दशैंको मुखमा डलरको भाउले बनायो नयाँ कीर्तिमानी उचाई, के हो विनिमय विश्व कनेक्सन ? « Arthapath.com
३० आश्विन २०८०, मंगलवार

दशैंको मुखमा डलरको भाउले बनायो नयाँ कीर्तिमानी उचाई, के हो विनिमय विश्व कनेक्सन ?



काठमाडौं । संसारका सम्पन्न र सामरिक शक्ति भएका देशहरुले गर्ने निर्णय र अमेरिकादेखि भारतसम्मका व्यवसायीको मनोविज्ञानमा देखिने उथलपुथलको असर हाम्रा गरिब नेपालीले पनि भोग्नु परिरहेको छ । यसको एक ज्वलन्त उदाहरण हो, अमेरिकी डलरको भाउ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरको सटही दर १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । बाणिज्य बैंकहरुका लागि यो सन्दर्भ मूल्य भए पनि राष्ट्र बैंकमै डलर किन्न जानु पर्दा यही भाउ तिर्नु पर्ने हुन्छ । यसअघि असोज २ र ३ गते डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा निर्धारण भएको थियो ।

यद्यपि, मंगलबार नेपाली बैंकहरुले राष्ट्र बैंकको तुलनामा थोरै सस्तोमा डलर बेचेका छन् । नबिल बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १३३ रुपैयाँ ५० पैसा, स्ट्याण्र्डचार्टर्डले १३३ रुपैयाँ ४० पैसा र हिमालयन बैंकले १३३ रुपैयाँ ४५ पैसामा डलर बेचेका छन् ।

किन महँगिन्छ डलर ?

सामान्य रुपमा नेपालको अर्थतन्त्रमा आएको फेरबदल र हाम्रो सरकार एवम् राष्ट्र बैंकका नीतिहरुले डलरको भाउ निर्धारणमा कुनै फरक पार्दैन । बरु यसको सीधा सम्बन्ध भारत र अमेरिकाको अर्थतन्त्र एवम् वैश्विक अर्थव्यवस्थाहरुसँग जोडिन्छ ।

युरोपमा आर्थिक मन्दी देखिन थाल्दा अमेरिकाको अर्थतन्त्र भने क्रमशः सप्रिँदै गएको छ । त्यही कारण अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाइरहेको छ । अमेरिकाले अहिले ब्याजदर बढाएर २२ वर्ष यताकै उच्च बनाएको छ ।

अमेरिकामा नीतिगत ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतको बीचमा राख्ने भने पनि बढ्दो महँगीलाई रोक्न अझै ब्याजदर बढाउनसक्ने भनिएको छ । नेपालमा भने राष्ट्र बैंकले नीतिगत दरहरुलाई ४.५० देखि ७.५० प्रतिशतको बीचमा राखेको छ ।

अमेरिकामा ब्याजदर उच्च हुँदा संसारका ठूला लागनीकर्ताहरु डलरमै लगानी गर्न थाल्छन् । यसले डलरको माग बढ्छ र ग्रीनब्यापक भनिने अमेरिकी मुद्राको भाउ बढ्न थाल्छ । यस्तो बेला भारत र यस्तै अन्य विकाशशील देशहरुबाट पनि लगानीकर्ताले पैसा अमेरिका पुर्याउन थाल्छन् । यसरी भारतीय रुपये (भारु) भनै सस्तिन थाल्छ ।

भारुको भाउ घटेपछि नेपाली रुपैयाँ पनि स्वतः सस्तिन्छ । नेपालले आफ्नो मुद्रालाई भारुसँग स्थिर विनिमय दर कायम गरेको छ । यही कारण १०० भारु किन्न सधैंभरी एउटै भाउ १६० रुपैयाँ लाग्छ । अहिले पनि भारुको भाउ अमेरिकी डलरको तुलनामा सस्तिन थालेका कारण सँगसँगै नेपाली मुद्रा सस्तिएको हो ।

भारतीय सञ्चार माध्यमहरुले तत्कालका लागि डलरको मूल्य अहिलेको स्तरबाट अचाक्लि बढिहाल्ने संभावना कम रहेको उल्लेख गरेको छन् । तर नेपालसम्म आउँदा यसको प्रभावबाट १–२ रुपैयाँको तलमाथि हुनसक्ने देखिन्छ ।

भारुमात्रै होइन, संसारका बाँकी प्रमुख ६ मुद्रा (युरो, स्वीस फ्र्यांक, जापानी येन, क्यानडियन डलर, बेलायती पाउण्ड र स्वेडिस क्रोना) को ‘मुद्राडालो’ मा पनि अमेरिकी डलर बलियो बन्दै आएको छ । गतसालको अगस्टदेखि नोभेम्बरबीचको ३ महिनालाई छाड्ने हो भने अहिले पनि डलर इन्डेक्स पछिल्ला २२ वर्षकै उच्च विन्दुमा छ । मंगलबार यसको सूचक १०६.२५ अंकमा छ ।

फाइदा

डलरको भाउ बढ्दा नेपालीले पाउने सबैभन्दा ठूलो लाभ रेमिटेन्समा हो । तर यसका लागि देशले सर्वाधिक रेमिटेन्स भित्र्याउने गन्तव्यहरु अर्थात् खाडी देशहरुको मुद्रा डलरको तुलनामा बलियो भएको बेलामा नेपालले यस्तो लाभ पाउँछ ।

यो सालको साउन र भदौमा मात्रै नेपालले २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिटेन्स भित्र्याएको छ । नेपाली रुपैयाँमा यो भनेको गत सालभन्दा २२.१ प्रतिशत बढी हो । तर अमेरिकी डलरमा हेर्ने हो भने रेमिटेन्सको बार्षिक बृद्धि १७.७ प्रतिशतमात्रै रहेको राष्ट्र बैंकले जनाएको छ । यसरी ४.४ प्रतिशत विन्दुको बृद्धि विनियम दरबाट प्राप्त भएको देखिन्छ ।

डलर महँगिएर हुने अर्को फाइदा पर्यटनमा हो । तर नेपाल आउने पर्यटकले विदेशबाट डलरमै ‘भ्रमण प्याकेज’ किनेर आउने भएकाले त्यसबाट खासै लाभ हुन सकिरहेको छैन । चीनजस्ता देशले आफ्नो मुद्रा जबरजस्ति सस्तो बनाएर निर्यात बढाउने गर्छन् । तर नेपालको मुद्रा लगातार सस्तो भइरहँदा पनि देशले निर्यात बढाउन सकेको छैन ।

यही निर्यात बढाउन सक्ने हो भने सस्तो मुद्राका कारण नेपाली सामान विदेशी बजारमा बेच्न सजिलो पर्ने थियो ।

बेफाइदा

डलर महँगिदा आयातमै निर्भर हाम्रो अर्थतन्त्रलाई थप महँगीको भारीले थिच्न सक्छ । गत भदौमै औसत महँगीको दर (उपभोक्ता मुद्रास्फीति) ८.१९ प्रतिशत पुगेको छ । यो आफैंमा धेरै हो । तर डलर महँगिँदै जाँदा अझै यस्तो महँगी बढ्न सक्छ । मूलतः पेट्रोलियम पदार्थको मूल्यमा यसले असर पार्छ ।

चाहे विदेश भ्रमण, चाहे अध्ययन वा रोजगारीका लागि विदेशिने नेपालीहरु डलर साट्न केन्द्रिय बैंक र विभिन्न बाणिज्य बैंक चाहारि रहन्छन् । विदेशबाट सामान आयात गर्ने आयातकर्ता र जलविद्युत् लगायत उद्योग एवम् पूर्वाधार निर्माणका लागि पनि विदेशबाट डलर नै तिरेर सामान किन्नु पर्छ । डलरको भाउमा भएको बढोत्तरीले यी सबै कुराको मूल्य बढ्न पुग्छ ।

डलरको असर निजी प्रयोजनमा मात्रै पर्दैन । नेपाल सरकारले लिएको विदेशी ऋण, नेपाली बैंकहरुले डलरमा लिएको विदेशी ऋण र सार्वजनिक संस्थानहरुको डलरमा आउने भुक्तानी दायित्वका लागि पनि पहिलेभन्दा बढी पैसा खर्चनु पर्ने हुन्छ । विदेशी नियोग र डलरमा हुने सबै खाले सरकारी भुक्तानीको दायित्व नेपाली मुद्रामा बढ्न जान्छ ।


प्रतिक्रिया दिनुहोस्