भारतसँगको परनिर्भरता र एकाधिकार हट्दै, नेपाल–चीनसँगको व्यापार बढ्दै « Arthapath.com
२० फाल्गुन २०७९, शनिबार

भारतसँगको परनिर्भरता र एकाधिकार हट्दै, नेपाल–चीनसँगको व्यापार बढ्दै



काठमाण्डौं । आयातमुखी अर्थतन्त्रमा गुज्रिरहेको हाम्रोजस्तो भुपरिवेष्ठित मुलुक नेपालका लागि भारतसँगै निर्भर रहनुपर्ने बाध्यता कयौं वर्षदेखि रहिआएको समस्या हो । जसका कारण पञ्चायतकालिन समयदेखि गणतन्त्र आइसक्दा पनि जतिबेला भूकम्पको त्रासदीमा छिमेकीको नाताले नेपाल भारतको साथ र सहयोग चाहन्थ्यो । जतिबेला संकटबाट मुक्ति पाउन सिंगो मुलुक याचना गरिरहेको थियो । तर, उसले साथको बदलामा नाकाबन्दी लगाइदियो । नेपालसँग अन्य बिकल्प नहुँदा र भारतसँग मात्रै भर पर्नुपर्दाको परिणाम देशले भोगेको नमिठो सत्य हाम्रा लागि अहिलेपनि ताजै छ ।

समय अहिले फेरिएको छ । यस्ता अभाव, अमानवियता र यातनाका भोगाईपछि नेपाल अनि नेपालीको भारतप्रतिको हेर्ने दृष्टिकोण मात्रै फेरिएको छैन । हाम्रो सुरक्षित भविष्यको विकल्प पनि विस्तारै बदलिँदैछ र विकसित हुँदैछ । भारतसँग जति सहज थियो नेपालका लागि, भौगोलिक रुपमा उति नै जटिल र असम्भव झैँ बन्दै आएको उत्तरी चीनतर्फको नाका अब नयाँ सपनाको गन्तव्य थालनीको पक्की ढोकाको रुपमा बन्नेक्रम उत्तिकै तिव्र पनि छ ।

भारतीय नाकाबन्दीको सामना गरेसँगै चीनबाट तेल आयात गरेको नेपालले रेलसम्मको सपना साँचेको थियो उतिबेलै । त्यसयता एकमात्र रहेको तातोपानी नाकापछि रसुवागढी, हिल्सा, यारीजस्ता चीनसँगको अन्य व्यापारिक नाकाहरु विस्तार हुनेक्रम अघि बढिरहेको छ भने यसमा नेपालले दिएको प्राथमिकता र पहलकदमीप्रति चीन सरकारले उदारता देखाएको छ । उसकै सहयोगमा नेपालसँगको हिजोको दिनसम्म हिमालय हिमश्रृंखलाले छेकबार उत्तरी नाका आज धमाधम खुल्ने गतिले तिव्रता पाइरहेको छ ।

यसै अन्तर्गत चीनले हुम्ला जिल्लामा अवस्थित सीमा नाका यारीको नाका सञ्चालनमा ल्याएको छ । नेपालतर्फको व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित चीनले मार्च १ देखि नाका सञ्चालनमा ल्याएको जानकारी दिएको छ । चीनको ट्विटर ह्याण्डल ‘स्पोकपर्सन अफ चाइनिज एम्बेसी अन नेपाल’ले यारी नाका सञ्चालनमा आएको जानकारी दिएको छ । ‘पुलान÷यारी बन्दरगाह मार्च १ देखि पुनः सुरु भएको छ,’ लेखिएको छ, ‘यसले नेपाल चीनको व्यापार कनेक्टिभीटीलाई थप मजबुत बनाउनेछ ।’
यस्तै, यो नाका सञ्चालनमा आएपछि नेपालको निर्यात वृद्धि हुने अपेक्षा समेत चीनको छ । ‘यारी नाका पुनः सञ्चालनमा आएपछि चीनतर्फ नेपालको निर्यात अगाडी बढ्नेछ,’ ट्विटर ह्याण्डलमा लेखिएको छ ।

नम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले मार्च १ देखि नाका सञ्चालनमा ल्याउने सहमति भएकोबारे जानकारी पाएको बताए । उनले अर्थपथसँग कुरा गर्दै भने, ‘नाका सञ्चालन गर्न राष्ट्रिय स्तरमा सहमति भएकोबारे जानकारी पाएको थिए । नाका सञ्चालन हुने भएपछि स्थानीयवासी खुसी भएका छन् ।’

यारी नाका सञ्चालन भएपछि त्यस वरपर महँगी समेत घट्ने अपेक्षा गरिएको छ । हाल तलबाट उच्च भेगमा खाद्यान्न, लत्ताकपडा लगायतका वस्तु लग्नुपर्छ । यारी खुलेपछि चीनबाट सिधै आयात गर्न मिल्ने भएकाले र यारी नाकाका कारण उक्त क्षेत्रको आर्थिक गतिविधि चलायमान बन्ने भएकाले स्थानीय खुसी बनेको अध्यक्ष लामा बताउँछन् ।

चीनले आफ्नोतर्फ ठुला र भव्य संरचना निर्माण गरे पनि नेपालतर्फ भने संरचना बनिसकेको छैन । यारीमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनेर इन्टरमोडल यातायात विकास समितिले अध्ययन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्