयदेखि एनभिडियालाई चुनौती दिनसक्ने शक्तिशाली चिप उत्पादनमा काम गरिरहेका छन् । चीन सरकारले पनि यस प्रकारका उन्नत प्रविधिको अनुसन्धानमा निजी कम्पनीहरुलाई अर्बौं डलरको अनुदान दिँदै आएको छ ।

यसले धर्तिका ठीक विपरित भागमा अवस्थित यी दुई विशाल मुलुहरुबीच प्रविधिको दुनियाँमा पनि घनघोर प्रतिस्पर्धा हुने छाँटकाँट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्