अमेरिकाले गर्यो यमनमा हमला, हामीलाई मूल्यबृद्धिमा असर पर्ने जोखिम

काठमाडौं । अमेरिकाले यमनमा हूथी विद्रोहीमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
लाल सागर (रेड सी)मा उक्त समूहले पानीजहाजहरूमा गरेको आक्रमणलाई निस्तेज पार्न त्यसो गर्नु परेको ट्रम्पको भनाइ छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेखेका छन्, ‘इरानद्वारा सहायता पाएका हूथी ठगहरूले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् र हाम्रो सेना एवं साझेदारहरूलाई निसानामा पारेका छन् ।’
उनले हूथीहरूको ‘डकैती, हिंसा र आतङ्कवाद’ले ‘अरबौँ डलर’ नष्ट भएको र जीवनलाई नै खतरामा पारेको भनेका छन्। उनले हूथीहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै लेखेका थिए, ‘यदि तिमीहरू रोकिएनौ भने तिमीहरूले पहिले कहिल्यै नदेखेको जस्तो नरक देख्नेछौ।’
हूथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
गाजामा इजरायल–हमास युद्ध सुरु भएपछि त्यसको प्रतिक्रियामा समुद्री जहाजलाई लक्षित गर्दै हूथीहरूले आक्रमण गरिरहेका छन्। हूथीले अमेरिकी आक्रमणको जबाफ दिने बताएको छ।
साउदी अरबसँग सीमा जोडिएको क्षेत्रमा हूथी विद्रोहीको गढ रहेको उत्तरी प्रान्त सादा र सनामा शनिवार साँझ शृङ्खलाबद्ध विस्फोटन भएको उक्त समूहले जनाएको छ ।
इरान समर्थित विद्रोही समूह हूथीले इजरायललाई आफ्नो शत्रु मान्छ । उसले यमनको सना र उत्तर—पश्चिम क्षेत्रमा नियन्त्रण गरेको छ। उक्त समूहले चलाएको सरकारले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेको छैन ।

हूथीको आरोप
एउटा विज्ञप्तिमा हूथीहरूले यमनको राजधानी सनाका आवासीय क्षेत्रहरू लक्षित गरी अमेरिका र यूके (बेलायत)ले आक्रमण गरेको आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीले हाम्रो उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्नेछौँ।’ यसले प्यालेस्टाइनको गाजा क्षेत्रजस्तै अब लाल सागर नेरको यमन अर्को ‘युद्धक्षेत्र’ बन्ने जोखिम बढेको छ ।
हूथीहरूले आफूहरूले गाजामा इजरेल र हमासबीचको युद्धमा प्यालेस्टिनीको समर्थनका लागि काम गरेको दाबी गरेका छन्।
उनीहरूले सन् २०२३ को नोभेम्बरदेखि लाल सागर र गल्फ अफ एडेनमा क्षेप्यास्त्र, ड्रोन तथा साना डुङ्गाबाट आक्रमण गरी दर्जनौँ व्यापारिक पानीजहाजहरूलाई निसाना बनाएका छन्।
त्यसयता उनीहरूले दुईवटा जहाजहरू डुबाइदिएका छन् भने अर्को एउटा जहाज कब्जामा लिएका छन्। उनीहरूले चार जना चालक दलका सदस्यको हत्या समेत गरेको बताइएको छ।
अमेरिकी हमला सुरु भएसँगै अब संसारका ठूला ढुवानी कम्पनीहरू लाल सागरको बाटो प्रयोग नै बन्द गर्न बाध्य भएका छन्। उक्त मार्गबाट विश्वव्यापी समुद्री व्यापारको लगभग १५ प्रतिशत हिस्सा वारपार हुने गर्छ।
अमेरिकी कङ्ग्रेसका अनुसार सन् २०२३ को नोभेम्बरदेखि २०२४ को अक्टोबर बीचमा रेड सीमा हुथीहरूले १९० वटा हमलाहरू गरेका छन्।
यसअघि पनि बेलायत र अमेरिकाले उक्त समूहविरुद्ध संयुक्त नौसैनिक तथा हवाई हमला गरेका थिए। इजरेलले छुट्टाछुट्टै हमलामा हूथीहरूसँग जोडिएका क्षेत्रहरूलाई पनि आफ्नो निसाना बनाउँदै आएको छ।
मूल्य बृद्धिको जोखिम
लाल सागरमा युद्ध सुरु भएमा त्यसले विश्वब्यापी ढुवानीको लागत ह्वात्तै बढ्ने छ । यसअघि अमेरिकी र बेलायती पानीजहाजहरुमात्रै पुरै अफ्रिकालाई फेरो मारेर चल्ने गरेकोमा अब चिनियाँ र बाँकी सबै जहाजहरुले बाटो फेर्नुपर्ने अवस्था अउन सक्छ ।
यसले मूल रुपमा भारतीय अर्थतन्त्रलाई प्रभाव पार्ने र त्यहाँ मूल्य बृद्धि चर्किने समाचारहरुमा जनाइएको छ । त्यसो भयो भने भारतसंगै ६० प्रतिशतभन्दा धेरै आयात र दुई तिहाइभन्दा धेरै निर्यात हुने भएका कारण हाम्रो अर्थतन्त्र पनि ‘अछुतो’ रहने छैन ।
बीबीसी र एजेन्सीहरुको सहयोगमा ।