४७ औँ अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौँ । फ्लोरिडामा आफ्ना उत्साहित समर्थकहरुलाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा आफ्नो जीत घोषणा गरे । उनले एलन मस्कको तारिफ गरे र अमेरिकी नागरिकलाई धन्यवाद दिए । उनले भने, ‘भगवानले यही एक कारणले मेरो ज्यान उपहार दिएका थिए ।’
ट्रम्पले यस क्षणले आफ्नो ‘देश ठीक हुनमा मद्दत गरेको’ बताए । उनले भने, ‘यो अमेरिकी नागरिकका लागि एक शानदार जीत हो ।’ मंगलबार भएको निर्वाचनबाट विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र सबैभन्दा शक्तिशाली देशको ४७ औँ राष्ट्रपति बन्दै गरेका उनले निर्वाचनमा आफ्नो जीत भएको उद्घोष गरेका हुन् ।
उनले यो भाषण गर्दै गर्दा अमेरिकी निर्वाचनको मत परिणामले उनलाई राष्ट्रपति निर्वाचित हुन केवल ४ इलेक्टोरल भोटको आवस्यक थियो । प्रतिस्पर्धी कमला ह्यारिस भने २१९ इलेक्टोरल भोटमा समेटिएकी थिइन् । अमेरिकामा चुनाव जित्न २७० इलेक्टोरल मत आवस्यक हुन्छ ।
तर नेपालमा बुधबार साँझ पर्दानपर्दै अमेरिकी मत परिणामले ट्रम्पलाई बलियोसँग जीत निकालिसकेको देखाएको छ । उनले बुधबार साँझ ६ बजेसम्म २७९ इलेक्टोरल मत हासिल गरिसकेका छन् । यतिञ्जेलसम्म कमला ह्यारिस २२३ इलेक्टोरल मतमा रोकिएकी छिन् ।

ज्यादै ठूलो अपेक्षा र युरोप तथा आप्रवासी अमेरिकीहरुको जोडबलका बाबजुद कमला ह्यारिस यस चुनावमा पराजय भोग्न पुगेकी छिन् । राष्ट्रपतिका साथसाथै अमेरिकी संसदमा पनि ट्रम्पकै पार्टी रिपब्लिकनले कब्जा जमाएको छ । यसले राष्ट्रपति ट्रम्पलाई ठूलो बल प्रदान गर्ने छ ।
ट्रम्प आफ्नो दोस्रो कार्यकालका लागि आगामी माघ ७ गते (जनवरी २०) मा त्यहाँको राष्ट्रपति भवन (ह्वाइट हाउस) प्रवेश गर्ने छन् । त्यसपछि ४ वर्ष उनले अमेरिका र त्यसमार्फत् सिंगो विश्वको नेतृत्व गर्नसक्छन् ।
ट्रम्प तेस्रो पल्ट राष्ट्रपति चुनावमा भिडेका हुन् । सन् २०१६ मा चुनाव जित्दा उनले तत्कालिन प्रतिस्पर्धी एवम् डेमोक्र्याट पार्टीकी उमेदवार हिलारी क्लिन्टनभन्दा ३० लाख कम मत पाएका थिए । तर अहिले पपुलर मत अर्थात् सर्वाधिक मत उनकै खातामा गएको देखिएको छ ।
अहिलेसम्म त्यहाँको सबै मत गणना भइनसकेको भए पनि राष्ट्रपति पद ट्रम्पको पोल्टामा पुगिसकेको देखिएको छ । यहीकारण ह्यारिसले आफ्नो विजय र्यालीमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरिसकेकी छन् ।
अफ्रिकी–भारतीय मूलकी अश्वेत अमेरिकी महिला राष्ट्रपतिमा भिडे पनि उनले जित्न सकिनन् ।
सन् २०२० को चुनावमा अधिकांश अमेरिकी जिवित पूर्व राष्ट्रपतिहरु र सिंगो विश्व नै लागेर ट्रम्पलाई हराएका थिए । यसो गर्न बाराक ओबामाका उपराष्ट्रपति रहेका ७७ वर्षीय जो बिडेनलाई अघि सारिएको थियो । बिडेनले चुनाव जिते र अमेरिकाको ४६ औँ राष्ट्रपति बने । उनी पुनः राष्ट्रपतिको उमेदवार बनेका थिए ।
तर उनको उमेर र स्वास्थ्य अवस्थालाई लिएर प्रश्न उठेपछि उनले उमेदवारी फिर्ता लिएर आफ्नै उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेकी थिइन् । बिडेनले अमेरिकामा स्वीङ स्टेट वा रणभूमि मानिने राज्यहरुमा अधिकतर जीत हात पारेका थिए ।
तर अहिले ती राज्यहरुमा ज्यादातर ट्रम्पलाई जीत मिलेको छ । यसैको जगमा उनले चुनाव जितेका छन् ।