गंगा नदीको पानी पिउन सकिने गरी सफा

काठमाडौं । हरिद्वार र ऋषिकेशमा गंगा नदीको पानी पिउन सकिने गरी सफा भएको वातावरणविद् बीडी जोशीले बताएका छन् ।
बन्दाबन्दीका कारण औद्योगिक प्रदूषण र होटेलबाट निस्कने मलमूत्र गंगामा मिसिन नपाएकाले नदी स्वच्छ भएको उनको भनाइ छ ।
जोशीका अनुसार, गंगाजल आचमन गर्न सकिने गरी सफा भएको निकै समय बितिसकेको छ ।
गंगा सभा नामक संस्थाका महासचिव तन्मय वशिष्ठले गंगा यति सफा यसअघि कहिल्यै नदेखिएको बताए । त्यस्तै राज्य प्रदूषण नियन्त्रण बोर्डका क्षेत्रीय अधिकारी आरके कठैतले गंगाको पानीमा देखिनेगरी परिवर्तन आएको बताए । तीर्थनगरी हरिद्वार र ऋषिकेशमा तीर्थयात्रीहरू आउन नपाएपछि प्रदूषण कम भएको छ ।
उत्तराखण्ड पीसीबीले गंगाजलको गुणस्तर निगरानी गरिरहेको छ । पीसीबीका प्रमुख वैज्ञानिक अधिकारी एसएस पालले हरिद्वारको पानीमा नुहाउन सकिने र आवश्यक प्रशोधन गरेपछि पिउन पनि सकिने बताए । ऋषिकेशमा संक्रमणमुक्त बनाइएपछि पानी पिउन सकिने उनको भनाइ छ ।
फोहर प्रशोधन केन्द्रहरूका कारण पनि गंगाजल सफा भएको उनको भनाइ छ । उता दिल्ली हुँदै बग्ने यमुनाको जल पनि सफा भएको छ ।
द टाइम्स अफ इन्डियाबाट