अमेरिकामा आज राष्ट्रपति चुनाव, को बन्ला नयाँ विश्व नेता ? « Arthapath.com
२० कार्तिक २०८१, मंगलवार

अमेरिकामा आज राष्ट्रपति चुनाव, को बन्ला नयाँ विश्व नेता ?



काठमाडौँ । नेपाली समय अनुसार मंगलबार दिउँसो ३ः४५ बजे (पश्चिमी समयअनुसार विहान ५ बजे) देखि अमेरिकामा नयाँ राष्ट्रपतिको चुनाव सुरु भएको छ । यस निर्वाचनलाई सिंगो विश्वले निकै चासोका साथ हेरिरहेको छ । ‘सात समुद्र पारी’ हुने यो चुनावको परिणामबाट हामी नेपालीहरु पनि पूर्णतः अछुतो रहन सक्ने छैनौँ ।

पछिल्ला ७–८ वर्षयता विश्वको शक्ति सन्तुलन बहुध्रुवीय दिसातर्फ शीघ्र गतिमा अघि बढेको छ । ३२ वर्षअघि सोभियत संघको विघटन भएयता अमेरिकाले निरन्तर विश्वको ‘एक पाखे’ नेतृत्व गरिरहेको थियो । तर अब रूस, चीन, भारतजस्ता देश आफ्नो अलग पहिचान र भिन्न अस्तित्वलाई उजागर गर्न खोजिरहेका छन् ।

अर्थतन्त्रमा चीन र सैन्य एवम् सामरिक नेतृत्वमा रुसले अमेरिकालाई टक्कर दिने कोसिस गरिरहेका छन् । भारत यी सबैसँग जोडिएर पनि अलग (अलिप्त) विदेश नीति प्रदर्शन गरिरहेको छ । इरान मुस्लिम दुनियाँमा आफ्नो पकड दर्बिलो पार्ने प्रयासमा छ ।

यि भिन्नभिन्न परिवेशका बाबजुद अझैसम्म स्थापित विश्व संस्थाहरुको नेतृत्वमा अमेरिकाको प्रभाव निकै बलियो छ । रुस र चीनले ब्रिक्सजस्ता नयाँ विश्व मञ्चहरु खडा गरेर चुनौती दिने कोसिस गरिरहे पनि यी संस्थाहरु अहिले नै अमेरिकी धूरीका स्थापित संस्थाको विकल्प बन्ने आधार तयार भइसकेको छैन ।

यस्तो बेला अमेरिकी राष्ट्रपतीय निर्वाचन केवल उसको देशका लागि मात्रै नभएर सम्पूर्ण विश्व र यहाँका बासिन्दाका लागि पनि महत्वपूर्ण छ । ‘ह्वाइट हाउस’ भनिने त्यहाँको राष्ट्रपति भवनमा कसले नेतृत्व लिन्छ र उसले के कस्ता नीति अंगिकार गर्छ भन्ने कुराले हाम्रो जिन्दगीमा पनि प्रभाव पार्ने छ ।

ट्रम्प कि ह्यारिस ?

अमेरिकामा भएका मत सर्वेक्षणहरुले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । यी दुबै उमेदवारले बराबरजस्तो मत पाउनसक्ने विवरणहरु यस्तो सर्वेक्षणमा देखिएको छ ।

ट्रम्प रिपब्लिकनका उमेदवार हुन् भने ह्यारिस डेमोक्र्याटकी उमेदवार हुन् । अमेरिकी इतिहासमा पहिलो पल्ट एक अश्वेत महिला त्यहाँको सर्वोच्च पदका लागि प्रतिस्पर्धामा छिन् । उनीप्रति अमेरिका भित्रै र बाँकी विश्वमा ‘पढेलेखेका’ वर्गको बलियो सहानुभूति देखिन्छ ।

तर ग्रामीण क्षेत्रमा बसोबास गर्ने, कम पढेका र तुलनात्मक रुपमा न्यून आय भएका अमेरिकीले ट्रम्पलाई समर्थन गरिरहेका छन् । सन् २०२२ को जनगणना तथ्यांक अनुसार अमेरिकामा २५ वर्षभन्दा माथिका केवल ३७.७ प्रतिशत जनसंख्यासँगमात्रै स्नातक वा त्योभन्दा माथिको डिग्री छ । अरु १० प्रतिशत जनसंख्याले एशोसियट डिग्री लिएका छन् ।

यसरी आधाभन्दा धेरै अर्थात् २५ वर्ष माथिका ५२.३ प्रतिशत अमेरिकीले उच्चशिक्षा अध्ययन पुरा गरेका छैनन् । २५ वर्ष मुनिको जनसंख्या अर्को ठूलो चङ्क छ । त्यहाँ ३१ प्रतिशत जनसंख्या २५ वर्षभन्दा कम उमेरको छ । यसमा पनि कुल जनसंख्याको ९ प्रतिशतभन्दा बढी त बालिग मतदाता छन् ।

यसको मतलव कम पढेका वा अध्ययनरत नयाँ मतदाताले ट्रम्पलाई नै मत दिन्छन् भन्ने होइन । तर सन् २०२० को चुनावमा अनुपस्थित रहने धेरै मतदाता ट्रम्पका समर्थक थिए भनेर पश्चिमा सञ्चारमाध्यमहरुले खबर छापेका थिए ।

ट्रम्प निकै आक्रामक छन् र उनी आप्रवासीहरुप्रति ज्यादा अनुदार देखिन्छन् । ‘अमेरिकालाई फेरी महान् बनाउने’ नारा दिएका उनले अमेरिका महान हुनुमा तिनै आप्रवासीहरुको समेत ठूलो हात छ भन्ने बिर्सिन खोजेका छन् । ट्रम्प एक ब्यापारी हुन् र उनी अर्थतन्त्रको नसाबाटै विश्वमा राज गर्न सकिन्छ भन्ने धारणा राख्छन् ।

उनलाई अमेरिकी उत्पादन र त्यहाँको सेवा क्षेत्रका साथै घरजग्गाको मूल्य उचाल्नु छ । तर ह्यारिसको पार्टी डेमोक्र्याट भने ‘अमेरिकाको कुलीन हतियार ब्यापारीहरुको कब्जामा रहेको’ आलोचकहरुको दाबी छ । यही कारण जबजब अमेरिकामा डेमोक्र्याट सत्तामा आउँछ, विश्वमा नयाँ युद्ध सुरु हुन्छ भन्ने धारणा उनीहरुमा छ ।

अहिले युक्रेन र प्यालेस्टिन तथा हालैमात्र लेबनानमा छेडिएका युद्धहरु अमेरिकामा पनि आलोचित छन् । यी युद्धमा अमेरिकी सरकारले गरिरहेको लगानी र बढाएको सहायतालाई लिएर त्यहाँ आक्रोस छ । बहुसंख्यक अमेरिकीहरु अहिलेको प्रधान मुद्दाका रुपमा अर्थतन्त्रलाई लिन्छन् । यस मुद्दामा ह्यारिस पछाडी छिन् ।

स्वास्थ्य सेवा, अदालतमा हुने नियुक्ति, गर्भपतन, जलवायु परिवर्तन र वर्ण एवम् जातीय आधारमा हुने विभेदको अन्त्यजस्ता मुद्दा ह्यारिसले उठाउँदै आएकी छिन् । उनको सबैभन्दा महत्वपूर्ण मुद्दा गर्भपतनको अधिकार सुनिश्चित गर्नु हो ।

तर ट्रम्प भने अबैध आप्रवासनलाई रोक्ने, आप्रवासी संस्कृतिहरुलाई निरुत्साहित गर्ने र अर्थतन्त्रलाई उकास्ने तथा हिंसात्मक अपराधलाई कम गर्ने प्रतिबद्धताहरुका साथ अघि बढेका छन् ।

अहिले सत्तामा नभएर चुनाव उठिरहेका कारण पनि उनलाई चुनावमा सजिलो पर्न सक्छ । त्यस बाहेक ट्रम्प आफूलाई ‘अस्थिर’ हुनु नै आफ्नो शक्तिको स्रोत ठान्छन् । त्यसैले उनीसँग विस्वका अधिकतर शक्तिहरु त्रसित रहने र अमेरिकालाई बढी महत्व दिने उनको बुझाइ छ ।

ह्यारिस भने शालिन छिन् र उनी उदारिकरणको मुद्दामा अग्रसर छिन् । तर उनलाई पनि ट्रम्पको अति–राष्ट्रबादी छबिले केही न केही रुपमा उदारिकरणबाट पछि हट्नुपर्ने स्थानमा पुर्याइदिएको विश्लेषण पनि हुन थालेको छ ।

बाँकी विश्वका लागि को उचित ?

ह्यारिसलाई अधिकतर वर्तमान राष्ट्रपति जो बाइडनका उत्तराधिकारीको रुपमा हेरिएको छ । उनले महिला र वर्ण एवम् जातीका आधारमा हुने विभेद विरुद्ध केही कदम चाल्न सक्ने ठानिएको छ । तर ट्रम्प ‘मेक अमेरिका ग्रेट अगेन’ भन्दै आक्रामक रफ्तारमा देखिन्छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जलवायु परिवर्तनसँग जुध्ने विश्व सम्झौताबाट आफूलाई अलग्याएका थिए भने सुरक्षा गठबन्धन नेटो (उत्तर एटलान्टिक सैन्य संगठन)बाट समेत बाहिरिने चेनावनी दिँदै आएका थिए । उनले सैन्य ढाँचालाई होइन, आर्थिक ढाँचालाई बढी जोड दिएका थिए ।

खासगरी चीनलाई रोक्न ट्रम्पले ज्यादा ऊर्जा खर्च गरेका थिए । यसका लागि उनले रुस र उत्तर कोरियालाई समेत चीनको पकडबाट बाहिर निकाल्ने कोसिस गरेका थिए । तर बाइडन अमेरिकी नेतृत्वमा आएसँगै युक्रेनमा भएको युद्धले अहिले रुस, चीन र उत्तर कोरियालाई ज्यादै नजिक ल्याइदिएको छ ।

यसबाहेक ट्रम्प खासगरी शिया मुस्लिक समुदायप्रति बढी अनुदार देखिएका थिए । उनले इजरायललाई बलियो समर्थन दिएका थिए । यस मानेमा ट्रम्प राष्ट्रपति बनेमा पश्चिम एसिया थप अशान्त हुनसक्ने, तर युक्रेनमा युद्ध रोकिन सक्ने संभावना छ ।

यसले सुनको भाउलाई त कति फरक पार्ला, तर खाने तेल र गौँ लगायत अन्नको भाउ अहिलेजस्तो तीव्र रफ्तारमा नबढ्न सक्छ । हुन त, ह्यारिसले पनि अहिले विश्वमा जारी दुई ठूला युद्ध रोक्ने प्रतिबद्धता जनाएकी छिन् । तर यस मानेमा ‘अस्थिरतामा खेल्नेवाला’ ट्रम्प नै ज्यादा ‘भरोसेमन्द’ देखिन्छन् ।

ट्रम्प राष्ट्रपति बनेमा अहिलेजस्तो गाउँ नै रित्तिएर ‘अमेरिका हिँड्ने’ परिपाटी भने रोकिन सक्छ । त्यसैले ‘अमेरिका पस्न’ चाहनेहरुका लागि भने ट्रम्पको तुलनामा ह्यारिसले जित्दा उचित हुने छ । निर्यात मुखि अर्थव्यवस्थाहरुका लागि पनि ह्यारिसले जित्नु लाभप्रद हुने छ ।

ट्रम्पले पुनः विदेशी वस्तुको भन्सार ढाएर ब्यापार युद्ध छेड्नसक्ने संभावना भएका कारण निर्यातमुखि अर्थव्यवस्थाका लागि उनी अभिषाप हुन सक्छन् । अहिले अमेरिकाले सर्वाधिक आयात मेक्सिको, चीन र क्यानडाबाट गर्छ । तर उसको सबैभन्दा ठूलो ब्यापार घाटा चाहीँ चीनसँगमात्रै छ ।

जम्मा २७० भोट (इलेक्टोरल मत) ल्याए चुनाव जितिने अमेरिकामा कसले बाजि मार्छ भन्ने कुराले आगामी ४ वर्षमात्रै होइन, लामै समयको विश्व व्यवस्थालाई दिशा दिनसक्छ । २५ वर्ष अमेरिकाले निर्धक्क चलाएको एकध्रुवीय विश्व व्यवस्थालाई नयाँ स्वरुपमा ढाल्न अहिले तीव्रताका साथ काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्