अर्को सालका लागि खुल्यो ‘हम्फे फेलोशिप’ « Arthapath.com
१५ जेष्ठ २०८१, मंगलवार

अर्को सालका लागि खुल्यो ‘हम्फे फेलोशिप’



काठमाडौँ । संसारभरका मुलुकबाट नेतृत्व पंक्तिमा पुगेका वा भविष्यमा नेतृत्व तहमा पुग्नसक्ने संभावना भएका मानिसहरुलाई अमेरिकाले १० महिने तालिम दिने गर्छ । यसलाई ‘हम्फे फेलोशिप’ भनिन्छ ।

यो छात्रबृत्ती वर्तमान विश्वको सबैभन्दा प्रभावशाली छात्रबृत्ती मानिन्छ । अमेरिकी शिक्षा तथा सांस्कृतिक मामिला मन्त्रालय र अन्तरराष्ट्रिय शैक्षिक प्रतिष्ठानले यो छात्रबृत्ती दिँदै आएको छ ।

भर्खरैमात्र उक्त छात्रबृत्तीमा सन् २०२५–२६ का लागि आवेदन खुला भएको छ । नेपालमा ‘फुलब्राइट नेपाल’ले सञ्चालन गर्ने यो छात्रबृत्तीका लागि आगामी साउन १६ गते (३१ जुलाई)को मध्यरातसम्म आवेदन दिइसक्नु पर्ने छ ।

उक्त छात्रबृत्तीमा कृषि तथा ग्रामीण विकास, आर्थिक विकास तथा वित्त, प्राकृतिक स्रोत, वातावरणीय एवम् जलवायु नीति, शहरी एवम् क्षेत्रीय योजना जस्ता क्षेत्रमा दिगो विकासको अध्ययन गर्न पाइने छ ।

त्यस्तै प्रजातान्त्रिक संस्थ निर्माण कार्यक्रम अन्तरगत पत्रकारिता, कानून तथा मानवअधिकार, धार्मिक स्वतन्त्रता, सार्वजनिक प्रशासन, मानव तस्करी रोकथाम, प्रविधि नीति र व्यवस्थापन, जनशक्ति व्यवस्थापन जस्ता कोर्ष पढ्न पाइन्छ । यस बाहेक शिक्षा, सार्वजनिक स्वास्थ्य लगायत विषयमा पनि अध्ययन गर्न पाइन्छ ।

यस छात्रबृत्तीमा सहभागि हुनका लागि कम्तिमा स्नातक तह उत्तिर्ण भएको र ५ वर्षको पूर्णकालिन कार्यानुभव भएको हुनुपर्ने प्राथमिक योग्यता तोकिएको छ । यसको सबैभन्दा महत्वपूर्ण पाटो चाहीँ निवेदकले ‘आफू देशको नेतृत्व पंक्तिमा पुग्ने उत्कट संभावना भएको पात्र हो’ भनेर सिद्ध गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै यो ‘डिग्री रहित’ तालिममा भाग लिने मौका मिल्न सक्छ ।

संसारका २६ देशमा ‘द्वीदेशीय फुलब्राइट कमिशन’हरुले यो छात्रबृत्तीको व्यवस्थापन गर्छन् । बाँकीमा भने अमेरिकी दूतावासको ‘पब्लिक अफेयर्स सेक्सन’ले छात्रबृत्ती व्यवस्थापन गरिरहेको छ ।

नेपाल सहित भारत, इन्डोनेसिया, इजरायल, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, बुल्गेरिया, चिली, कोलम्बिया, इक्वेडर, इजिप्ट, हङ्गेरी, जोर्डन, कोरिया, मलेसिया, मेक्सिको, मोरक्को, नेपाल, पेरू, रोमानिया, स्लोभाकिया, श्रीलङ्का, टर्की र उरुग्वेमा दुईदेशीय आयोग छन् ।

यस पल्ट संसारका डेढ सय मुलुकका नागरिकलाई यो छात्रबृत्ती उपलब्ध गराउन अमेरिकी सरकारले ‘योग्य’ ठानेको छ । यो साल उक्त छात्रबृत्तीमा संसारका ९१ मुलुकबाट १४८ जनाले अमेरिका गएर १३ वटा विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् ।

सन् १९७८ मा स्थापना भएको यो छात्रबृत्तीमा हालसम्म संसारभरका १६३ देशबाट ६६०० मानिस सहभागि भइसकेका छन् ।

त्यसमध्ये अहिले पनि विभिन्न देशका वर्तमान तथा भूतपूर्व राष्ट्र प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, मेयर, प्रशाशक एवम् विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका ६४५० जना पूर्वविद्यार्थीहरुको विशाल सञ्जाल बर्करार रहेको हम्फेले जनाएको छ ।

उक्त छात्रबृत्ती पाउनेमध्ये ४६ प्रतिशतले आफ्नो देशमा फर्केर नीति निर्माण गरेको, ६१ प्रतिशतले सरकारी सेवामा काम गरेको र ८० प्रतिशतले अमेरिकी विचार र पद्धतिको प्रबद्र्धनमा काम गरेको हम्फेको वेवसाइटमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्