पर्यटक आगमन सकरात्मक, ६ महिनामै ५ लाख ८३ हजारले नेपाल घुमे « Arthapath.com
१७ असार २०८१, सोमबार

पर्यटक आगमन सकरात्मक, ६ महिनामै ५ लाख ८३ हजारले नेपाल घुमे



काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन सकरात्मक रुपमा नै बढेको छ । ६ महिनामा पौने ६ लाख विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । सन् २०२४ को जनवरीदेखि जुनसम्मको अवधिमा ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा २२.३५ प्रतिशत बढी हो । गत वर्ष २०२३ को सोही जनवरीदेखि जुनसम्ममा भने कुल ४ लाख ७६ हजार ४८१ जनाले विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डले हवाई मार्गबाट नेपाल भित्रिएने विदेशी पर्यटक राख्ने गरेको छ । तर, सीमा क्षेत्रबाट पर्यटकको तथ्याङ्क भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक (सवारी साधन) मार्फत पनि आउने गर्छन् ।

पछिल्ला महिनामा मासिक १ लाख हाराहरीमा पर्यटक आउने गरेका छन् । गत मार्च महिनामा यो वर्षकै उच्च १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल घुम्न आएका थिए । यस्तै, अप्रिलमा पनि १ लाख ११ हजार ३७६ जनाले नेपाल भ्रमण गरेका थिए । तर, जुन महिनामा भने औसत भन्दा कम पर्यटक आएका छन् ।

बोर्डका अनुसार जुनमा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेका हुन् । प्रत्येक वर्षको जुन महिनामा पर्यटक आगमन न्युन नै रहने बोर्डका निर्देशक मनि लामिछानेले बताए । अहिले सिजन नभएकाले पनि अघिल्ला महिनाहरुको तुलनामा विदेशी पर्यटन आगमन घटेको उनले बताए ।

यद्यपि, गत वर्षको जुन महिनाको तुलनमा भने ६.२ प्रतिशत बढेको लामिछाने बताए । गत वर्षको जुन महिनामा ७२ हजार २५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । ‘हरेक वर्षको जुन महिनामा पर्यटक आगमन कम नै हुन्छ । अहिले सिजन छैन । त्यही पनि गत वर्षको तुलनामा भने साढे ४ हजार बढी आएका छन् । अघिल्ला वर्षमा धेरै सकरात्मक रुपमा बढी रहेको छ’, उनले भने ।

नेपालमा बढी विदेशी पर्यटक आउने सिजन भनेको अक्टोबरदेखि मार्च अप्रिलसम्म हो । त्यसबेला पर्यटन आगमनको संख्या उच्च नै हुन्छ । मे महिनापछि तुलनात्मक रुपमा कम विदेशी पर्यटक आउने निर्देशक लामिछानेले बताए । उनले भने, ‘मेपछि भने तुलनात्मक रुपमा कम पर्यटक आउन थाल्छन् । तर, अक्टोबरदेखि भने फेरि आगमनको आँकडा बढ्न थाल्छ । हरेक बर्षजसो नै यही हुन्छ ।’

सन् २०२३ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार १०० जना, फेब्रुअरीमा ९७ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका थिए । गत मे महिनामा पनि ९० हजार २११ जनाले नेपाल घुमेका थिए । गत वर्षभरी नै कुल १० लाख १४ हजार ८७६ जनाले नेपाल भ्रमण गरेका थिए । अघिल्लो वर्ष सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक आएका थिए ।

कुन देशबाट कति आए नेपाल घुम्न ?

नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक घुम्न आउँछन् । नेपाल भ्रमण गर्नेको पहिलो सूचीमा भारतीय नागरिकहरू नै छन् ।

जुन महिनामा ३७ हजार ८३५ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका हुन् । तर, गत वर्षको तुलनामा भने २.६ प्रतिशत कमी हो । विशेषगरि पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पोखरा लगायतका धार्मिक स्थलको दर्शनको लागि भारतीय नागरिकहरू नेपाल आउने गरेको पाइन्छ ।

भारतपछि भने अमेरिकन नागरिकहरुले नेपाल धेरै घुम्ने गरेका छन् । बोर्डका अनुसार जुन महिनामा मात्रै ८ हजार २८१ जना अमेरिकनहरु नेपाल भ्रमणमा आएका छन् ।

यस्तै, चीनबाट पनि ७ हजार ४९४ जना, बंगलादेशबाट ३ हजार ८५७ जना पर्यटक आएका छन् । यता, बेलायतबाट १ हजार ९६९, अष्ट्रेलियाबाट १ हजार ५८९, भुटानबाट १ हजार ६६, मलेशियाबाट १ हजार १४ हजार, जापानबाट ९५३, दक्षिण कोरियाबाट ८७५ जना नेपाल घुम्न आएका छन् ।


प्रतिक्रिया दिनुहोस्